2026 September 10/ 11:10: 34pm

कर्मचारी ओएनएम सम्बन्धी प्रस्ताव छलफल नै भएन। सोहि प्रस्तावका कारण असार १० गते नगर सभा शुरु नै नभई स्थगित भएको थियो। 
    पनौती÷पनौती नगरपालिकाको १३ औं नगर सभा सोमबार २०८०÷०८१ को नीति तथा कार्यक्रम र अर्थ विधेयक, विनियोजन विधेयक तथा आय ब्यव सहितको बजेट पास भएको छ । सभाले २०७९÷०८० को बार्षिक प्रतिवेदन तथा नगरपालिकाले गरेका निर्णयहरु अनुमोदन गरेको छ । 
    नगर प्रमुख रामशरण भण्डारीले नीति तथा कार्यक्रम र उपप्रमुख गीता बञ्जाराले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । असार १० गते शुरु भएको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो । कर्मचारी सम्वन्धी ओएनम सर्वे सम्बन्धी विषयमा सहमति नहुँदा उक्त दिन बजेट र नीति तथा कार्यक्रम दुबै प्रस्तुत हुन सकेको थिएन । सोमबार आयोजित सभामा उक्त प्रस्ताव कार्य सूचीमा समावेश गरिएन । सभामा नगरपालिकाको आन्तरिक आय ४० करोड ७१ लाख, राजश्व बाँडफाँडबाट २० करोड ९ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरण, बागमती प्रदेश सरकारको वित्तिय हस्तान्तरण र जन सहभागिता सहित जोडेर १ अरब ५० करोड बजेट विनियोजन गरेको छ । नगर प्रमुख रामशरण भण्डारीले आगामी वर्ष नगर स्तरीय योजनाहरु ठेक्का प्रकृयाबाट संचालन गर्ने बताउनु भएको छ । सभामा प्रस्तुत नीति तथा कार्यक्रममा नगरस्तरीय सबै र वडा स्तरीय १० लाख रुपैयाँ भन्दा माथीका सबै योजनाहरु ठेक्का प्रकृयाबाट कार्यान्वयन गरिने उल्लेख गरिएको छ । तर बजेटमा जनसहभागीता मार्फत ३८ लाख रकम आम्दानी हुने प्रक्षेपण गरिएको छ । 
    ‘पनौती नगरको दिगो विकासको आधार, गतिशील अर्थतन्त्र, प्रविधि र पूर्वाधार’ भन्ने नारालाई सार्थक बनाउन समृद्धि पनौती निर्माणको अभियानलाई तीब्रता दिनेछौं’–नगर प्रमुख भण्डारीले भन्नुभयो–‘नदी एवं खानीजन्य श्रोतको उत्खनन्, प्रशोधन ओसारपसारलाई ब्यवस्थित गराउँदै वडा नम्वर २ र १२ का प्रभावित क्षेत्र सिमांकन गरी खानीजन्य क्षेत्र घोषणा गरिने छ ।’ वडा कार्यालय पुग्ने सडक कालोपत्रे, सिसि क्यामेरा जडान, ढलको पहुँच नभएका स्थानमा सोकपिट बनाउन प्रेरित गर्ने, जेटिङ्ग मेशिनको प्रबन्ध गर्ने, नगर क्षेत्रका ऐतिहासिक, पूरातात्विक, धार्मिक, साँस्कृतिक र रमणीय पर्यटकीय क्षेत्रको विकासका लागि संरक्षण सम्बद्र्धन र प्रवद्र्धनका कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ । डिजिटल पनौतीको अवधारणलाई पूर्णता दिने, कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम तयार गरी निशुल्क पाठ्यपुस्तक वितरण गर्ने, भूमिहिन सुकुम्बासीहरुलाई धनी प्रमाणपुर्जा वितरण गर्ने, प्रदुर्षण नियन्त्रणका लागि विभिन्न कार्यक्रम संचालन गर्ने, नगर भित्र औधोगिक ग्रामको स्थापना गर्ने, माध्यमिक विद्यालयलाई प्राविधिक विद्यालयको रुपमा विकास गर्ने, खोपासी स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा रुपान्तरण गर्ने, सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई इ लाईब्रेरी सर्भरको ब्यवस्था गरी अनलाईन शिक्षामा पहुँच विस्तार गर्ने, ८० वर्ष कटेका जेष्ठ नागरिकहरुलाई संघ संस्था एवं नगरको सहकार्यमा तिर्थाटन गर्ने उल्लेख गरेको छ । 
    सुशासन तथा संस्थागत विकास, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, कृषि, महिला तथा बालबालिका, बालमैत्री स्थानीय शासन, पुर्वाधार विकास, सम्पदा, वन तथा वातावरण, पर्यटन, सहकारी, पञ्जिकरण तथा सामाजिक सुरक्षा, विपद ब्यवस्थापन, सूचना तथा प्रविधि, प्राकृतिक श्रोत ब्यवस्थापन, सार्वजनिक सम्पति उपयोग तथा संरक्षण, प्रधानमन्त्री रोजगार सेवा कार्यक्रम अन्र्तगत नगरपालिकामा गर्ने विभिन्न योजना र कार्यक्रमका बारेमा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगर सभामा अर्थ विधेयक वडा अध्यक्ष पुरुषोतम अधिकारीले प्रस्तुत गर्नु भएको थियो भने विनियोजन विधेयक वडा अध्यक्ष विपेन्द्र लामाले प्रस्तुत गर्नु भएको थियो । २०७९÷२०८० को बार्षिक प्रगति प्रतिवेदन वडा अध्यक्ष विष्णुप्रसाद सापकोटाले प्रस्तुत गर्नु भएको थियो भने लेखा समिति गठन कार्यविधि २०८० सम्वन्धी प्रस्ताव वडा अध्यक्ष जयराम केसीले प्रस्तुत गर्नु भयो भने लेखा समितिको प्रतिवेदन वडा अध्यक्ष सहकुलकुमार हुमागाईले प्रस्तुत गर्नु भयो । न्यायिक समितिको प्रतिवेदन कार्यपालिका सदस्य चण्डिका परियार, मेलमिलापकर्ताहरुको नाम सुचिकृत सम्वन्धी प्रस्ताव कार्यपालिका सदस्य राधिका विश्वकर्माले प्रस्तुत गर्नु भएको थियो । प्रमुख प्रशासकिय अधिकृत प्रणराज न्यौपानेले नगर सभाले बजेट, नीति तथा कार्यक्रम र प्रगति प्रतिवेदन प्रस्तुत सर्वसम्वतले पास गरेको थियो ।