2026 May 02/ 01:41: 03pm

    महाभारत, गोकुले/सडक सञ्जालको समस्याबाट पछि परेको डाँडापारीको महाभारतको गोकुले यतिखेर सिन्धुली जिल्लाको रामपुर हुँदै सडक सञ्जालमा जोडिएको छ । सडकसँगै शुरु भएको सम्वृद्धिको यात्रामा जुटेका छन् जेटिएको माध्यमबाट स्थानीय युवा । 
    डाँडापारी पशुपालन र कृषिका लागि उर्बर भूमी हो । सडक अभाव हुँदा उत्पादन भएका सामानहरु शहरसम्म आईपुग्न सम्भव थिएन । उत्पादन नहुँदा धेरै युवाहरु विदेशिन बाध्य थिए । सानै उमेरमा विवाह गर्ने र विदेशिनु पर्ने बाध्यतालाई सडक र विकासका अन्य सम्भावनाले रोक्दै लगेको स्थानीयहरुले बताएका छन् । महाभारत १ गोकुलेमा नविन एग्रो भेट सेन्टर खोलेका नविन श्रेष्ठ उदाहरण हुन् । ‘केहि अक्षर सिक्यो, नभए विद्यालयबाटै कक्षा छाडेर उमेर बढाउँदै  राहदानी बनायो, लाग्यो मरुभूमी भएको देश विदेश’–नविनले भने–‘गाउँमै पशुपालन र कृषिमा केहि गर्ने उदेश्यले एग्रो भेट शुरु गरें ।’ गोकुल माविबाट +२ सकेर जेटिए अध्ययन गरेका नविनले साझेदारीमा एग्रो भेट शुरु गरेका हुन् । 
    पशुपालन तथा कृषिमा ब्यवसायीकरण शुरु भएपछि गाउँमै एग्रोभेट शुरु गरेको नविनले बताए । अनिश भट्टराई र नविन श्रेष्ठले शुरु गरेको एग्रो भेटबाट पशुपालन र खेतिमा आएका समस्याहरु समाधान गर्ने योजना बनाईएको छ । स्थानीय सरकारले एक वडा एक प्राविधिक समेत राखेर स्थानीय क्षेत्रको समस्या समाधानका लागि पहल गरिरहेको छ । अनिशले त्यसबाट पनि महाभारतको गोकुलेमा योगदान पु¥याएका छन् भने नविनले अनिशलाई साथ दिदै आएका छन् । ‘विदेश जानु भन्दा गाउँमै रहेर पशुपालन क्षेत्रमा भएका समस्या समाधान गर्ने रहर जाग्यो’–नविनले भने–‘गाउँकै सेवा गर्ने भावनाले विदेश जाने सोच पलाएन ।’ नविनका दुई दाजुभाई छन् । एक दिदी र एक भाई समेत रहेका नविनलाई बुबा धुर्व्रबहादुर श्रेष्ठले समेत सहयोग पु¥याएका छन् । 
    गोकुलेमा प्रायः हरेक घरमा पशुपालन छ । ब्यवसायीक रुपमा बाख्रा पालन पनि शुरु भएको छ । बाख्रा, कुखुरा पालनसँगै फैलिदै गएको पशुपालन प्रतिको आर्कषणलाई सहयोग पु¥याउन गाउँमै प्राविधिक सेवा उपलब्ध गराउन थालिएको उनले बताए । वडा नम्वर १ र वडा नम्वर २ मा ब्यवसायीक बाख्रा र कुखुरा फर्म शुरु भएको छ । चरनका हिसावले उचित रहेको डाँडापारी क्षेत्रमा बाख्रा पालनको ब्यवसायीक सम्भावना रहेको छ । युवाहरुलाई विदेशिनबाट रोक्न र ब्यवसायीक बनाउन विभिन्न कार्यक्रम तय भएको गाउाँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । नेपालमा हुने कामलाई सानो सम्झेर दिन दिन विदेश जाने युवाहरुका लागि नविन उदाहरण बनेका छन् । गाउँमै खेतिपाती र पशुपालन गरी आत्मसम्मानका साथ ब्यवसाय गर्ने अभियानमा नविनबाट केहि सिक्नु पर्ने हो कि ?