2026 September 08/ 05:25: 46am

    बनेपा/दशक देखि गोलभेडा ब्यवसाय गरिरहेका बनेपा ४ का राजकुमार श्रेष्ठ बार्षिक ३० लाख रुपैयाँका गोलभेडा विक्री गर्छन् । गोलभेडाका अलावा उनले काउली, काँक्रो, लसुन, आलु, धनियाँ लगायतका मौषम अनुसारका विभिन्न तरकारी धान लगायतको खेती गरेका राजकुमारलाई जिल्ला कृषि विकास कार्यालयले टनेल लगायतका अन्य प्राविधिक सहयोग उपलब्ध गराएको छ । 
    ‘२/३ रोपनी जमिनबाट खेति शुरु गरेको थिएँ । अहिले एक सय रोपनी जमिनमा गोलभेडा लगायतका तरकारी बालीहरुको ब्यवसायिक खेती गरिरहेको छु’–करुणा कृषि फार्म बनेपा ४ का संचालक राजकुमार श्रेष्ठले भने–‘६/७ वर्ष देखिको निरन्तरको सक्रियताले ८० भन्दा धेरै टनेल निर्माण गरेको छु ।’ राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका राजकुमारलाई कृषि विकास कार्यालयले चालु वर्षका लागि २२ वटा टनेल, १५ हजार रुपैयाँ बराबरको जैविक विषादी र २५ हजार रुपैयाँ बराबरको विऊ उपलब्ध गराएको थियो । दैनिक १२ भन्दा धेरैले रोजगार प्राप्त गरिरहेको उक्त फार्ममा उत्पादित कृषि उपजहरुलाई सहज बजार पु¥याए पनि लागत अनुसारको मुल्य प्राप्त हुन सकेको छैन । 
    एकपटक लगाएको गोलभेडा ६ महिनासम्म निरन्तर टिप्न मिल्छ । गोलभेडाको नियमित गोडमेल र स्याहार सुसार आवश्यक हुन्छ । त्यसका लागि राजकुमार लगायतको टिम निरन्तर सक्रिय छ । गत वर्ष ३० रोपनी जमिनमा लगाएको गोलभेडाको ३० लाख रुपैयाँ प्राप्त भयो । ९ रोपनी बारीमा लगाएको पिरो खोर्सानीको ६ लाख रुपैयाँ विक्री गरेका छन् । कृषि विकास कार्यालयले वडा नम्वर २ र ४ मा करिब एकसय भन्दा धेरै टनेल उपलब्ध गराएको कृषि प्रसार अधिकृत विवेकानन्द महतले बताए । 

बार्षिक १५ लाखको गोलभेडा
    धुलिखेल खावा घर भएकी अप्सरा तिमल्सिनाले केहि वर्ष देखि बनेपा ४ नालामा जग्गा भाडामा लिएर ब्यवसायीक खेति गरिरहेकी छिन् । सोफिन मल्टीपर्पाेज एग्रोफार्मका नाममा १० रोपनी जमिन भाडामा लिएर ब्यवसायीक खेति गरिरहेकी तिमल्सिनाले ६ लाख रुपैयाँ लगानी गरी टनेल निर्माण गरेकी थिईन् । सोहि वर्ष उनले गोलभेडा खेतिबाट १५ लाख रुपैयाँ आम्दानी गरिन् । निरन्तर ब्यवसायीक खेतिमा सक्रिय हुँदा सोचेजस्तै कमाई हुने भए पनि बजार भाउमा आउने उतार चढावले कृषकले सोचे जस्तो मुल्य पाउन नसकेको उनले बताईन् । कृषि विकास कार्यालयले प्रदान गरेको प्राविधिक सहयोग तथा टनेल निर्माणले ब्यवसायमा थप सहयोग पुगेको उनले बताईन् ।