2026 March 13/ 08:18: 42pm

अस्मिता केसी राउत
फार्मेसिस्ट्
अच्युतम फार्मेसी 
धुलिखेल हस्पिटल चोक

१) ब्यवसायिक ब्यस्तता कत्तिको छ ?
ब्यवसाय हो ब्यस्त पनि हुन्छ नै । नभए पनि फार्मेसीमा बस्नु प¥र्यो उसै पनि ब्यस्त हुन्छ ।
२) औषधि पसल भनेपछि स्वास्थ भन्दा पनि व्यापार ज्यादा हेरिन्छ भन्ने बुझाइ छ नि किन होला ?
हरेक पेशा ब्यवसायको आफ्नै ब्यवसायिक मर्यादा हुन्छ । हामीले मर्यादालाई भुल्नु हुदैन । यसमा सेवाग्राही अर्थात बिरामीको स्वास्थ्य ठूलो कुरा रहन्छ तर आजभोलि मानिसले पेशागत धर्म बिर्सेको पाइएको छ तर सबैले त्यसो गरेका छैनन् ।
३) बिरामीहरु डक्टरसँग नभेटी सिधै औषधि पसलको भर पर्नुलाई कसरी बुझ्ने ?
यो हाम्रो देशको भौगोलिक अवस्था र पर्याप्त स्वास्थ्य संस्था नहुनु पनि हो । सामान्य अवस्थामा औषधि पसल उत्तम पनि हो ।
४) त्यसो त बिना फर्मासिस्ट चलेका फार्मेसी उत्तिकै छन् भने सामान्य अवस्थामा एन्टिबायोटिक दिने औषधी पसले उत्तिकै छन, यसले मानिसको स्वास्थ्यमा भबिष्यमा समस्या आउँछ भन्छन् नि डक्टरहरु ?
यो समस्या छ । हुन त सरकारले औषधि पसल संचालनका लागि अनुमति दिँदा फर्मासिस्ट अनिवार्य छ । बिना परिक्षण एन्टिबायोटिक प्रयोग गर्नु गलत हो । यस्ता कुरामा औषधि दिने र लिने दुबै सचेत हुन जरुरी छ ।
५) औषधि ब्यवसायका लागि सरकारको मापदण्ड छ फेरि किन त्यो पूरा गर्दैनन् ब्यवसायीहरु ?
सरकारको मापदण्ड छ र हामी ब्यवसायी पनि मापदण्डमा रहनु नै पर्छ तर सरकारको अनुगमन नहुनु र हामी ब्यवसायीले पनि ब्यवसायिक मर्यादा कायम गर्नु जरुरी छ ।
६) सहरकै पसलहरु त बिरामीलाई गलत प्रयोग गर्न खोज्छन् दुर दराजको हालत कस्तो होला ?
यसमा गाउँमा भन्दा विकृति ज्यादा सहरमै छ । सहरमा ब्यवसायी पनि बढी छन् । तर गाउँ गाउँमा हुने ब्यवसाय भन्दा पनि सामान्य सेवा हुने गर्छ तर त्यसलाइ पनि ब्यवस्थित गर्न जरुरी छ ।
७) नेपालमा त औषधिको परिक्षण गर्छन रे नि ? सुरक्षित औषधि प्रयोग कसरी गर्ने ?
नेपालमा भन्दा पनि हाम्रा जस्ता धेरै देशमा यस्तो समस्या छ । पछिल्लो समय पनि यस्तो समाचार हामीले सुनेकै हो । नेपालमा यो सब हेर्ने DDA नाम गरेको छुट्टै निकाय छ । उसैले किन्ने देखि नयाँ लाइसेन्स सम्म दिने काम गर्छ । बाँकी रह्यो हामी कसरी सुरक्षित औषधि प्रयोग गर्ने भन्ने कुरा स्वास्थ्य सचेतना कार्यक्रम अलिक व्यापक गर्न जरुरी छ ।
८) के कस्तो अवस्थामा मानिसले घरेलु उपचार प्रयास गर्नु उत्तम हुन्छ ? एलोपेथिक र आयुर्बेदिक उपचार कुन उपयुक्त हो ?
अहिलेको समयमा घरेलु उपचारमा भर पर्नु गलत हुन सक्छ । घरेलु उपचारमा भर पर्दा देखिएको रोग जटिल बन्न सक्छ । रोगको प्रकृति हेरेर उपचारमा औषधिको प्रयोग हुन्छ । त्यसैले आयुबेर्दिक कि एलोपेथिक भन्ने भन्दा पनि समस्या के हो भन्ने मुख्य कुरा हो ।
९) नेपालीले स्वस्थ जीवनका लागि आराम र ब्यायाम र भोजनमा किन ध्यान दिदैनन् ? स्वस्थ जीवनका लागि सेक्स कत्तिको आवश्यक छ ?
आजभोलिका मान्छेहरुको दैनिकी व्यस्त साथसाथै अस्तव्यस्त पनि छ । स्वस्थ जीवनका लागि स्वस्थ र ब्यवस्थित खानपान अनि प्रयाप्त आराम हुन जरुरी छ तर हामीले त्यसरी ब्यवस्थित गर्न सकेका छैनन् । साथै स्वस्थ जीवनका लागि सेक्स महत्वपूर्ण पाटो हो र यो प्राकृतिक कुरा हो ।
१०) अन्त्यमा.....
अन्तमा पत्रिका परिवारलाई धन्यबाद । साथै सक्षम बन्नलाई शिक्षाको जरुरत रहन्छ र शिक्षामा प्राविधिक शिक्षा लिन सके मानिसले बेरोजगार रहनुपर्दैन भन्दै स्वस्थ जीवनका लागि  खानपान र ब्यायाममा ध्यान दिन सबैलाई आग्रह गर्दछु ।