धुलिखेल/धुलिखेल नगरपालिकाले सीप सहित उद्यमशिलतामा आधारित ब्यवसाय संचालन गरी आत्मनिर्भर बनाउने उदेश्यले आधारभुत तालिम प्राप्त गरेका महिलाहरुका लागि ब्याग बनाउन आयोजना गरिएको एडभान्स तालिमका सहभागिहरुको तालिम सकिएको छ । सहभागिहरुलाई धुलिखेल नगरपालिकाले प्रमाणपत्र वितरण गरेको छ ।
१२ वडाबाट २७ जना प्रशिक्षार्थीहरु सहभागि भएको तालिमको उद्घाटन नगर प्रमुख अशोक ब्याञ्जुले गरेका थिए भने समापन प्रमुख प्रशाशकीय अधिकृत मोहनप्रसाद मरासिनीले गरेका थिए । सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख प्रशासकीय अधिकृत मरासिनीले सीपमुलक तालिमलाई ब्यवहारमा कार्यान्वयन गरी आय आर्जन गर्न अनुरोध गरे । हरेक ब्यक्तिको मुखमा राम र हातमा सीप हुँदा भोकै बस्नु नपर्ने भन्ने परम्परागत भनाई यथार्थ रहेको बताउँदै मरासिनीले स्वरोजगारमुलक तालिम ब्यक्ति र परिवारका लागि सहज हुने बताए ।
कार्यक्रममा सामाजिक विकास समिति संयोजक तथा वडा नम्वर ३ का अध्यक्ष गणेश आचार्यले सहभागिहरुलाई उपलब्ध गराएको तालिम ब्यवसायीकताका लागि महत्वपूर्ण रहेको बताए । सहभागि मध्ये वडा नम्वर ३ की प्रशिक्षार्थी लिला क्षेत्री सापकोटाले सीप सिकेर ब्यवसाय शुरु गरेको बताईन् । प्रशिक्षक शर्मिला नापितले प्रशिक्षार्थी उत्साहित भएर सिकेको सीप ब्यवहारमा उतार्ने सक्ने बताईन् । कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रम लैङ्गिक विकास तथा सामाजिक कल्याण शाखाकी संगिता भण्डारीको संचालन तथा शिक्षा शाखामा कार्यरत पवित्रा कोईरालाले स्वागत मन्तब्य राखेकी थिईन् ।
महिलाहरुका लागि विभिन्न स्थानमा जाँदा फरक फरक खालका ब्यागहरु आवश्यक पर्ने र प्रयोगमा आउने भएकाले त्यहि अनुसारका ब्यागहरु उत्पादन गर्न सक्ने भएको सहभागिहरुले बताए । उत्पादनसँगै विक्री पनि भएकाले ब्यवसायलाई निरन्तरता दिएको उनिहरुले बताए ।









