2026 September 12/ 02:43: 28am

    गोकुले/संघीयताका आधारमा तीन तहका सरकार निर्माण भएर पहिलो कार्यकाल पूरा गरे पनि स्थानीय सरकारका समस्यामा माथिल्ला दुई तहका सरकार अझै जिम्मेवार बन्न सकेका छैनन् । विकट क्षेत्र डाँडापारीका अधिकांश समस्यामा संघ र प्रदेश सरकार उदासीन बनेका हुन् । 
    महाभारत गाउँपालिकाको गोकुले माध्यमिक विद्यालयमा अध्ययन गर्न दैनिक ६ घण्टा हिडनु पर्ने बाध्यता छ । हिडेर आउन नसक्ने विद्यार्थीहरुले बीचमा कक्षा छाड्ने गरेका छन् । हरेक वर्ष बालबालिकाहरुको यो समस्यालाई समाधान गर्न विद्यालय र अभिभावकले पहल नगरेका होईनन् । तर पनि सरकारले सहयोग नगरेका कारण विद्यालयमा छात्राबास बन्न नसक्दा बालबालिकाहरुले सकस ब्यहोरिरहेका छन् । ‘विद्यालयमा छात्राबास नहुँदा कक्षा ६ देखि १२ कक्षासम्म अध्ययन गर्दासम्म डेरा लिएर अध्ययन गरिरहेको छु’–गोकुले माध्यमिक विद्यालयको कक्षा १२ अध्ययन गर्ने शर्मिला मोक्तानले भन्नुभयो –‘कक्षा ५ सम्म अध्ययन गर्ने विद्यालय पनि घरबाट केहि टाढा भए पनि त्यहाँको अध्ययन सकेर बाँकी कक्षाको अध्ययनका लागि डेरा लिएर बस्नुको विकल्प भएन ।’ गोकुले माध्यमिक विद्यालय अध्ययन गर्न ६० जना विद्यार्थीहरु भाडामा बसेका छन् । माध्यमिक तहको अध्ययनकै लागि भाडामा बस्नु पर्ने बाध्यतामा पनि अभिभावकहरुले सन्तानको शिक्षाका लागि योगदान पु¥याएका छन् । 
    भुकम्प अघि गोकुले माध्यमिक विद्यालयमा छात्राबासको ब्यवस्था थियो । पर्याप्त सुविधा नभए पनि विद्यालयको छात्राबास हुँदा शिक्षकहरुको रेखदेख, विद्यालय हाता भित्रको वातावरण र अन्य सुविधाका कारण बालबालिकाहरुलाई सहज हुने गरेको प्रधानाध्यापक पदम तिमल्सिनाले बताउनु भयो । भुकम्प पछि भवन निर्माण कार्य जारी भए पनि प्रदेश सरकारले छात्राबासका लागि सहयोग नगर्दा बालबालिकाहरुले भाडामै बसेर अध्ययन गरिरहनु परेको छ । शर्मिला जस्तै निरुता रमौली मगर पनि कक्षा ६ देखि नै भाडामा बस्दै आउनु भएको छ । कक्षा ४ देखि १२ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरु भाडामा बस्नु परे पछि बीचमै पढाई छाड्ने समस्या रोक्न नसकिएको अध्यक्ष कान्छालाल जिम्बाले बताउनु भयो । ‘विद्यार्थीहरुको सुविधाका लागि विद्यालय भित्रै छात्राबास निर्माणका लागि पहल गरेका छौं’–अध्यक्ष जिम्बाले भन्नुभयो–‘महाभारत गाउँपालिका भित्रका अधिकांश विद्यालयमा पुग्ने विद्यार्थीहरु दैनिक ३ घण्टा आउन र ३ घण्टा जान समय लाग्ने गरेका कारण बीचमै अध्ययन छाड्ने, रकम अभावका कारण अभिभावकले पढाउन नसक्ने, चाहेर पनि बालबालिकाहरुले राम्रो अध्ययन गर्न नसक्ने कारण गुणस्तर आउने सकेको छैन ।’ संघ र प्रदेश सरकारलाई गोकुले लगायतका विद्यालयहरुको समस्या समाधानका लागि अनुरोध गरिएको अध्यक्ष जिम्बाले बताउनु भयो । 
     डेरामा बस्दाका अनेक समस्या छन् । एउटै डेरामा ४÷५ जना विद्यार्थी बस्ने गरेका छन् । शौचालय, खानेपानी तथा गुणस्तरीय खानाका लागि पनि डेरा सानो भएकाले समस्या भोगिरहेको उनिहरुले बताएका छन् । विद्यार्थी शर्मिला मोक्तानसँगै पढ्ने विद्यार्थीहरु ८÷९ जना मध्ये २ जनाले मात्रै नियमित अध्ययन गरिरहेका छन् । केहि बाल विवाह गरेर गईसकेका छन् । उनले भाई सँगै राखेर पढाई रहेकी छिन् । परिक्षा दिने बेला बत्ति हुँदैन । पानी पनि छैन । समस्या नै समस्याका बीच अध्ययन गर्दा पनि क्याम्पस तहको शिक्षाका लागि शहर जानु पर्ने थप बाध्यता छ । विकट क्षेत्रका बालबालिकाहरुका लागि सरकारले दिवा खाजाको ब्यवस्था गरे जस्तै छात्राबास अनिवार्य ब्यवस्था गर्नु पर्ने विद्यार्थीहरुले बताएका छन् ।