दोलालघाट/नेपाली सेना कालीजंग गण धुलिखेलले ‘ड्रोन’ को माध्यमबाट विपद्मा परेकाहरुको उद्दार गर्ने भएको छ । गणका गणपती प्रमुख सेनानी प्रकाशबहादुर सिंहले विपद्को खबर आए लगत्तै नेपाली सेनाले ‘ड्रोन’को माध्यमबाट आवश्यक पर्ने सामाग्री अर्थात उद्दारको प्रकृतिका बारेमा जानकारी लिएर उद्दारमा खटिने बताउनु भयो ।
नेपाली सेना कालीजंग गणको अगुवाई सहितको पहलता, जिल्ला समन्वय समिति काभ्रेको समन्वय, जिल्ला विपद् ब्यवस्थापन काभ्रेको निर्देशन तथा विपद ब्यवस्थापन र प्रतिकार्यसँग सम्वन्धित सरोकारवाला निकायहरुको सहकार्य र सहभागितामा भुम्लु गाउँपालिकाको सुनकोशीमा अभ्यास मनसुन ३ आयोजना गरिएको छ । मनसुन महिनामा जिल्लामा हुन सक्ने विपद्का घटनाहरुको न्यूनिकरण तथा पूर्व तयारीका लागि जिल्ला स्थित सम्पूर्ण सरोकारवाला निकायहरुको संयुक्त प्रयासमा अभ्यास मनसुन आयोजना गरिएको विपद ब्यवस्थापन जिल्ला समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनु भयो । अभ्यास अवलोकनका लागि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, नेपाली सेना उपत्यका पृतनाका पृतनापति सागरबहादुर थापा, जिल्ला स्थित पालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, २६ नम्वर बहिनी अड्डाका बाहिनीपति सहायकरथी सुनिल घले, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुखहरु, विभिन्न संघ संस्थाका प्रमुखहरु, स्वास्थ्यकर्मीि, रेडक्रस, उद्योग बाणिज्य संघ, भुतपुर्व सैनिक संघ, प्रहरी संघ तथा एनसिसी तालिम प्राप्त विद्यार्थीहरु, विद्यालयका शिक्षक तथा विद्यार्थीहरु र स्थानीयहरुको सहभागिता रहेको थियो ।
जिल्लामा हुन सक्ने विपद्को पहिचान गरी त्यसको अभ्यास गरिएको नेपाली सेना कालीजंग गण धुलिखेलका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले बताउनु भयो । ‘विपद्मा नागरिकहरुलाई तत्काल उद्दार कसरी गर्ने ? विपद न्यूनिकरणका लागि नेपाली सेना र संयुक्त रुपमा कसरी परिचालन हुन सकिन्छ ? त्यसका बारेमा कसरी सहि सूचना प्राप्त गर्ने र त्यहि अनुसारको तयारी गरी घटनास्थल पुग्ने ? त्यस्तो अवस्थामा कसको भूमिका के हुने ? भन्ने विषयमा अभ्यास मनसुनले प्रष्ट बनाएको छ’– प्रमुख सेनानी प्रकाशबहादुर सिंहले भन्नुभयो– ‘पहिलो पटक स्थानीय सरकार तथा सरोकारवाला निकायहरुका लागि विपद् द्रुत प्रतिकार्य किताब २०८० समेत प्रकाशन गरेर कालीजंग गणले उपलब्ध गराएको छ ।’ पुस्तकमा विपद् भनेको के हो ? विपद् प्रतिकार्य चक्र, जिल्ला विपद् ब्यवस्थापन सेल, विपदका प्रकारहरु, प्रतिकार्यका लागि आवश्यक सीप तथा कलाहरु, विपद मुल्यांकन कार्य तालिका, विपद् प्रतिकार्यका लागि आवश्यक पर्ने सामाग्रीहरु, सर्च एण्ड रेस्क्युको दौरान आवश्कय पर्ने डोरीको गाँठो बनाउने तरिका, इम्प्रोभाईजेशन स्ट्रेचर बनाउने तरिका, स्ट्रेचर नभएको अवस्थामा घाईते विरामीलाई स्वास्थ्य चौकी तथा अस्पतालमा लैजाने तरिका, बाढीमा उद्दार गर्ने तरिका, पहिरोमा उद्दार गर्ने तरिका, हेलिकप्टर बोलाउने र माग गर्ने तरिका, प्राथमिक उपचार तथा विपद्को दौरानमा आवश्यक पर्ने टेलिफोन नम्वर लगायतका विषय उल्लेख गरिएको छ ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले जिल्लामा हुन सक्ने विपद्को अभ्यासले नागरिकहरुलाई थप हौसला प्रदान गरेको बताउनु भयो । विपदमा सुरक्षाकर्मीहरु मध्ये पनि नेपाली सेना, शशस्त्र प्रहरी र नेपाल प्रहरीले ज्यानको बाजी राखेर भए पनि नागरिकहरुलाई बचाउने साहसिक अभियानमा महत्वपूर्ण योगदान दिन सक्ने हौसला प्राप्त भएको समन्वय प्रमुख गौतमले बताउनु भयो । भुम्लु गाउँपालिका अध्यक्ष प्रेम भुजेलले स्थानीय सरकारसँग बजेट भए पनि विपद्का लागि आवश्यक सीप, जनशक्ति र सामाग्री समेत नहुने भएकाले वडा स्तरमा यस्ता अभ्यास र तयारी आवश्यक रहेको बताउनु भयो । बाहिनीपति सहायकरथी सुनिल घलेले काभ्रेपलाञ्चोक जिल्लामा विगतमा भएका विपद्बाट पाठ सिक्दै मनसुनमा हुन सक्ने विपद्का बारेमा तयारी गर्न अभ्यास महत्वपूर्ण भएको बताउनु भएको ष्थियो । पृतनापती सागरबहादुर थापाले अभ्यासमा सहयोग पु¥याउने विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई विपद् द्रुत प्रतिकार्य किताब २०८० स्थानीय सरकार र सरोकारवालाहरुलाई हस्तान्तरण गर्नु भएको थियो । सम्भवत नेपालमै पहिलो पटक नेपाली सेनाको कालीजंग गण धुलिखेलले जिल्लाका सबै पालिका र सरोकारवालाहरुलाई विपद् द्रुत प्रतिकार्य किताब २०८० पुस्तक उपलब्ध गराउँदै जनचेतनामुलक कार्यक्रम आयोजना गरेको हो ।
कसरी भयो अभ्यास ?
नेपाली सेना कालीजंग गणको टोलीले भुम्लु गाउँपालिका वडा नम्वर २ सुनकोशी पुल नजिकै रहेको पुरानो बजारमा गाउँमा भारी वर्षातका कारण अचानक गएको पहिरोबाट उक्त गाउँका रामकुमार तामाङको घर प्रभावित भएको अवस्थामा सकुशल उद्दार गर्छ । पहिरो जानासाथ प्रहरी चौकीमा स्थानीयहरुले खवर गर्छन । घटनास्थल अति जोखिम तथा अग्लो पहाडी भुभागमा रहेका कारण प्रहरीले स्थानीयहरुलाई सुरक्षित स्थानमा लैजान्छन् । प्रभावित भएको घर उच्च जोखिमयुक्त स्थानमा भएकाले दक्ष रेस्क्यु टिमको आवश्यकता पर्छ । रेस्क्यु टोलीलाई घटनास्थल आउन सूचना प्राप्त भए लगत्तै नेपाली सेनाको कालीजंग गणले उक्त स्थानमा ड्रोनको सहायताबाट पीडितको अवस्था तथा रेस्क्यु गर्नका लागि उपयुक्त स्थानको छनौट गरी रेस्क्युको लागि परिचालन गर्छ ।
‘ड्रोन’ले लिएको भिडियो र फोटोहरुका आधारमा सेनाले उद्धारका लागि आवश्यक पर्ने सामाग्री सहित घटनास्थलमा रेस्क्यु टिम परिचालन गर्छ । पहिरो गएको प्रभावित स्थानमा उद्दारका लागि खटिएको टोलीले रेस्क्युका लागि सुरक्षित स्थानको छनौट गर्छ भने उपयुक्त स्थानमा ¥यापलिङ्ग रोपहरु लगाई बेश निर्माण गर्छ । बेश बलियो भएको एकिन गरी उद्दारका लागि तयार गर्छ । सुख्खा तथा मनसुनका समयमा हुन सक्ने पहिरोमा परेका नागरिकहरुलाई सुरक्षित साथ उद्दार गर्न नेपाली सेनाको टोली प्रविधि र सीपका आधारमा सक्षम रहेको अभ्यासले पुष्टी गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनु भयो । त्यस्तै भारी वर्षातका कारण बाढी आउँदा खोलाले बगाएका ब्यक्तिलाई उद्दारको अभ्यासमा पनि सेनाले प्रविधिका रुपमा पहिले ड्रोन प्रयोग गर्दछ । ड्रोनबाट आवश्यक जनशक्ति र सामाग्रीको तयारी पछि तत्काल घटनास्थलमा पुगेर बगाईरहेका नागरिकहरुको उद्दार गर्छ । त्यस्तै नेपाली सेनाको कालीजंग गणले डुबेको ब्यक्तिलाई मोर्टरबोटको माध्यमबाट उद्दार गर्छ । माछा मारिरहेको तथा पौडी खेलिरहेको अवस्थामा विभिन्न स्थानमा डुबेको ब्यक्तिलाई उद्दार गर्ने सीप पनि नेपाली सेनाले दोलालघाटको सुनकोशीमा देखाएको छ ।
सशस्त्र प्रहरी वाल, नेपाल नम्वर १५ गण हेडक्वाटर पाँचखालको टोलीले विपदमा खटिएको सुरक्षाफौजको टिम नै असुरक्षित भएको अवस्थामा कसरी उद्दार गर्न सकिन्छ भन्ने अभ्यास प्रर्दशन गरेको थियो । त्यस्तै बाढीमा फसेका ब्यक्तिहरुलाई शकुसल उद्दार गर्ने अभ्यास पनी सशस्त्र प्रहरीले गरेको छ । २०८० बैशाख १७ गते देखिको निरन्तरको अभ्यास पछि शनिबार उक्त स्थानमा संयुक्त अभ्यास प्रर्दशन गरिएको हो । नेपाली सेना कालीजंग गण लगायतको टोलीले जिल्ला, पालिका स्तर र वडा स्तरमा अभ्यास तथा सीपका बारेमा युवाहरुलाई जानकारी गराउने तालिका तयारी गरेको छ ।









