2026 September 12/ 02:19: 32am

    पनौती/पनौती नगरपालिका वडा नम्बर ४ ले आगामी आर्थिक वर्ष २०८०÷८१ को योजना तथा कार्यक्रमका लागि राय सुझाव संकलन गरेको छ । वडा कार्यालयमा आयोजित वडा भेलामा सर्वदलिय, सर्वपक्षिय सरोकारवालाहरुको राय सुझाव संकलन गरिएको वडा कार्यालयले जनाएको छ । कार्यक्रममा वडा अध्यक्ष दिपक दाहालले चालु आर्थिक वर्षमा वडा कार्यालयले गरेका कार्यहरु जानकारी गराउनुभएको थियो । वडा, पालिका, प्रदेश र संघ अन्तर्गतका अधिकांश योजना सम्पन्न भएको र केहि योजना अन्तिम चरणमा पुगेको वडा अध्यक्ष दाहालले बताउनुभएको छ । आगामी आर्थिक वर्षमा पर्यटनसँगसँगै आर्थिक उपार्जनका कार्यक्रम, खानेपानी, ढल व्यवस्थापनको कार्यलाई जोड दिइने उहााको भनाई छ । यसैबिच वडा कार्यालयले एक घर एक विरुवा कार्यक्रमको सुभारम्भ गरेको छ । यो कार्यक्रम अन्तर्गत वडाभित्रका करिव १ हजार ५ सय घरधुरीलाई जेतपत्ता, टिमुर लगायतका विरुवा वितरण सुरु गरिएको हो । यसबाट वातावरण संरक्षणसँगै आर्थिक उन्नतीमा समेत सघाउ पुग्ने वडा अध्यक्ष दाहालले बताउनुभएको छ । उहाँले जनताको माग र सुझावकै आधारमा आयोजना छनौट गर्ने प्रतिवद्धता जनाउँदै पहुँच देखाउनकै लागि जनताको माग विपरितका योजना लाद्ने कार्य स्विकार्य नहुने चेतावनी दिनुभयो । नगरप्रमुख रामशरण भण्डारीले वडा नम्बर ४ ले विकास निर्माणको क्षेत्रमा गरिरहेको कामको प्रसंसा गर्नुभएको छ । विकास र समृद्धिका लागि वडा नम्बर ४ एकजुट रहेको भन्दै नगर प्रमुख भण्डारीले एकताको प्रसंसा गर्नुभएको हो । नगरपालिकाले गर्ने हरेक विकास निर्माणका काम दिगो विकाससँग जोडिनुपर्नेमा आफुहरु सचेत रहेको उहाँको भनाई छ । यस्तै नेपाल सरकारका उप–सचिव रामकुमार सापकोटाले चामखर्क र सल्लेलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सुझाव दिनुभएको छ । वडाले आफुले गरेका कार्यहरु सार्वजनिक गर्नु पारदर्शिताको महत्वपुर्ण उदाहरण भएको उहाँले बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका नकुल श्रेष्ठ, नेपाली कांग्रेसका महेश थापा, वरिष्ठ पत्रकार मधुसुदन गुरागाईले आम नागरिकको उपस्थितीले वडाले जनताको मन जितेको पुष्टि हुने बताउनुभएको थियो । उहाँहरुले कृषि, पुर्वाधार निर्माण, बाल विकास, सडक विद्युतलाई प्राथमिकतामा राख्न सुझाव दिनुभएको छ । वडावासीले लिखित सुझाव समेत योजना बैंकमा दर्ता गराएका छन् । कार्यक्रममा स्वागत मन्तव्य कार्यपालिका सदस्य राधिका विश्वकर्माले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन बालमैत्री सहजकर्ता ललिता धितालले गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्य, विद्यालय, सहकारी लगायत विभिन्न कार्यालयका प्रतिनिधि लगायत स्थानीयको उल्लेख्य उपस्थिती रहेको थियो ।