धुलिखेल/नेपाल अटो मोबाईल्स एशोसिएसन नेपाल (नासा)को आयोजना तथा अन्तराष्ट्रिय अटोमोबाईल्स फेडेरेसन (एफआईए) को सहयोगमा धुलिखेलको हिमालयन मोटरल्याण्डमा ‘स्कुल टु ट्रयाक’ प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौ विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ्ग विभाग तथा अन्य विभिन्न क्याम्पसमा ब्याचलर तहमा अध्ययनरत १४ जना छात्राहरुले प्रतियोगितामा भाग लिएका थिए ।
प्रतिस्पर्धामा काठमाडौ विश्वविद्यालय मेकानिकल इन्जियरीङ्ग तर्फका श्रेया आचार्य प्रथम भईन भने सोहि विद्यालयकी एलिसा सेजवाल दोश्रो भईन । विनायकसिद्ध विश्वविद्यालयककी रोशनी भण्डारी तेश्रो भईन । एक महिना अघि नासाले खुल्ला प्रतिस्पर्धाका लागि गरेको आब्हानमा २२ जनाले आवेदन भरेका थिए । नासाले राखेको नियम भित्र १४ जना मात्रै छात्राहरु योग्य भए । योग्य भएका छात्राहरुलाई भाद्र २२ गते शुक्रबार सोहि स्थानमा एक दिने प्रशिक्षण दिईएको नासाका कार्यकारी निर्देशक गोविन्द भट्टराईले जानकारी दिए । प्रशिक्षणमा सहभागी भएकाहरुलाई भाद्र २२ गते शनिबार प्रतिस्पर्धा गराईएको हो । विभिन्न चरणमा भएका प्रतिस्पर्धाबाट अन्तिम चरणमा सहभागि भएकाहरुलाई तीन ल्यावमा प्रतिस्पर्धा गराईएको थियो । ‘स्पिड तर अनुशासन सहितको रेसमा कलात्मक तथा नक्सांकन सहितको पिच गरिएको ट्रयाकमा तीन ल्याब रेसमा उत्कृष्ट हुनेहरु मध्ये विजयी घोषणा गरिएको हो’–कार्यकारी निर्देशक भट्टराईले भने–‘साहसिक खेल अन्र्तगतको स्कुल टु ट्रयाकले छात्राहरुको मनोबल मात्रै बढाउँदैन उनिहरुलाई पनि समुदाय र समाजमा महिला भएर पनि यस्ता कार्यमा उत्कृष्ट हुन सकिन्छ भन्ने साहस भरिदिएको छ ।’ नासाले उत्कृष्ट खेलाडीहरुलाई राष्ट्रिय खेलाडीको रुपमा परिचयपत्र प्रदान गर्नेछ ।
नासाले यसअघि ‘कलेज टु कार्टस, शफर्मुला वन इन स्कुल्स’ कार्यक्रम अन्र्तगतको प्रतिस्पर्धा विद्यार्थीहरुका लागि उपलब्ध गराएको थियो भने ‘रेश नारी’ र ‘पाओर टु पाओर स्टेरिङ’, कार्यक्रम युथ महिलाहरुका लागि संचालन गरेको थियो । तालिम प्राप्त मार्शलहरुले ब्यवस्थापन गरेको उक्त प्रतिस्पर्धा यदुराज लामिछानेको नेतृत्वमा आयोजना गरिएको थियो भने स्थानीय रुपमा नासाका कार्टस एण्ड ग्रासरुट कमिसनका संयोजक निरोज खड्काले संयोजन गरेका थिए । कार्यक्रममा नासाका अध्यक्ष दशरथ रिसालले प्रतियोगिता शुभारम्भ गर्दै खेलाडीहरुलाई विजयीको शुभकामना दिएका थिए । साथै उत्कृष्ट विजेतालाई पुरस्कार वितरण गर्दै सहभागिहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । सोहि कार्यक्रममा नासाका उपाध्यक्ष सिताराम न्यौपाने, सचिव सन्तोष न्यौपाने, सह–कोषाध्यक्ष कमला आचार्य लगायतको सहभागिता रहेको थियो ।
निःशुल्क आयोजना गरिएको खुल्ला प्रतिस्पर्धाका विजयीहरु क्रमश प्रथम, दोश्रो र तेश्रो हुनेले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गरे । नासाले हरेक वर्ष साहसिक खेलहरुको प्रर्वद्धन तथा आयोजना गर्दै आएको अध्यक्ष रिसालले बताए ।









