बनेपा/विश्व लगानी सप्ताह २०२३ को अवसर पारी भिजन सेक्युरिटिज् प्राली (शेयर व्रोकर नम्वर ३४) ले बनेपामा एक दिने लगानिकर्ता सचेतना कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा शेयर लगानीमा चासो राख्ने र लगानीकर्ताहरुको सक्रिय सहभागिता रहेको थियो ।
कार्यकारी अध्यक्ष राजकुमार तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय सांसद हरि ढकाल लगायतको सहभागिता रहेको थियो । शेयर मार्केटमा भएका समस्या, सम्भावना र चुनौतीका बारेमा बताउँदै संघीय सांसद ढकालले युवा पुस्ताको आशालाग्दो क्षेत्र शेयर मार्केटको सुरक्षा र समस्याका बारेमा संसद मार्फत सरकारको ध्यानाकर्षण गराउने बताए । शेयर कारोवार सम्वन्धी ज्ञान अभिबृद्धीको उदेश्यका साथ उक्त कार्यक्रम जिल्लामा आयोजना गरिएको बनेपा शाखा प्रमुख शर्मिला आचार्यले बताईन् ।
कार्यक्रममा नेपाल धितो पत्र बोर्डका कामु निर्देशक राजाराम दुलाल लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण नेपाल धितोपत्र बोर्डले गरेको थियो । नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्यले शेयर बजारको अवस्था र त्यसको सुधारका लागि उद्योग बाणिज्य संघले खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी गराएका थिए । भिजन सेक्युरिटिज प्रालीले नेपालका विभिन्न स्थानमा शाखा कार्यालय मार्फत शेयर कारोवारका लागि सहजिकरण गरिरहेको कार्यकारी अध्यक्ष राजकुमार तिमल्सिनाले बताए । बनेपा, भैरहवा, कावासोती, बेनी, दमौली, भक्तपुर, विरौटा, इलाम, टिकापुर, चन्द्रौटा र कुमारीपाटीमा शाखा कार्यालय रहेको उनले बताए । त्यस्तै नेपाल धितोपत्र बोर्डका निर्देशक विनय जस्पाउले विश्व लगानीकर्ता सप्ताहको अवसरमा देशभरका स्थानीय तहलाई सचेत गराउनु पर्ने बताए । यस अघि दक्षिणकाली नगरपालिकामा भएको अभ्यास र सचेतनाका बारेमा जस्पाउले जानकारी गराएका थिए ।
शेयर भनेको के हो ? साधारण शेयर, अग्राधिकार शेयर, बोन शेयर तथा हकप्रद शेयर, शेयर लगानीमा जोखिम, शेयरको बजार मुल्य निर्धारण, लगानीकर्ताको अधिकार, सुचिकृत शेयरहरु खरिद तथा विक्री गर्नु अघि ध्यान दिनु पर्ने विषयका बारेमा जानकारी गराईएको थियो । त्यस्तै शेयर लगानीकर्ताहरुलाई फाईदा, खरिद विक्रीको प्रकृया, स्टक ब्रोकर कम्पनी, शेयर ट्रेडिङ एकाउन्ट, शेयर दलाल, कारोवार रापसाफ वा लगानीकर्ताको आदेश अनुसार भएको कारोवार अस्विकार गर्दा हुने अवस्था, खरिद विक्री कारोबार गर्ने समय, मार्जिन ट्रेडिङ, धितोपत्र केन्द्रीय निक्षेप प्रणाली, डिपोजिटरी, डिम्याट खाता, हितग्राही परिचय नम्वर, निर्देशन पुँजी लगायतका विषयमा जानकारी गराईएको थियो । कार्यक्रममा धितोपत्र बजार सम्वन्धी सरोकारवाला ब्यक्तिहरुले धारणा राखेका थिए ।









