‘क्रसर’ र ‘भट्टा’ दर्तामा दोब्बर कर
मण्डन/वर्षमा दुई पटक ६/६ महिनामा गर्नुपर्ने अधिबेशनलाई जनताकै हितमा प्रयोग गर्ने गरी मण्डन देउपुर नगरपालिकाले यस अघि तोकेको करमा संशोधन, छुटेका विषयलाई समायोजन र आगामी योजना समेत तय गर्दै हिउँदे अधिबेशन सम्पन्न गरेको छ । जिल्लाका अन्य स्थानीय तह अधिबेशनको सुरसारमा छन् ।
नगरबासीहरुको प्रत्यक्ष सरोकार राख्ने विषय नगरपालिका घोषणा हुनु अघि निर्माण भएका ब्यवसायिक प्रयोजनका घरहरुको अभिलेखिकरण गर्नका लागि तल्लो तल्लामा रुपैया ७ र माथिल्लो तल्लाका लागि १० रुपैया कायम गरिएको छ । नगरपालिका भित्र रहेका होटेल ब्यवसाय दर्ता तथा अनुमति प्रदानका लागि कर संकलन गर्न क, ख, ग, घ वर्गमा बाँडिएकालाई विभाजनका आधार तयार गर्न कार्यदल गठन गरिएको छ । नगर सभामा मदिरा नियन्त्रणसम्वन्धी विधेयक, सुर्तिजन्य पदार्थ सम्वन्धी विधेयक, शिक्षा नियमावली संशोधन र न्यायिक समितिको कार्याविधि संशोधन गरिएको नगर सभा सचिव मोहन अधिकारीले जानकारी दिए । घर बाटो सिफारिस गर्दा बाटो नभएको जग्गा १० रोपनीसम्म भएमा प्रति रोपनी २ सय र सोभन्दा माथि भएका २ हजार कायम गर्ने गरी यस अघिको करको दर पुनरावलोकन गरिएको छ ।
राजश्व परामर्श समितिको सिफारिसका आधारमा नगरपालिकाले नयाँ करका दायराहरु तय गरेको छ । सभामा नगरपालिका भित्र एफ एम संचालनका लागि ईजाजत दस्तुर ३० हजार र बार्षिक नविकरण दस्तुर १५ हजार कायम गर्ने प्रस्ताव पास भएको छ । कपाल काट्ने शैलुन ब्यवसाय दर्ता तथा बार्षिक नविकरण शुल्क १ हजार र जुत्ता विक्री पसललाई ब्यवसाय दर्ता तथा नविकरण शुल्क १ हजार लिने नयाँ प्रस्ताव पास भएको नगर सभा अध्यक्ष टोकबहादुर वाईवाले जानकारी दिए । नगरपालिका भित्र संचालन भएका सहकारीहरुलाई तोकिएको करमा संशोधन गरिएको छ । बचत तथा ऋण सहकारीहरुलाई ४ हजार, बहुउद्देश्यिय सहकारीलाई ३ हजार, दुग्ध सहकारीलाई १ हजार ५ सय र कृषि सहकारीलाई १ हजार कायम गरिएको छ । यसअघि सबै सहकारीलाई बार्षिक ४ हजार कायम गरिएको थियो । नगरपालिकामा क्रसर उद्योग दर्ता तथा बार्षिक नविकरण शुल्क १५ लाख कायम गरिएको छ । यस अघि उक्त शुल्कलाई ७ लाख कायम गरिएको थियो । ईटा उद्योग खोल्न बस्ति भन्दा टाढा, कृषि योग्य जमिन प्रयोग नगर्ने गरी बार्षिक १० लाख कायम गरिएको छ । यसअघि ५ लाख कायम गरिएको थियो । ढुंगा खानीका लागि १० लाख र बालुवा खानीका लागि ७ लाख नयाँ करको दर लागु गर्ने प्रस्ताव पास भएको छ ।
नगर सभाबाट एफ एम संचालन अनुमतिको इजाजत शुल्क देखि मदिरा तथा सुर्तिजन्य पदार्थको विधेयक समेत पास भएको छ । सभामा चालु वर्षको ६ महिनामा भएको वित्तिय प्रगति, भौतिक पूर्वाधार तथा गत आर्थिक वर्षको अन्त्यमा चालु अवस्थामा रहेका योजनाहरुका बारेमा जानकारी गराईएको थियो । नगर प्रमुख टोकबहादुुर वाईवाको अध्यक्षतामा शुरु भएको सभामा अध्यक्षले बैठक प्रारम्भ भएको औपचारिक घोषणा सँगै प्रमुख प्रशासकिय अधिकृत एवं नगर सभाका सचिव मोहन अधिकारीले वित्तिय प्रगति, भौतिक प्रगतिका बारेमा जानकारी गराएका थिए । उपप्रमुख एवं सभाका उपाध्यक्ष निर्मला शाहिले विकास निर्माणमा भएको प्रगतिको अनुगमनमा देखिएका विषय र न्यायीक समितिका गतिविधिका बारेमा प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । नगर सभा अध्यक्ष टोकबहादुर वाईवाले करको दर तथा दायरा पुनरावलोकन प्रस्ताव पेश गरेका थिए ।
आम्दानीमा लक्ष्य, खर्च हुनै सकेन
मण्डन देउपुर नगरपालिकाले चालु वर्षको ६ महिनामा ३१ करोड ८० लाख आम्दानी गरेको छ । बार्षिक ६५ करोड कारोवार गर्ने लक्ष्य राखेको नगरपालिकाले ठेक्काबाट ६ करोड ४३ लाख आम्दानी गरेको छ भने सम्पति करबाट १८ लाख १६ हजार, सिफारिस दस्तुर शुल्कबाट २१ लाख समेत गरी आयको लक्ष्यमा ४.२१ प्रतिशत रकम आम्दानी गर्न सफल भएको छ ।
खर्चतर्फ पुर्वाधार विकासमा ७९ लाख ८१ हजार, सामाजिक विकासमा ३० लाख, आर्थिक विकासमा २९ लाख २८ हजार, वातावरण तथा विपद् तर्फ ४ लाख, संस्थागत विकासमा ११ लाख समेत गरी १ करोड ५२ लाख रुपैया खर्च भएको छ । पुँजिगत तर्फ ५.९ प्रतिशत खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन अधिकारीले बताए । योजनाहरु सम्झौता भई धमाधम काम शुरु भएकाले खर्च रकम कम देखिएको अधिकारीले बताए । चालु वर्षको ३ महिनामा खर्चको प्रतिशत ह्वात्तै बढ्ने उनले बताए । नगरपालिकाले खुल्ला दिशामुक्त नगर, साक्षर नगर घोषणा गरी शिक्षा, स्वास्थ्य तथा पुनर्निर्माणमा काम अघि बढाईरहेको नगर प्रमुख टोकबहादुर वाईवाले बताए ।
स्वास्थ्य तर्फ औषधि खरिद, उपकरणको ब्यवस्थापन, बर्थिङ्ग सेन्टर संचालन, महिला स्वयंसेवीलाई भत्ता वितरण जस्ता कार्य सम्पन्न भएका छन् । कृषिमा प्लास्टिक टनेल वितरण, थोपा सिंचाई कार्यक्रम, माटो परिक्षण, कृषक पाठशाला, परामर्श सेवा प्रदान गर्ने कार्य सम्पन्न भएका छन् । विद्यालयहरुमा शैक्षिक गुणस्तर कायम गर्न शिक्षकहरुको दरबन्दी समायोजन,विद्यालय मर्ज तथा ई–हाजिरी जस्ता महत्वपूर्ण कार्य भएको नगर प्रमुख वाईवाले बताए ।









