बनेपा/राष्ट्रिय शहीद मुकेश कायस्थको स्वर्गारोहण भएको १३ औं दिनको पुण्यतिथिको अवसर पारेर बनेपामा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।
मुकेश कायस्थ प्रतिष्ठानले आयोजना गरेको श्रद्धाञ्जली सभामा विभिन्न राजनीतिक दलका नेताहरु, सुरक्षा तथा प्रशासनीक क्षेत्रका व्यक्ति तथा सर्वसाधारणको उपस्थिती रहेको थियो । श्रद्धाञ्जली सभामा स्वर्गीय कायस्थको आमा मिरा, बुबा कृष्णमान, प्रतिष्ठानका सभापति हिरा शर्मा नेपाल, संस्थापक मोहन दुवाल, वागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादे लगायतको उपस्थिति रहेको थियो । यस्तै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य, उप–प्रमुख विमला सापकोटा, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख भाग्येन्द्र पुरुष ढकाल, इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख रेशम बोहोरा लगायत विभिन्न राजनीतिक दलका नेता तथा सर्वसाधरणले स्वर्गीय कायस्थको तस्विरमा माल्र्यापण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
मुकेश कायस्थको सत्कर्मको कारणले सत्मार्ग प्रशस्तको कामना गर्दै ज्ञानमाला भजन भण्डलले आत्माको चिर शान्तिको कामना गरेको थियो । सरकारले मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको छ । वैशाख २७ गते साँझ मृत्यु हुनुभएका कायस्थको २८ गते विहिबार दिउँसो उग्रतिर्थेश्वर घाटमा दाहसंस्कार गरिएको थियो । २०६२÷०६३ को जनआन्दोलनका क्रममा २०६२ साल चैत २७ गते बनेपा तीनदोबाटोमा सुरक्षाकर्मीले हानेको गोली मुकेशको कञ्चटमा लागेको थियो । सोही दिनदेखि ओच्छ्यान पर्नु भएका मुकेशको ३२ वर्षको उमेरमा निधन भएको हो । कक्षा ८ मा अध्ययनरत १४ वर्षीय मुकेश त्यसयताका १७ वर्ष १ महिना ओच्छ्यानको ओच्छ्यानै हुनुहुन्थ्यो । बनेपा नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका मुकेश २०४८ साल भदौ ९ गते जन्मिनुभएको हो । दोस्रो जनआन्दोलनमा गोली लागेपछि उहाँलाई पक्षघात भएको थियो । १७ वर्षसम्म पनि उहाँ अर्धचेत अवस्थामा हुनुहुन्थ्यो ।
प्रतिष्ठानका संस्थापक मोहन दुवालले मुकेशलाई शहीद घोषणा गरेकोमा सरकारलाई धन्यवाद दिँदै प्रदेश सरकारबाट मुकेश कायस्थको नाममा घाइतेहरुलाई सम्मान गर्ने कार्यक्रम घोषणा गर्न, स्थानीय सरकारमार्फत मुकेशको शालिक निर्माण गर्न र निर्माणाधीन तथा अब निर्माण हुने स्वास्थ्य संस्था मुकेशको नामबाट नामाकरण गर्न माग गर्नुभएको छ । उपस्थित व्यक्तित्वहरुले कायस्थलाई देशको गहनाको रुपमा चित्रित गर्दै उहाँको सपना पुरा गर्न लागिपर्ने प्रतिवद्धता जनाएका छन् ।









