2026 September 06/ 04:57: 55pm

    धुलिखेल/प्रहरीले हरेक दिन प्रहरी केन्द्रीय कार्यालय र हरेक महिना जिल्ला जिल्लामा प्रगति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । यसअघि अन्य कार्यालयहरुले मात्रै मासिक विवरण सार्वजनिक गर्ने गरेका थिए । प्रहरीले पहिलो पटक मासिक प्रगति विवरण सार्वजनिक गर्न शुरु गरेको हो । 
    काभ्रेपलाञ्चोक जिल्लामा भएका गतिविधिका सन्दर्भमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले मंसिर महिनाको प्रगति सार्वजनिक गरेको छ । एक महिनाको अवधीमा ५३ वटा मुद्दा दर्ता भएका छन् । २१ वटा फछर्याैट भएका छन् । ३२ वटा अझै फछर्याैट हुन बाँकी छ । यो अवधीमा १८ पुरुष, ९ महिला र २ बालिका गरी २९ जनाले ज्यान गुमाएका छन् । ३२  पुरुष र २ महिला गरी ३४ जना अभियुक्त पक्राउ परेका छन् । १० जना फरार अभियुक्त पक्राउ परेका छन् । ‘जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट मसिंर महिनामा सम्पादित विभिन्न कार्य तथा गतिविधिहरु हरेक महिनामा सार्वजनिक हुनेछ’–प्रहरी निरीक्षक एवं सूचना अधिकारी बेदनारायण श्रेष्ठले भने – ‘२०८२ मसिंर महिनाको अपराध तथ्यांक पुष २ गते सार्वजनिक गरिएको छ ।’ अपराध अनुसन्धान तथा नियन्त्रण तर्फ जघन्य तथा गम्भीर अपराध, महिला बालबालिका तथा ज्येष्ठ नागरीकसँग सम्बन्धित र आर्थिक अपराधका घटना दर्ताको शीर्षकगत तथ्यांक सार्वजनिक भएको छ । प्रहरीले एक महिनामा २६ वटा अपराधसँग ७८ वटा सचेतनामुलक कार्यक्रम संचालन गरेको छ । जसमा १९ सय ६३ जना नागरिक प्रत्यक्ष सहभागी भएका थिए । त्यस्तै फैसला कार्यान्वयनमा पनि प्रहरीले सक्रियता देखाएको छ । चेक अनादारका ३ वटा, बैकिङ कसुरका ३ वटा, चोरीका ३ वटा, जालसाजी, लुटपिट र सवारी अगंभगंका १/१ गरी १२ वटा मुद्दाको २ वर्ष १२ महिना १५ दिनको कैद असुल गरिएको छ । ११ लाख ६२ हजार १ सय ३९ रुपैयाँ जरिवाना असुल भएको छ ।