2026 September 10/ 12:27: 29pm

धुलिखेलमा सम्मानका साथै उत्पादित सामाग्री प्रर्दशन
    धुलिखेल/धुलिखेल नगरपालिकाले ११४ औ अन्तराष्ट्रिय महिला दिवस २०८० को सन्दर्भमा प्रभातफेरी, महिलाद्वारा उत्पादित बस्तुको प्रर्दशनी, महिला सम्मान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । 
    महिला परिषद् उपाध्यक्ष गिता तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख निराजन जंगम, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, प्रहरी प्रमुख एसपी बसुन्धरा खड्का, कार्यालय प्रमुखहरु तथा विभिन्न सामाजिक संघ संस्थाका प्रमुखहरु, वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका बारेमा जानकारी गराउँदै प्रमुख प्रशासकीय अधिकृत सुुरेन्द्र थापाले स्थानीय सरकारहरुले परिषद्को परिकल्पना गरी कानून मार्फत गरिएको ब्यवस्थापनले सिर्जित परिषद्हरुबाट गरिएका कार्यहरुको सकारात्मक प्रयासका बारेमा जानकारी गराएका थिए । 
    नगरपालिकाले कला क्षेत्रमा मोडलिङ्ग गरिरहेकी अनु पराजुली, चिकित्सा क्षेत्र सुवासना श्रेष्ठ, राजनीतिक क्षेत्रबाट विमला शर्मा चौलागाई, नर्सिङ्ग क्षेत्रबाट विद्यावारिधी गर्ने रीना ब्याञ्जु श्रेष्ठ, शिक्षा क्षेत्रबाट योगलक्ष्मी श्रेष्ठ, महिाल उद्यमशिलताको क्षेत्रबाट निर्मला पौडेल र सुलेखा ब्याञ्जु, महिला स्वंसेविका सरस्वती सापकोटा र अटो चालक मिना वम लगायतलाई सम्मान गरिएको थियो । 
    त्यस्तै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी प्रमुख एसपी बसुन्धरा खड्का लगायत ११ जना कार्यालय प्रमुखहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा पशु सेवा कार्यालय प्रमुख भेटेरिनरी अधिकृत डा.सिर्जा वाग्ले,  जिल्ला आयुर्वेद स्वास्थ्य केन्द अधिकृत डा.वशंवदा कौडिन्न्यायनी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख शिक्षा समन्वय अधिकारी देवका ढकाल, जनस्वास्थ्य अधिकृत अनिता खनाल, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख डिभिजन प्रमुख मनिषा चापागाई, स्वास्थ्य बिमा बोर्ड काभ्रेका संयोजक मुना निरौला, पनौती जलविद्युत केन्द्र प्रमुख सविना उप्रेती, गुठी संस्थान प्रमुख उर्मिला आचार्य, राष्ट्रिय विमा कम्पनी लिमिटेड प्रमुख चण्डिका सापकोटा छन् । त्यस्तै बालज्योती आधारभुत विद्यालयका प्रधानाध्यापक कौमा काफ्ले र पूर्ण सञ्जिवनी लंखनामाई माविका प्रधानाध्यापक गायत्री तिमल्सिनालाई पनि सम्मान गरिएको थियो । 
    कार्यक्रममा अनिशा तामाङ, लोक गायक रामहरी न्यौपाने, नृत्य सिर्जना थोकर, गायिका सावित्री मगर, दोहोरी गायक प्रदिप रोक्का र अमृता लुङ्गेलीले सांस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गरेका थिए । 

बनेपामा खुल्ला दौड अनि सम्मान 
    बनेपा/अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी बनेपा नगरपालिकाको आयोजना तथा काभ्रे महिला उद्यमी मञ्च, महिला सरोकार समूह र उज्यालो महिला समुहको संयोजनमा २५ वर्ष उमेर कटेका महिलाहरुका लागि खुल्ला दौड प्रतियोगिताका साथै जिल्लामा कार्यरत ११ जना महिला कार्यालय प्रमुखहरुलाई सम्मान गरिएको छ । 
    दौड प्रतियोगितामा ६९ बर्षिया अन्जिर मैया श्रेष्ठ लगायत ४६ जना महिलाहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा ८ मिनेट १८ सेकेण्डमा पनौती चौकोटकी देवी तामाङ प्रथम भईन । उनलाई नगद १२ हजार ५ सय पुरस्कार उपलब्ध गराईएको थियो । बनेपा नालाबाट सहभागि भएकी सिर्जना तिावारीले ८ मिनेट २० सेकेन्डमा दौड पुरा गरी दोश्रो भईन् । उनले नगद १० हजार पुरस्कार प्राप्त गरिन । त्यस्तै बनेपा ७ की सिता अधिकारीले ८ मिनेट २१ सेकेण्डमा दौड पुरा गरी तेश्रो भईन् । उनले ७ हजार ५ सय पुरस्कार प्राप्त गरिन् । सान्वतना पुरस्कार प्राप्त गर्ने ज्योति हुमागाईले ८ मिनेट २१ सेकेण्डमै दौड पुरा गरेकी थिईन । उनलाई नगद २ हजार तथा प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो । बनेपा नगरपालिकामा कार्यरत महिला तथा जेष्ठ नागरीक शाखा अधिकृत बिजया सुवेदीका अनुसार नगरपालिकाले दौडका अतिरिक्त जिल्लामा कार्यरत ११ वटा कार्यालयका कार्यालय प्रमुखहरुलाई सम्मान गरेको छ । 
    बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाले नगरले नगर भित्र रहेका विभिन्न संघ संस्थाहरुसँगको समन्वयमा महिला दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएको बताउँदै महिलाहरुलाई विभिन्न किसिमका शिपमुलक तालिम प्रदान गरि आत्मनिर्भर बनाउँदै आएको बताईन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले महिला र पुरुषमा कुनै विभेद गर्न कानुनले बन्देज लगाएको बताईन् । ज्यालामा समेत महिलाहरुलाई विभेद गरिदै आएकोमा बताउँदै उनले घरेलु हिंसामा महिला बढी जोखिमा रहेको बताईन् । नारीले पनि अवसर पाएमा गर्न सक्छन भन्ने उदाहरण पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट समेत लिन सकिने बताउँदै शर्माले नारीले आफ्नो क्षमता बढाउनु पर्ने बताईन् । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्का, प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागई, वडा अध्यक्ष शुभलक्षमी मानन्धर, सहभागिका तर्फबाट अन्जिर मैया श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य सरोकार महिला समाजकी अध्यक्ष शोभा नकर्मिले राखेकी थिईन् । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी प्रमुख एसपी बसुन्धरा खड्का, पशु सेवा कार्यालय प्रमुख भेटेरिनरी अधिकृत डा.सिर्जा वाग्ले, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द अधिकृत डा.वशंवदा कौडिन्न्यायनी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख शिक्षा समन्वय अधिकारी देवका ढकाल, जनस्वास्थ्य अधिकृत अनिता खनाल, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख डिभिजन प्रमुख मनिषा चापागाई, स्वास्थ्य बिमा बोर्ड काभ्रेका संयोजक मुना निरौला, पनौती जलविद्युत्त केन्द्र प्रमुख सविना उप्रेती, गुठी संस्थान प्रमुख उर्मिला आचार्य, राष्ट्रिय विमा कम्पनी लिमिटेड प्रमुख चण्डिका सापकोटालाई सम्मान गरिएको थियो । 

महिला बाईक राईडरहरुले गरे राजधानी देखि बनेपासम्म ¥याली
    बनेपा/नेपाल अटोमोबाईल एसोसियसन, नासा नेपाल अन्तर्गत वमेन कमिसनले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौं देखि बनेपासम्म -याली आयोजना गरेको छ । 
    विश्व अटोमोवाईल खेल क्षेत्रमा लोकप्रियता र रुचि दिने युवाहरु प्रति दिन बढ्दै गैरहेका छन् । नेपालमा पनि यो खेल युवाहरु माझ लोकप्रिय बदै गैइरहेको छ । काठमाडौं छाउनी स्थित द लिफलाउन्ज देखि शुरु भएको ¥याली बनेपा नगरपालिकामा आएर समापन भएको थियो । नासा नेपालले विगत १५ वर्ष देखि मोटर स्पोर्टस र ड्राईभ टुरिजम्मका पारखीहरुले नयाँ–नयाँ कार्यक्रमहरु आयोजना गर्ने गरेको छ । यो सामान्य ¥याली मात्र नभई सुरक्षित यात्रा, ट्राफिक नियम पालन र यात्रा गर्दा अपनाउनु पर्ने सुरक्षाको सन्देश समेत दिएको छ । ¥यालीमा ५० भन्दा धेरै महिला वाईक राइडर तथा स्कुटर राइडरको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक दुर्गालक्ष्मी रन्जितकारले यस्ता कार्यक्रमहरुले महिलाहरुमा साहस, उत्साह र समाजले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन हुने बताईन् । बनेपामा स्वागत गर्दै रञ्जितकारले महिलाहरुमाथी हुने विभेद, तथा लैङ्गिक हिंसाका साथै महिलाहरु केहि गर्न सक्दैनन भन्ने सोच भएकाहरुलाई महिलाहरु पनि सक्षम छन्, अवसर पाउँदा गर्न सक्छन भन्ने सन्देश प्रवाहका लागि माध्यम बनेको बताईन् । बनेपामा आयोजित स्वागत कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ काभ्रेको टिमले पनि स्वागत गरेको थियो । स्थानीय विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले समेत उनिहरुलाई स्वागत गरेका थिए । 

विभेद र हिंसा विरुद्ध ज्ञापनपत्र
    धुलिखेल/महिला तथा बालिकाहरु माथी हुने गरेको हिंसा न्यूनिकरण गर्न, महिलाहरु माथी भएको विभेद अन्त्य गर्न, संविधान र कानूनले तोकेका सबै अधिकारहरुको प्रत्याभुति गर्न र सुरक्षित वातावरणमा कार्य गर्ने अवसरको माग गर्दै अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । 
    अधिकारकर्मीहरु निर्मला काफ्ले, माया बादे लगायतका महिलाहरुको समुहले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापन पत्र बुझाएका हुन् । काभ्रेपलाञ्चोक जिल्लामा ३ महिनाको शिशु देखि ८४ बर्षिया महिलामाथी जर्बजस्तिकरणीका घटना भएका छन् । आत्महत्या गर्न बाध्य बनाउने वातावरण घर परिवारले सिर्जना गरी महिलाहरु आत्महत्या उन्मुख भएका घटनाका अनुसन्धान भईरहेका छन् । सामाजिक, आर्थिक, सांस्कृतिक रुपमा नै महिलाहरु माथी हुने हिंसा, विभेद र हत्यासम्मका घटनामा राज्यका निकायहरु सक्रिय हुनु पर्ने बताउँदै उनिहरुको संरक्षण तथा अधिकारका लागि राज्य जिम्मेवार बन्न खबरदारी गरेको अधिकारकर्मी निर्मला काफ्लेले बताईन् ।     
    त्यस्तै अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी नेकपा एमाले निकट अखिल नेपाल महिला संघ काभ्रेले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापन पत्र बुझाएको छ । अध्यक्ष विमला सापकोटा दाहालको नेतृत्वमा गएको महिलाहरुको टोलीले महिलाहरु माथि भईरहेको राजनीतिक, सामाजिक, आर्थिक विभेदको अन्त्य गर्न, हिंसा न्युनिकरण गर्न र हिंसा तथा घटनामा संलग्नहरुलाई कडा कारवाही गर्न माग गरेका छन् ।