बेथान्चोक/सुका माना दुध किनेर २ रुपैयाँ धार्नीमा विक्री हुने खुवाका मुल्य यतिखेर ९ सय पुगेको छ । दुध र खुवा उत्पादनमा अग्रस्थानमा रहेको बेथान्चोक गाउँपालिकालाई पकेट क्षेत्र बनाउन गाउँपालिकाले योजना बनाउँदै छ ।
बेथान्चोक गाउँपालिकाका अधिकांश वडाहरुमा ब्यक्तिगत रुपमा खुवा उद्योग संचालन हुँदै आएको छ । दुध विक्री गर्ने अवस्था नहुँदा खुवा उत्पादन हुने गरेको थियो । खुवालाई लामो समयसम्म राख्न सकिने भएकाले दुध विक्री तत्काल नहुँदा खुवालाई हरेक ब्यक्तिले उत्पादन गर्दै आएको थियो । दुध लामो समयसम्म राख्न नसक्दा त्यसको प्रयोग हुने गरेको थियो । अहिले त्यसलाई ब्यवसायीक रुपमा उत्पादन गर्न थालिएको हो । गाउँपालिकाले दुध र दुधजन्य पदार्थहरुको उद्योग स्थापना गर्न बातावरण बनाउने योजना बनाएको अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बताए । ‘ब्यक्तिगत लगानीमा खुल्ने उद्योगहरुलाई ब्यवसायीक रुपमा परिणत गराउन हामी सहयोग गर्छाै’–उनले भने ।
लालीगुराँस खुवा उद्योग संचालन गर्दै आएका कृष्णप्रसाद तिमल्सिना ७० वर्षका भए । उनले २०३५ साल मंसिर देखि निरन्तर खुवा उत्पादन गरि रहेका छन् । बेथान्चोक गाउँपालिका वडा नम्वर २ गेल्ढुङ्गमा रहेको उनको उद्योगमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकहरुको चाप हुने गरेको छ । आगोको रापमा आधा दर्जन कराईहरुमा दुध उमालेर खुवा घोटिरहेको दृश्य धेरैका लागि नौलो हुन्छ । आगोबाटै मेशिन चलाएर दुध उमालेर खुवा बनाउने प्रविधि पनि उनको उद्योगमा रहेको छ । जिल्ला पशु सेवा कार्यालयका तत्कालिन प्रमुख डा. नारायणबहादुर श्रेष्ठले उनको उद्योग हेरेर कृष्णप्रसाद तिमल्सिनालाई दुध चिस्याउने मेशिन उपलब्ध गराएका थिए । प्रविधि मैत्री बनाउँदै उद्योगलाई अझै विस्तार गर्ने उदेश्यले कृष्णप्रसादले नातिलाई काठमाडौको बानेश्वरमा डेरी राखिदिएका छन् ।
२०३६ सालमा सुका माना दुध किनेर २ रुपैया धार्नीमा खुवा विक्री गर्दै आएका कृष्णप्रसाद तिमल्सिनाले अहिले ४५ रुपैया माना दुध किनेर ९ सय रुपैया धार्नीमा खुवा विक्री गर्दै आएका छन् । घरका ५ जना र ४ जना थप रोजगारी दिएका कृष्णप्रसाद तिमल्सिना हाल ३ सय लिटर दुध संकलन गरेर खुवा उत्पादन गर्दै आएका छन् । विहान ६ बजे देखि राति ८ बजेसम्म निरन्तर उद्योग संचालन गर्दै आएका कृष्णप्रसादले १५ लाख उद्योगका लागि लगानी गरेका छन् । पनिर, दहि, खुवा, छुर्पी लगायतको उत्पादनमा कृष्णप्रसादको लालिगुँरास उद्योग सक्रिय छ । २००५ सालमा जन्मिएका कृष्णप्रसादले २०१६ सालमा विवाह गरेका थिए । ११ वर्षकै उमेरमा विवाह गरेर केहि समय भारत गई मजदुरी गरेर फर्किएका कृष्णप्रसादले दिल्लीमा धेरै कुरा सिके । त्यहाँको भोगाईबाट नेपाल फर्किएर केहि समय ब्यवहारीक काममा लागेका तिमल्सिनाले २०३६ साल देखि निरन्तर खुवा उत्पादन गरिरहेका छन् । एक छोरा, एक छोरी सहितको सानो परिवार तिमल्सिनाले खुवा उद्योगलाई अझै नमुना बनाएर बेथान्चोकलाई खुवा उत्पादनमा अब्बल बनाउने सपना गाउँपालिकामा सुनाए ।









