पनौती काभ्रे, पनौती नगरपालिका वडा नं. ४, काभ्रेपलाञ्चोकमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र बनेपा ७, काभ्रेपलाञ्चोकमा मुख्य कार्यालय रहेको ज्योति बहुउदेश्यीय सहकारी संस्था लि. बीच एकीकरण गर्ने सम्झौता भएको छ । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को मुख्य कार्यालयमा भएको एकीकरण सम्झौतामा दुबै संस्थाका एकीकरण कार्यदलले दुबै संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र सल्लाहकारहरु समेतको उपस्थितिका बीच एकीकरण सम्झौतामा हस्ताक्षर गरिएको थियो ।
२०५१ साल माघ १४ गते स्थापना भई १० वटा सहकारी संस्था एकीकरण भई काभ्रेपलाञ्चोक, काठमाण्डौं, भक्तपुर र ललितपुर जिल्ला कार्यक्षेत्र रहेको ५१ हजार शेयर सदस्य र ४ अर्ब ५० करोडको कुल पूँजी रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र २०५५ सालमा स्थापना भई ६ हजार ९ शय शेयर सदस्य र १ अर्ब ४० करोडको कुल पूँजी रहेको ज्योति बहुउदेश्यीय सहकारी संस्थाले एक आपसमा एकीकरण हुने सम्झौता गरेका हुन् । एकीकरण सम्झौता कार्यक्रममा जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकका अध्यक्ष दिलिप शर्माले प्रदेशकै ठूलो समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्था बन्न सफल भएकोमा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र ज्योति बहुउद्देश्यीय सहकारी संस्था लि. लाई हार्दिक बधाई दिंदैं मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष उदयराम कायस्थ, संस्थाका प्रमुख सल्लाहकार दीपक थापा, सल्लाहकार शम्भुलाल श्रेष्ठ, ज्योति बहुउदेश्यीय सहकारी संस्था लि. का सल्लाहकार राजकुमार हुमागाई र निवर्तमान अध्यक्ष मुकुन्द प्रसाद दाहालले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
दुबै संस्थाको आगामी साधारण सभाबाट एकीकरणको प्रस्ताव पारित भएपश्चात दुबै संस्थाको एकीकृत कारोबार हुनेछ । एकीकृत संस्थाको शेयर सदस्य संख्या ५९ हजार र कुल पूँजी रू ५ अर्ब ९० करोड हुनेछ भने शेयर पूँजी रू ४६ करोड पुग्नेछ । लगानीमा रहेको ऋण रू ४ खर्ब ६० करोड हुनेछ । बचत निक्षेप रू ४ अर्ब १० करोड हुनेछ । जगेडा कोष रू. ४३ करोड हुनेछ र अन्य कोषहरु रू २० करोड गरी जम्मा कोष रू ६३ करोडको हुनेछ । कार्यक्रम सञ्चालन संस्थाका सचिव मुकुन्द शर्माले गर्नुभएको थियो भने कार्यक्रमको समापन ज्योति बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष सुर्य मानन्धरले मन्तब्य सहित एकीकरण सम्बन्धी संयुक्त बैठक समापन गर्नुभयो ।









