2026 May 02/ 12:10: 08am

    बनेपा/प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्लाको बनेपा नगरपालिका वडा नम्वर १० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको शिलान्यास गरेका छन् । ४२ रोपनी जग्गामा निर्माण हुने उक्त स्टुुडियो अत्याधुनिक सुविधा सम्पन्न छायाङ्कन स्थल हुनेछ । यो जिल्लाको गौरवको अर्काे आयोजना हो । 
    यसअघि बनेपामा नेपाली सेना अन्र्तगत रहने गरी बनेपा १४ मा विश्वविद्यालय निर्माणको कार्य भईरहेको छ भने बनेपामा नै सुरक्षण मुद्रण प्रेस निर्माणको कार्य प्रारम्भ भएको छ । पाँचखालमा मदन भण्डारी विश्वविद्यालय, सुर्यविनायक धुलिखेल ६ लेनको सडक जिल्लाका थप गौरवका आयोजना हुन् । तत्कालिन मन्त्री एवं प्रतिनिधि सभा सांसद् गोकुल बास्कोटाले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नम्वर १० मा फिल्म सिटी निर्माणका लागि प्रकृया आरम्भ गरेका थिए । त्यतिबेला पनि प्रधानमन्त्री केपी शर्मा ओली थिए भने संचारमन्त्री गोकुल बास्कोटा थिए । 
    प्रधानमन्त्री निवास, बालुवाटारमा चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गरेका हुन् । देशमा चलचित्र निर्माण सुरु भएको छ दशक पूरा हुँदा पनि सुविधा सम्पन्न स्टुुडियो निर्माण नभएकामा चलचित्र क्षेत्रमा आबद्ध निर्माता तथा कलाकारले गुनासो गर्दै आएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायाँङ्कन स्टुडियो निर्माण आरम्भ हुनुु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताए । वनेपामा निर्माण हुने उक्त स्टुडियो बन्न नेपाली चलचित्र क्षेत्रले छ दसकदेखि आवाज उठाउनुु परे पनि अब निर्माण प्रकृया नै शुरु भएको उनले बताए । 
    ‘त्यस बेलाको जति अहिले राज्यको ढुुकुुटीमा पैसा छैन तर पनि थालेका काम हामी पूरा गर्छाैँ । यसको लागि बजेट विनियोजन हुन्छ । थाले पछि सफल हुुन्छ । यसलाई पनि सफल बनाउनुुपर्छ । यो निर्माण आरम्भ उद्घघोषले यस क्षेत्रमा युुग परिवर्तन सुरु भएको छ’–प्रधानमन्त्री ओलीले भने–‘ओरालो लागेको अर्थतन्त्रलाई लयमा ल्याएका छौँ, अब यो अर्थतन्त्रको गाडी त्रिशूलीमा खस्दैन । हामी सिने क्षेत्रप्रति सँधै सकारात्मक र सहयोगी छौँ ।’ कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुुब्बा गुरुङ, पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, बागमती प्रदेशका सांसद कञ्चनचन्द्र वादे, सञ्चार मन्त्रालयका सचिव राधिका अर्याललगायतले चलचित्र क्षेत्रमा क्रान्ति शुरु भएको बताए । पुर्व मन्त्री बास्कोटाले सपना देख्ने नेतृत्व हुँदा सबै काम सम्पन्न हुने बताए ।