2026 September 10/ 11:10: 34pm

काभ्रेमा २ सय १ जनाको गुम्यो रोजगारी 
    धुलिखेल/सरकारको निर्णयले जिल्लामा कार्यरत २ सय १ अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुले रोजगारी गुमाएका छन् । ५० वर्ष भन्दा धेरै सेवा गर्ने ब्यक्तिहरुका सन्दर्भमा पनि सरकारले केहि बोलेन । निशर्त विदाई गरेको सरकार विरुद्ध कर्मचारीहरु सर्वाेच्च पुगे पनि अन्तरिम आदेश दिन अस्विकार गरेको छ । 
    नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसन नेपालको आयोजनामा देशभरका हुलाक कार्यालयहरुमा निरन्तर आन्दोलन भईरहेको थियो । अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुले सरकारले बजेट भाषण मार्फत कार्यालय खारेजी गर्ने निर्णयको विरोधमा २०८० जेठ १५ देखि सेवा ठप्प बनाउँदै आएका थिए । आन्दोलनलाई पनि सरकारले बेवास्ता गरे पछि साउन १ गते देखि कर्मचारीहरुले रोजगार गुमाएका छन् । ‘अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुको आन्दोलनका कारण सेवा प्रभावित बनेको छ’–जिल्ला हुलाक कार्यालय काभ्रेकी निमित्त प्रमुख नानीमैया आचार्यले भन्नुभयो–‘अवरुद्ध सेवालाई सुचारु गर्न ईलाका तथा जिल्ला हुलाक कार्यालयका कर्मचारीहरु मार्फत पहल भए पनि सम्भव भएको छैन ।’ जिल्लामा २ सय १ जनाको दरवन्दीमा अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारी छन् भने देशभर १० हजार भन्दा धेरै कर्मचारी अतिरिक्त हुलाक कार्यालयमा कार्यरत छन् । अतिरिक्त हुलाक कार्यालय अन्तर्गत तीन प्रकारका कर्मचारी हुन्छन् । पत्र वितरक, डाक बाहक र हुलाक प्रतिनिधि । जिल्लामा यी तिनै खालका कर्मचारीहरुको दरबन्दी २ सय १ रहेको निमित्त प्रमुख आचार्यले बताउनु भयो । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनका केन्द्रिय अध्यक्ष टंकप्रसाद हुमागाईले सरकारले अतिरिक्त हुलाक कार्यालय खारेजीको निर्णय तत्काल फिर्ता लिनु पर्ने बताउनु भयो । 
    ‘अतिरिक्त हुलाक खारेजीका सट्टा रुपान्तरण र ब्यवस्थापन गर्नुस्, कार्यरत कर्मचारीहरुको सेवा सुविधालाई समायोजन गर्नुस् भन्दै हामी विगत लामो समय देखि आन्दोलनमा थियौं’–अध्यक्ष टंकप्रसाद हुमागाईले भन्नुभयो–‘सरकारले हाम्रा कुरा सुन्नुको सट्टा कार्यालय नै खारेजी गर्ने निर्णय गरे पछि आन्दोलित भएका हौं ।’ ‘बजेट प्रस्तुत भएको भोलिपल्ट देखि नै हामी विभिन्न माग राखेर आन्दोलन गरिरहेका छौं’–अध्यक्ष हुमागाईले भन्नुभयो–‘माग सम्बोधन नहुँदासम्म चरणबद्ध आन्दोलन गर्नेछौं ।’ आन्दोलनका कार्यक्रम अन्तर्गत जेठ १६ गते देखि नै डाँक सेवा बन्द गरिएको छ भने असार ५ गते देखि धर्ना कार्यक्रम शुरु गरिएको छ । असार १० जिल्ला हुलाक कार्यालयका सबै सेवा अवरुद्ध गरिएको र असार ११ गते देखि केन्द्रमा विभिन्न कार्यक्रम गरिएको अध्यक्ष हुमागाईले बताउनु भयो । जिल्ला अध्यक्ष लिला सत्यालले सरकारको अदूरदर्शी निर्णयका कारण २ सय भन्दा धेरै कर्मचारी बेरोजगार भएको बताउनु भयो । हुलाक कार्यालयमा १० वर्ष देखि ५० वर्ष सेवा गरेका ब्यक्तिहरु छन् । ‘अतिरिक्त हुलाक कार्यालयको खारेजीका कारण सेवामा समस्या भएको छ’–जिल्ला हुलाक कार्यालय काभ्रेकी निमित्त प्रमुख नानीमैया आचार्यले भन्नुभयो–‘पत्र पु¥याउने ब्यक्ति नै हुनुहुन्न । कसै न कसैगरी पु¥याउने प्रयास भए पनि सम्भव भएको छैन ।’ काभ्रेमा जिल्ला हुलाक सहित १२ वटा इलाका छन् । खानीखोला र बेथान्चोकमा इलाका हुलाक छैन तर भुम्लु र पनौतीमा दूई दुईवटा छन् । अहिलेकै अवस्थामा जिल्लाभर पत्र पु¥याउन सम्भव नभएको उहाँले बताउनु भयो । पछिल्लो समय हुलाकको काम छैन भने पनि पत्रहरुको भार हिजो नाम्लोले बोक्नु पर्ने अवस्थाबाट झोलामा आएको आचार्यले बताउनु भयो । सरकारी पत्रहरु र अनिवार्य पत्र पुग्नुपर्ने अवस्थामा वित्तिय क्षेत्र तथा अन्य पत्रहरु धेरै आउने गरेको उहाँले बताउनु भयो । सरकारले त्यस बारेमा अर्काे ब्यवस्था नगर्दासम्म पत्र ओहोरदोहोरका लागि समस्या भएको उहाँले बताउनु भयो ।