2024 May 06/ 12:05: 35am

पत्नीसँग सम्वन्ध विच्छेद, परिवारसँग अंशबण्डा

मोतीराम तिमल्सिना
धुलिखेल

    बनेपामा रहेको पुण्यश्वर सहकारीका अध्यक्ष डम्बरबहादुर गौतम र उनका छोरा प्रवन्धक कुमार गौतमले सदस्यहरुको रकम योजनाबद्ध रुपले ठगी गरेको पुष्टी हुने तथ्यहरु फेला परेका छन् । सदस्यहरुको बचत रकम ठगी गर्ने अनी आफै बचतकर्ता विरुद्ध मुद्दा दर्ता गरेर दुख दिने ठगी बाबु छोराले एक वर्ष अघि नै सम्वन्ध विच्छेद गरी अंश समेत बुझेको भपाई बनाएको खुलेको छ । 
    ‘पुण्यश्वर सहकारीका प्रवन्धक समेत रहेका रामेछाप जिल्ला गुन्सी भदौरे गाविस वडा नम्वर ७ घर भई बनेपा नगरपालिका ७ बस्ने ३२ बर्षिय कुमार गौतमले २०७७ माघ २ गते पत्नी पवित्रा चौलागाई, भाई प्रदिप गौतम र बाबु डम्मरप्रसाद गौतमलाई प्रतिवादी बनाउँदै जिल्ला अदालत काभ्रेपलाञ्चोकमा सम्वन्ध विच्छेदको मुद्दा दायर गरेका रहेछन’–अनुसन्धानमा खटिएका प्रहरी अधिकृत धर्मेन्द्र अकौलियाले भने–‘कुमार गौतम पक्राउ परे पछि उनी बारे थप अनुसन्धान गरिरहेका छौं ।’ उनले दायर गरेको मुद्दामा २०७९ जेठ १७ गते न्यायाधीश महेन्द्रराज काफ्लेले फैसला सुनाएका थिए । कुमारको पत्नी पवित्रा चौलागाईको नामका बनेपा चोकमा प्रतिक सुज एण्ड फेन्सी सेन्टर संचालनमा थियो । डम्मर गौतमका तीन छोरा मध्ये कुमार एक हुन् । चल अचल सम्पति र ऋण धन समेत गरी तीन छोरा र बाबुका नाममा समेत गरी ४ अंशियार रहेकोमा ४ भागको १ भाग अंश कुमार गौतमले प्राप्त गरी सोहि भागबाट कुमारको पत्नी डम्मरको बुहारी पवित्रा चौलागाईलाई उपलब्ध गराउन माग गरिएको थियो । उनिहरुबाट जन्मिएको छोरा प्रतिक आमा पवित्रासँग छ । २०६४ साल असार ७ गते कुमारले पवित्रासँग मागि सामाजिक परम्परा अनुसार विवाह गरेका थिए । मुद्दामा २०७४ साल देखि नै पत्नीसँग सम्वन्ध राम्रो नभएको बताए पनि उनिहरु कुमार भुमिगत हुनु केहि दिन अघिसम्म सँगै बस्दै आएका थिए । 
    रामेछापको गुन्छी भदौरेमा रहेको वडा नम्वर ७ क को कित्ता नम्वर २९९ को २ रोपनी १० आना ३ पैसा २ दाम जग्गा र प्रतिक सुज एण्ड फेन्सी सेन्टर कुमार गौतमका नाममा रहेको पसल भागबण्डा गरिएको देखाईएको छ । कृष्णबहादुर तामाङ लगायतका बचतकर्ताहरुले २०८० जेठ २१ गते कुमार गौतम समेतलाई ठगी सम्वन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय काभ्रेमा मुद्दा दर्ता गरेका थिए । जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट प्रहरीले गौतमलाई पक्राउ गर्न अनुमति सोहि दिन लिएको थियो । एक वर्ष अघि जाहेरी दिएर दर्ता भएको मुद्दाका अभियुक्त कुमार गौतम राजधानीमा आलिसान जीवन विताईरहेका थिए । प्रहरीले एक वर्ष देखि उनको खोजी गरिरहेको थियो । २०८० चैत्र २९ गते उनी पक्राउ परेका थिए । नाटक पनि कति थियो भने शुरुमा छोराले बाबुलाई अनि बाबुले छोरालाई मुद्दा दर्ता गरिएको थियो । छोराले बाबुलाई मुद्दा दर्ता गरेर फैसला भए पछि अनि बाबुले छोरा विरुद्ध जालसाझी विरुद्ध मुद्दा दर्ता गरेका थिए । डम्मर गौतम अध्यक्ष रहेर सहकारीका सदस्यहरुको करोडौ रकम हिनामिना गरिएको छ । उनी पुर्व शिक्षक समेत हुन् । उनले ठगी गरेर बचतकर्ताको विचल्ली भएको समाचार लेखे बापत चेष्टा साप्ताहिकका कार्यकारी सम्पादक मोतीराम तिमल्सिनालाई समेत उनले मानहानीको मुद्दा दायर गरेका थिए । २०८० असार महिनामा नै उक्त मुद्दा फैसला भई गौतमले दर्ता गरेको मुद्दामा दावी नपुग्ने ठहर भएको थियो । त्यहि समयमा वडा अध्यक्ष हिटलर शाक्य सहित ५२ जनालाई मुद्दा दायर गरेका थिए । बचतकर्ताहरुको घेराउमा उनले छोराले गरेको अनियमित रकम आफुले तिर्ने कागज गरिदिएका थिए । 
    बनेपाको चोकमा रहेको पुण्यश्वर सहकारीका अध्यक्ष डम्बरप्रसाद गौतम र प्रवन्धक छोरा कुमार गौतमले ७ हजार भन्दा धेरै सदस्यको करोडौ रकम फिर्ता गर्न बाँकी छ । उनिहरु नै अदालतमा मुद्दा बोकेर दौडिरहेका छन् । आफै जालसाजी गर्ने, किर्ते कागजात बनाउने बाबु डम्बरप्रसाद गौतमका धेरै मुद्दामा पराजय भोगेका छन् । उक्त मुद्दा अदलातले खारेज गरिदिएको छ । त्यस्तै डम्बरकै छोरा कुमार गौतम पुण्यश्वरमा प्रवन्धक थिए भने द्रौपदा सहकारीमा अध्यक्ष थिए । दुबै सहकारीबाट जम्मा गरेको रकम अपचलन गरेको अभियोगमा बाबु छोरा दुबै जना विरुद्ध बचतकर्ताहरुले जाहेरी दिएका थिए । पुण्यश्वर सहकारीका २७ जना बचतकर्ताले सहकारीले रकम फिर्ता दिन नसकेको र संचालकहरु फरार भएकाले रकम फिर्ता माग गर्दै संचालक विरुद्ध ठगी अभियोगमा जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यालयमा सहकारी सम्वन्धी उजुरी बढिरहेका छन् ।     सहकारीले धेरै ब्याज लिएको भन्दै प्रहरीकोमा उजुरी गर्नेहरु पनि छन् । धितो लिएर लिलामी गरेको ऋण तिर्दा फिर्ता नदिएको भन्दै उजुरी पनि परेको छ । प्रहरी प्रधान कार्यालय तथा विभागहरुले मिटर ब्याज लिने र दिनेका सन्र्दभमा पीडितलाई न्याय हुने गरी पीडक सम्र्पकमा आएर छलफल गर्न चाहेको अवस्थामा छलफल गराउने र मिलापत्र गर्ने तहमा पुगे भने मिलापत्र गराएर उजुरी फछ्र्याैट गर्न गरेको परिपत्र अनुसार काभ्रेमा परेका दर्जनौ उजुरीका बारेमा छलफल भईरहेको प्रहरीले जानकारी दिएको छ । 
     डम्बरप्रसाद गौतमले सहकारीको अध्यक्ष नभएको भन्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए । जबकी २०७५ असोज १९ गते उनकै अध्यक्षतामा बैठक बसेर सहकारीका विभिन्न निर्णय गर्दै ऋण लगानी र असुली गरिएको छ । बचतकर्ताहरुको घेरामा परेका बेला बनेपा नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष हिटलर शाक्यको उपस्थितीमा बचतकर्ताहरुको सबै रकम फिर्ता गर्छु भन्दै कागज गरेका छन् । कुमार आफैले ब्यक्तिगत रुपमा १ करोड ३६ लाख ९१ हजार ५ सय ८३ रुपैया खर्च गरेको रेकर्डमा उल्लेख छ । उनले सहकारीबाट लगानी गरेको ऋण पनि परिवारका सदस्यमा मात्रै छ । ७ करोड भन्दा धेरै रकम उनले आफ्नै परिवारका सदस्यलाई लगानी गरेका छन् । बनेपा शाखाबाट ४४ जनाले लिएको ऋण मध्ये अशोक चौलागाई सानिआमाका छोरा, गणेशप्रसाद दुलाल मामा, सृजना दर्लामी मगर (कुमारको एकाघर), गायत्रराज ठकुरी (आफन्त), लक्ष्मी चौलागाई गौतम (बुहारी), उद्धव गौतम (भाई माईलो), गंगा श्रेष्ठ गौतम (माईली बुहारी), सहदेव चौलागाई (जेठान), मनिष कर्की (पसल प्रतिक सुज), नवराज धिताल (नाताको ज्वाई), देवि मल्ल (आफन्त) र अधिकांश ऋणीहरु रामेछापकै उनका गाउँका छन् । कतिलाई जानकारी नभईकन पनि कुमारले उनिहरुको नागरिकता फोटोकपीका आधारमा ऋण लगानी गरेर आफै खर्च गरेका हुन् । 
    जिल्ला अदालत काभ्रेपलाञ्चोकमा भने अघिल्लो आर्थिक वर्ष ६७ वटा सहकारीका मुद्दा दर्ता भएका थिए । एक आर्थिक वर्षमा कर्जा असुली (लेनदेन) अभियोगमा ५७ थान मुद्दा दर्ता भएका थिए भने चेक अनादरमा १० वटा मुद्दा दर्ता भएका थिए । कर्जा असुलीमा बादी ५४ जना र प्रतिवादी ३ जना छन् भने चेक अनादारमा ७ जना बादी र ३ जना प्रतिवादी छन् । प्रहरीले उजुरीकर्ताहरुसँग सोधपुक्ष गरिरहेको छ भने पक्राउ परेकाहरुसँग बयान लिईरहेको छ ।