९ वर्ष पछि पक्राउ
धुलिखेल/विवाह गराईदिने भन्दै घरमा बोलाएर एकान्तमा पु¥याई मारेको अभियोगमा प्रहरीले ९ वर्ष पछि एक ब्यक्तिलाई पक्राउ गरेको छ । हत्या अभियोगमा श्रीमान श्रीमती नै संलग्न भएको मृतकका बाबुको जाहेरी थियो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले कर्तव्य ज्यान मुद्दामा संलग्नलाई ९ वर्ष पछि पक्राउ गरेको हो । २०६६ साल चैत्र महिनामा प्रहरीकोमा घटनाका बारेमा उजुरी दर्ता भएको थियो । प्रहरीले २०६६ चैत्र २९ गते सरकारी वकिलको अनुमतिमा मुद्दा दर्ता गरेको थियो । सिन्धुपाल्चोक जिल्ला साविक गाथी गाविस वडा नम्वर ३ हाल बाह्रविसे नगरपालिका वडा नम्वर ५ का ६० वर्षिय सिंहबहादुर तामाङले घटनाका बारेमा उजुरी गरेका थिए । सिंहबहादुर तामाङको २४ वर्षको छोरा कामी तामाङलाई सोहि जिल्ला साविक गाथी गाविस वडा नम्वर ४ घर भएकी लाखामाई तामाङले गाती गा.बि.स.वडा नं.४ बस्ने पिङगे तामाङको छोरी राममाया तामाङ सित बिबाह गराई दिने भन्दै २०६६ चैत्र १४ गते बोलाएकी थिईन् । विवाहका बारेमा सहमति नहुँदा सामान्य बिबाद भएको थियो । विवाद पछि पिङ्गे तामाङले स्थानीय गणेश युवा क्लवमा निवेदन दिएका थिए । क्लबले २०६६ चैत्र २५ गते छलफलको लागी उपस्थित हुन आउनु भन्दै चैत्र २० गते पत्र लेखेको थियो । क्लवले बाहेक लाखामाई तामाङले समेत २५ गते मेरा श्रीमान पनि आउछन, हामीहरु भएर कुरा मिलाई हाल्छौ जसरी भए पनि आउनु भनि मोवाईलमा फोन गरेर कामी तामाङलाई बोलाएकी थिईन् । कामी तामाङ बिश्वासमा परी बोलाएको स्थान काभ्रेपलाञ्चोक जिल्ला साविक भुम्लु गा.बि.स.वडा नं.६ बन्देउ जंगलमा पुगेका रहेछन् । सोहि समयमा लाखामाई र उनका श्रीमान बम बहादुर समेत मिली कर्तव्य गरी कामी तामाङलाई मारी भागी गएको उनका बाबु सिंहबहादुरले प्रहरीमा जाहेरी दिएका थिए । तर घटनाका बारेमा क्लवमा छलफल भए नभएको बाबुले भन्न सकेनन् । २०६६ चैत्र २६ गते दिउँसो अन्दाजी १२ः३० बजेको समयमा प्रहरी टोलीले कामी तामाङको शव फेला पारी मुचुल्का गरेको थियो । चैत्र २७ गते कामी तामाङको शव रहेको प्रहरी मार्फत परिवारले थाहा पाएको थियो । छोरालाई अनाहकमा लाखामाई र उनका श्रीमान बमबहादुरले नै कर्तब्य गरी मारेको भन्दै कारवाहीको माग गरेपछि प्रहरीले घटनालाई गहिरो रुपमा अनुसन्धान गरेको थियो ।
२०६६ चैत्र २६ गते दिउसो साढे १२ बजे काभ्रेपलाञ्चोक जिल्ला साविक भुम्लुटार गा.बि.स. वडा नं. ६ हाल भुम्लु गाँउपालिका वडा नं. ८ बन्देउ जंगलमा भएको उक्त घटनाको अनुसन्धान प्रहरीले जारी राखेको थियो । घटना भएको दुई वर्ष पछि २०६७ साल मसिंर १३ गते सनाखत भएको थियो । २०७५ मंसिर २७ गते काठमाडौ १६ बनस्थलीबाट अभियुक्त पक्राउ परेका थिए । सिन्धुपाल्चोक जिल्ला गाति गा.बि.स. वडा नं. ३ भई हाल परिवर्तित बाह्रबिसे न.पा.५ बस्ने ४१ वर्षिय बम बाहदुर तामाङ, सोहि स्थानमा बस्ने बर्ष ३८ की लाखामाई तामाङ पक्राउ परेका हुन् । २०६५ सालमा रहदानी बनाएका बमबहादुरले पक्राउ परेपछि प्रहरीमा यस्तो बयान दिएका थिए –‘मेरो श्रीमती लाखामाया तामाङ, छोरा बिशाल तामाङ र छोरी अंकिता तामाङलाई घरमा आमा बिष्णु माया तामाङले रेखदेख गर्ने गरी म बिदेश मलेसिया गई दुई बर्ष बसी २०६७ सालमा मात्र काठमाण्डौमा आई बसेको थिएँ । सिंहबहादुर छोरा कामी तामाङलाई कर्तव्य गरी मारेको कुरा गाउँका साथी मार्फत थाहा पाँए । घटना भएको ७÷८ दिन पछि मात्रै मैले उक्त घटनाका बारेमा जानकारी पाएँ । कामी तामाङलाई कसले किन कर्तव्य गरी मारेका हुन् ? मलाई जानकारी छैन । सिंहबहादुर तामाङ लगायतले म र मेरो श्रीमती लाखामाया तामाङलाई शंका गरी हामी दुई जनाको बिरुद्धमा कर्तव्य ज्यान मुद्दाको किटानी दिएका मात्र हुन् । म बिदेश मलेसियाबाट काठमाडौमा आई केहि महिना बसेर पुनः बिदेश साउदी गएँ । करीब ५ बर्ष सम्म विदेशमै बसी २०७२ सालमा काठमाडौमा फर्किए । करीब दुई महिना जति नेपालमा बसेर पुनः बिदेश कतारमा गएँ । २०७३ सालमा कतारबाट फर्किएँ । विदेशबाट फर्किए लगत्तै काठमाडौ स्थित सामाखुशीमा डेरा कोठा गरी गाडी चलाउने काम गरी बस्दै आएको थिएँ । २०७५ मंसिर २७ गते काठमाडौ स्थित बनस्थलीमा प्रहरी टोलीले मलाई पक्राउ गरी ल्याएका हुन ।’
बमबहादुर र लाखामायाले घटनाका बारेमा इन्कार गरेको भए पनि अनुसन्धान टोलीले उनिहरु दुबै जनाको मिलेमत्तोमा कामीको हत्या गरिएको पुष्टि भएको प्रहरीले बताएको छ । तत्कालिन अवस्थाका प्रमाण र देखिसुन्ने ब्यक्तिहरुका आधारमा उनिहरु माथी अनुसन्धान जारी रहेको प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिए ।









