– ७१ वर्ष अघि शुरु भएको ‘दुध डेरी’ ब्यवसाय संकटमा
– काभ्रेपलाञ्चोकमा शुरु भएको थियो पहिलो डेरी
– २०६७ साल देखि आत्मनिर्भर
– गुमनाम कृषि मन्त्री, सरकार र राजनीतिक दलहरु
मोतीराम तिमल्सिना
धुलिखेल
नेपालमै पहिलो पटक डेरी संचालन गरी कृषकहरुलाई ब्यवसायीक पशुपालनतर्फ उन्मुख गराउने औपचारिक शुरुवात गरेको काभ्रेपलाञ्चोक जिल्लाका कृषक तथा दुग्ध ब्यवसायी पलायन तर्फ उन्मुख भएका छन् । काभ्रेपलान्चोक जिल्लामा दुग्ध उत्पादन तथा प्रशोधन उद्योग नेपालमै पहिलो पटक २००९ सालमा नै शुरु भएको थियो ।
‘सरकारले दुग्ध खरिद मात्रै रोकेको छैन, खरिद गरेको दुग्धको भुक्तानी समेत गरेको छैन’–दुग्ध कृषकहरुका अध्यक्ष नारायण बडालले भने–‘पटक पटक सरकारको ध्यानाकर्षण गरियो । वार्ता भयो । छलफल गरियो । प्रधानमन्त्रीले निर्देशन दिँदा समेत कृषकहरुको दुग्धको भुक्तानी हुन सकेको छैन ।’ संघीय सरकारका कृषि मन्त्री बेदुाम भुषाल मात्रै हैन प्रदेश तहका कृषि मन्त्रीहरु समेत गुमनाम छन् । काभ्रेपलाञ्चोक जिल्लाका कृषकहरुले उत्पादन गरेर विक्री गरेको दुग्धको माघ मसान्तसम्म मात्रै करिब ५० करोड रुपैया भुक्तानी गर्न बाँकी छ । उपभोक्ताहरुले दुग्ध खरिद गरेर मुल्य तिरेकै छन् । सरकारको कम्पनीले खरिद गरेको दुधको भुक्तानी नहुँदा निजी क्षेत्र समेत हच्किएको छ ।
‘कृषकहरुले कृषि मन्त्रीको राजिनामा मात्रै मागेका छैनन् । सरकारले निर्वाध खुल्ला सिमा मार्फत आयात गरेको दुध बन्द गर्न माग गरेका छन्’–अध्यक्ष नारायण बडालले भने–‘कृषि ब्यवसायमा संलग्न कृषकहरु पलायन हुनुको विकल्प छैन । दुध विक्री हुँदैन । भएको दुधको भुक्तानी छैन । पशुपालनका लागि आवश्यक पर्ने खाद्य सामाग्रीको मुल्य आकाशिएको छ । लम्पी स्किनबाट अरबौंको क्षति भएको छ । वीमा गरिएका पशुहरुको भुक्तानी हुँदैन । कृषकहरुले अर्काे पशु किन्न सकेको छैन । पशु आहारको मुल्य आकाशिएको छ । विदेशबाट केहि गर्छु भन्ने उद्देश्य लिएर स्वदेश फर्किएको युवा पुनः विदेश जान बाध्य छ ।’ काभ्रेबाट उत्पादित दैनिक तीन लाख लिटर दुध स्थानीय बजार सहित काठमाडौ, भक्तपुर, ललितपुर जिल्लामा खपत भैरहेको छ ।
२०६७ सालमा दुधमा आत्मनिर्भर घोषणा भैसकेको काभ्रेपलाञ्चोक जिल्लामा उत्पादित दुग्ध विगत एक वर्ष देखि विक्री हुन नसकिरहेको अध्यक्ष बडालले बताए । दुग्ध विकास संस्थान तथा निजी डेरीहरुले२ देखि ४ महिनाको दुग्ध विक्री गरेको भुक्तानी रकम दिएका छैनन् । दुध विक्रीबाट प्राप्त हुने भुक्तानी रकम नपाउँदा कृषकहरुलाई पशुआहारा घाँस, पराल, भुसा, दाना, चोकर, ब्रान्ड, खरिद गरी खुवाउन नसक्ने अवस्था सृजना भएको उनले बताए । बैंक तथा वित्तिय संस्थाहरुबाट पशुपालनमा लिएको कर्जाको साँवा ब्याज किस्ता समेत रोकिएको अध्यक्ष बडालले बताए । ‘दुधको भुत्तानी नहुँदा कृषकको दैनिक चुल्हो बल्नरोकिने अवस्था श्रृजना हुन थाल्यो’–उनले भने– ‘पशुपालन व्यवसाय प्रति निरासा उत्पन्न भै पलायन हुने सम्भावना बढेको छ ।’केन्द्रिय दुग्ध सहकारी संघ तथा जिल्ला दुग्ध सहकारी संघले दुध विक्री वापत पाउनु पर्ने भुक्तानी लगायत ११ बुँदे माग राखेर २०८० मंसिर २८ गते देखि आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका थिए । कृषकहरुलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम पौष मसान्तभित्र भुक्तानी गरिसक्ने, कृषकहरुबाट लिइरहेको दुधको परिमाण नघटाई संकलन गर्ने, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय भएको छलफल अनुसार कृषकहरुका माग पुरा गर्ने गरी २०८० मंसिर २६ गतेभएको सहमती सरकारले पालना नगरेको अध्यक्ष बडालले बताए ।
दुग्ध किसानहरुले सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान तथा अन्य डेरी उद्योगहरुलाई विक्री गरेकोचार महिना सम्मको भुक्तानी रकम ५० करोड भन्दा धेरै भुक्तानी गर्न, मिल्क होलिडे बन्द गर्न, आयातित दुध तथा दुधजन्य पदार्थलाई पूर्ण रुपमा बन्द गर्न माग गर्दै आन्दोलनरत छन् । आर्थिक वर्ष २०७९/०८० मा मात्रै काभ्रेपलाञ्चोक जिल्लामा गाईबाट ५८ हजार ८ सय १२ र भंैसीबाट ८८ हजार २ सय १८ मेट्रिक टन गरी कुल १ लाख ४७ हजार ३० मेट्रिक टन दुध उत्पादन हुँदै आएको छ ।









