नवप्रवेशीलाई स्वागत, दीर्घसेवी शिक्षक अभिनन्दन, उत्कृष्ट जीपीए प्राप्त गर्ने विद्यार्थीलाई सम्मान
काभ्रे/नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेको २० औं जिल्ला परिषद तथा दीर्घसेवी शिक्षक सम्मान, नवप्रवेशी स्थायी शिक्षकको स्वागत तथा निवृत्त शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमालेका उप–महासचिव प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सोहि अवसरमा एसईई २०७८ मा उत्कृष्ट जीपीए प्राप्त गर्ने चण्डेश्वर मावि बनेपाका छात्र आयुष लम्साल र छात्रा अजिता दवाडीलाई सम्मान गरिएको छ । यस्तै १ सय १७ जना नवप्रवेशी शिक्षलाई स्वागत गरिएको छ भने २५ वर्ष सेवा अवधि पुरा गरेका १ सय २९ जना दीर्घसेवी शिक्षकहरुलाई अभिनन्दन गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेका अध्यक्ष रामचन्द्र थापाले जानकारी दिनुभयो । ३७ जना सेवा निवृत्त शिक्षकलाई अभिनन्दन गर्नुका साथै २५ जनालाइ आजीवन सदस्यता वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
बनेपामा आयोजित शिक्षक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका उप–महासचिव प्रदिप ज्ञवालीले देशको अर्थतन्त्र बारे सरकारले झुट बोलेको टिप्पणी गर्नुभएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेको २० औं जिल्ला परिषदलाई सम्बोधन गर्दै ज्ञवालीले मुलुकको अर्थतन्त्र डरलाग्दो संकटको डिलमा धकेलिरहेको बताउनुभएको हो । अर्थतन्त्रका अधिकांस सुचक कमजोर बन्दा पनि सरकारले समान्य रुपमा लिएको उहाँको आरोप छ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा समेत अर्थतन्त्र सुधारका ठोस विषय नभएकाले सरकारले अर्थन्त्रमा देखिएको समस्यालाई सामान्य रुपमा लिएको पुष्टि भएको धारणा राख्नुभएको हो । राजस्वले सरकारको नियमित खर्च नधान्ने अवस्थामा पुगेको भन्दै ज्ञवालीले गत वर्षको तुलनामा १४ प्रतिशत र यो वर्षको अनुमानको हिसावले ४८ प्रतिशत कम राजस्व उठेको बताउनुभयो । कर्मचारीले तलव नपाउने, वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता नपाउने, स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी नहुने, विकास निर्माणका कार्य अवरुद्ध हुने, व्यापार घाटा भयावह ढंगले बढिरहेको अवस्थामा पुग्दा पनि सरकार समाधान तर्फ भन्दा ढाकछोप गर्न लागिपरेको उहाँको आरोप छ ।
फरक प्रसंगमा पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका एमाले उप–महासचिव ज्ञवालीले सरकारका गलत कामका कारण मुलुकको राष्ट्रियहित, स्वाभिमान, सन्तुलित बाह्य सम्बन्ध, असंलग्न परराष्ट्र नीतिमाथी प्रश्न खडा भएको बताउनुभएको छ । मुलुक शक्ति राष्ट्रको द्वन्द्वको सिकार बन्ने त हैन भन्ने प्रश्न उब्जिएको उहाँको धारणा छ । दुवैतर्फ रहेका छिमेकी मुलुकको विश्वास जितेर अघि बढ्नुपर्ने बेलामा प्रधानमन्त्रीले भारत भ्रमणको लागि मरिहत्ते गरेको उहाँले बताउनुभयो । छिमेकीले नबोलाउँदा पनि देशको प्रधानमन्त्री ५ महिनादेखी एउटै गित गाइरहेको उहाँको आरोप छ । ज्ञवालीले भन्नुभयो, छिमेकीमा बाजा बजिरहेको छ, निम्ता आउला र बिहेको भोज खाउँला भनेर तपाई कुरेर बसिरहनुभएको छ, तर निम्ता आउँदैन भने सम्झिनुस् तपाई ठिक ढंगले विश्वास दिलाउन वा त्यसले तपाईलाई गणना गरिरहेको छैन यति वुझ्नुपर्दैन । यस्तै छिमेकी मुलुक चिनमा पनि नेपालको इतिहासमा पहिलोपटक नेपालको राजदुतले ओहोदाको प्रमाणपत्र वुझाउनका निम्ति ८ महिना कुर्नुपर्यो ।
एमाले उप–महासचिव ज्ञवालीले भ्रष्टाचार डरलाग्दो चुनौतीको रुपमा खडा भएको पनि बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्ड छानविन गराउँछु, दासढुंगा हत्याकाण्ड छानविन गराउँछु भनेको तर्फ संकेत गर्दै उहाँले निष्पक्ष छानविनका लागि आग्रह गर्नुभयो । तर आफुमाथी उठेको प्रश्नलाई ढाकछोप गर्न विषयान्तर गर्ने कुरा भने स्विकार्य नहुने उहाँको भनाई छ । उहाँले शिक्षा सेवा भन्दा व्यवसाय बन्न थालेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसले लिएको उदारीकरण, नीजिकरण, खुला बजार अर्थतन्त्रको गलत सोचले शिक्षा र स्वास्थ्यमा समेत व्यापारीकरण र नीजिकरणको स्थिती सिर्जना भएको बताउनुभयो । जसका कारण सार्वजनिक विद्यालय र नीजि विद्यालयबिच डरलाग्दो खाडल सिर्जना भएको उहाँको भनाई छ । यो खाडल नपुरेसम्म समाजवादमा पुग्न नसकिने उहाँको भनाई थियो ।
नेकपा एमालेका पोलिट्व्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले राजनीतिक चेतनाको ज्ञान बाँढ्न जरुरी रहेको बताउनुभएको छ । राजनीतिले सम्पुर्ण नीतिहरुको नेतृत्व गर्ने भएका कारण नेतृत्व गर्ने ठाउँमा समाजवाद विरोधी तत्वहरु अर्थात सामाजिक न्याय, रुपान्तरण, आर्थिक प्रगती, राष्ट्रिय स्वाधिनता, नागरिक अधिकारका विपक्षमा रहेको राजनीतिक दर्शन बोक्ने पार्टीहरु पुग्दा त्यसको नकारात्मक असर पर्ने बताउनुभयो । राजनीतिमा विचार प्रधान हुने उहाँले बताउनुभयो । एमाले नेता बास्कोटाले देशले विकासको गति लिनका लागि एमालेले नेतृत्व गर्नुपर्ने पनि बताउनुभएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेका अध्यक्ष रामचन्द्र थापाले विद्यालय शिक्षा सम्बन्धी अधिकार केन्द्रिय सरकार मातहत राख्नुपर्ने धारणा राख्नुभएको छ । शिक्षाको अधिकारलाई स्थानीय तहले सरुवाको धम्की र आफ्नाई संरक्षण गर्ने हतियारको रुपमा प्रयोग गरेको उहाँको तर्क छ । अध्यक्ष थापाले पाठ्यक्रम पुनरावलोकनको आवश्यकता पनि औंल्याउनुभएको छ । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका महासचिव हंशबहादुर शाही, पुर्व अध्यक्ष माधवप्रसाद अधिकारी, नेकपा एमाले काभ्रेका उपाध्यक्ष चन्द्र लामा, पेशागत महासंघ केन्द्रिय सचिव एवं वागमती प्रदेश इन्चार्ज श्यामप्रसाद पाण्डे, नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय सदस्य सुभद्रा अधिकारी, वागमती प्रदेश अध्यक्ष निरबहादुर कार्की, वागमती प्रदेश समिति सदस्य ओमप्रसाद तिमल्सिना, पेशागत महासंघ काभ्रेका अध्यक्ष केशव काफ्ले, उपाध्यक्ष लक्ष्मी अधिकारी लगायतको उपस्थिी रहेको थियो । कार्यक्रमको संचालन शिक्षक संगठनका सचिव भिमसेन हुमागाईले गर्नुभएको थियो ।









