अर्थ वाणिज्य

हितको चित्त फाटेपछि बरि लै

खासै चासो पनि थिएन । सबैको हातहातमा मोवाईल हुन्थ्यो । नजाने गाउँको बाटै नसोध्नु भन्ने उखानलाई मैले ख्याल गरेको थिएँ । समयले सबै विर्साउँदो रहेछ । आवश्यक नभएको कुराले पनि सताउँदा मान्छेलाई जीवन प्रति निराशा जगाउँदो रहेछ । परिवेश, समाज, संगतले पनि मान्छेको जीवनमा परिवर्तन आउँदो रहेछ । गर्दिन, हुँदैन भन्दा पनि त्यसले पार्ने प्रभावले उसको जीवनका मोडहरु बदलिँदा रहेछन् । धिक्कार छ, त्यो समय र संगतलाई । कसरी सम्झौं म ? विर्सनै नसक्ने गरी झस्काईरहन्छ मलाई । चसक चसक बनाईरहन्छ छाती । घोचिरहन्छ मन र मुटु । मन बुझाउने, छाती नदुखाउने उपायको खोजी गरिरहेको छु । सकिरहेको छैन । सकौ पनि कसरी ? सबै मान्छेको मुटुमा परेको प्वाल टाल्ने औषधी हुने भए पो ? 
सामान्य परिवारमा जन्मेको ब्यक्ति म । अझ मेरो परिवार दलित । खान लगाउन समस्यै समस्या थियो । बुबा र दाईहरुको पसिना चुहाउँदा पनि राम्रो र मिठो खान धौ धौ थियो । पुख्र्याैंली पेशा छाडेर अन्य ब्यवसाय गर्न कठिन थियो । केहि परिवारको फलाम चुटेकै भरमा हाम्रो जिविका चलेको थियो । थोरै बारी थियो । वर्षातको समयमा केहि डोका मकै हुने गरेको थियो । थोरै तरकारी हुन्थ्यो । हरियो मकै खाने रहर हुन्थ्यो । बुबाले हरियो मकै खाने बेलामा अनेक बाहना बनाएर टार्नु हुन्थ्यो । कुरा के रहेछ भनेको हरियो मकै खायो भने मकै पाकेपछि ढिडो खान समस्या हुने रहेछ । हामी अरुले मकै खाईरहँदा हाम्रो बेला भएको छैन भनेर ढाँटिरहेका हुन्थ्यौं । कहिलेकाँहि साथीहरु दिन्थे तर पनि धित मर्दैन थियो । हाम्रो केहि घरहरुबाट जाने साथीहरुको समस्या उस्तै उस्तै थियो । विद्यालयमा हामीलाई छोएर साथीहरुले खाजा खाँदैन थिए । विद्यालयमा ल्याएको खाजा छुईन्छ भनेर अगाडी लगेर राख्थे । हाफटाईममा हामीलाई नछोई लगेर खान्थे । एउटै बेञ्चमा समेत बस्दैन थिए । हामी मध्येको एउटा साथी अलिक चञ्चले र छिछी र दुरदुर गर्नेहरुलाई सताउँथ्यो । एक दिन साथीहरुले अगाडी राखेको खाजा जानीजानी नदेखे झै गरेर छोईदियो । कक्षामै झगडा भयो । शिक्षकहरुले झगडा गरेको भनेर दुवैलाई गाली गर्नुभयो । तर खाजा छोएकै विषयमा उसले कुटेको विषयमा केहि बोल्नु भएन । 
मलाई सानैदेखि यहि विषयले डेरा जमायो । सोझो थिएँ म । किन हाम्रो रगत फरक छ ? हामीले छोएको पानी नचल्ने ? हामीले छोएको खाजा नचल्ने ? हामीले छुने वित्तिक्कै खाने कुरा अशुद्ध हुने ? को हो हामी ? के छ हामीमा त्यस्तो ? त्यसो हो भने हामीले बनाएका भाँडाकुँडा, हतियारहरु किन प्रयोग गर्ने ? हाम्रो बुबा र दाईहरुले बनाएको भुजुङ्गोमा किन खाना पकाएर खाने ? डाडु पन्यु अहिले पो किन्न पाईने भयो उतिबेला तामा र फलामको बनाउने चलन थियो । ति सबै प्रयोग गर्न हुने । त्यहि प्रयोग गरेर दुनियाँले शुद्ध भोजन गराउन हुने तर हामीलाई छिछि र दुरदुर ? समय जति अगाडी बढ्यो त्यति नै मनमा कुराहरु खेल्न थालेका थिए । दाईहरुले क ख समेत पढ्नु भएन । बुबाहरुले त झन् कसरी पढ्न पाउनु ? मलाई भने परिवारका सदस्यले खाई नखाई गरेर भएपनि विद्यालय पठाउनु भएको थियो । उहाँहरुको मेहनतलाई मैले हेरिरहेको थिएँ । विहान बेलुका म पनि उहाँहरुसँगै आरनमा बसिरहेको हुन्थें । कति मान्छेहरु आउँथे । मेरो चाँडो मेरो चाँडो भनिरहेका हुन्थे । हामी आगोको तातो रापमा केहि पर्वाह नगरी उनिहरुको सेवामा तल्लिन हुन्थ्यौं । हात खुट्टा आगोमा डढेको फलामको टुक्राले छिया छिया हुन्थे । पोल्दा पोल्दै हाम्रो मासु मरिसकेको हुन्थ्यो । अलि अलि मात्रै पोल्यो भने पनि त्यसले चिनेन कि भन्ने हुन्थ्यो । तर पनि अध्ययनलाई मैले छुटाईन् । 
नियमित विद्यालय जाने गरेका थियौं । कहिल्यै प्रथम हुन सकिएन । तर मेरो अध्ययन देखेर सबै छक्क पर्दथे । एक पटक दोश्रो भएँ । कक्षा ७ बाट ८ मा जाँदाको कुरा थियो । ८ बाट ९ मा जाँदा मलाई नियोजित रुपमै चौथो बनाईएछ । एसएलसी दिने बेलामा मैले त्यो इखलाई सम्झिएँ । एसएलसीमा कापी जाँच्ने कुरा निष्पक्ष हुन्छ भन्ने सुनेको थिएँ । नभन्दै विद्यालयकै सबै भन्दा उत्कृष्ट विद्यार्थीका रुपमा म ठहरिएँ । विद्यालयले मलाई उत्कृष्ट भए वापत ५ हजार नगद हात पारें । गाउँकै दलित समुदायबाट एसएलसी पास गर्ने पहिलो ब्यक्ति म भएँ । मलाई बधाईको ओइरो लाग्न थाल्यो । सधै प्रथम हुने ब्यक्ति बल्ल बल्ल दोश्रो डिभिजनमा पास भयो । त्यहि बेला देखि मलाई हेर्ने नजरमा सबैको परिवर्तन आयो । उच्च शिक्षाका लागि काठमाडौ जाने कुरा भयो तर मसँग पैसा थिएन । केहि वर्ष अघि दाई मूर्ति बनाउने काममा काठमाडौ जानु भएको थियो । उहाँले कमाउने दुई चारपैसाले घरमा चाडपर्व धानिरहेको थियो । घरमा आउँदा बुबा आमा दिदी र बहिनीहरुलाई नयाँ नयाँ कपडा एक एक जोर किन्न पुगेकै थियो । कति नै आउँथ्यो र पैसा ? घरमा सल्लाह हुँदा सरकारी क्याम्पसमा अध्ययन गर्ने थोरै पैसा भए पुग्छ । विहान क्याम्पस गएर दिउँसो दाजुसँगै काम पनि सिक्ने । विस्तारै काम गर्दै जाँदा पैसा पनि हुन्छ भन्ने निश्कर्षले म काठमाडौ पुगें । पहिलो पटक थिएन काठमाडौको बसाई । पहिला पनि एक दुई पटक आउने जाने गरेकाले खासै नयाँ भएन । आरआर क्याम्पसमा भर्ना भएँ । विज्ञान पढ्ने हैसियत थिएन । पढ्नुपर्ने त्यहि थियो । गाउँका सबैले विज्ञान विषय लिएर पढ्नु भनेका थिए । कुरो अड्किएको थियो पैसामा । आर्टस्मा मेजर गणित लिएर अध्ययन गर्ने सोच बनाएँ । 
क्याम्पसमा भर्ना भएको केहि दिन नौलो भयो । नियमित कक्षामा जाने साथीहरुको संख्या एकदमै न्युन हुने रहेछ । गाउँ गाउँबाट आएका साथीहरु अनेक कामधन्दा गरिरहने । क्याम्पस थोरै समय जाने । म भने नियमित जाने गरिरहेको थिएँ । साथीहरु पनि मसँग नोट माग्ने र मसँगै सहयोग लिन थाले । एकदुई जना केटी साथीहरु पनि थिए । उनिहरुले मलाई जातका आधारमा भन्दा पनि अध्ययनका आधारमा साथी बनाईरहेका थिए । मैले पनि बोलाउने नाम अर्कै राखेको थिएँ । थरका आधारमा पनि मलाई तल्लो जात भनेर हेप्ने आधार थिएन । थरले सबै झुक्किएका थिए । विहान क्याम्पस गएर आएर दिउँसो दाजुसँग काममा जान थालिसकेको थिएँ । दशंै नजिकिएको थियो । दुबै भाईले कमाएको रकमले हामी दशंैमा आवश्यक पर्ने सामानहरु किनेर घर फर्कियौं । माओवादीको सशस्त्र द्वन्द्वका कारण गाउँ सुनसान थियो । दशै तिहार घरमै आएर मनाउने क्रम घट्दै गएको थियो । गाउँमा युवा देख्यो भने कि माओवादी भईने कि सुराकी । सुराकी सेना र माओवादी दुबैको हुन् । कसै कसैले त मलाई भनेका थिए सेनामा जागिर खान जाउ ? मैले भनें अध्ययन नै ठुलो कुरा हो सकेर भाग्य रहेछ भने जान्छु । त्यहिबाट मेरो भविश्य बनाउने कुरा हुन सक्यो भने सेनामा मर्ने नै भए पनि किन नजाने ? माओवादीले घर घरमा आएर सबै सन्तानहरुको बारेमा जानकारी लिइरहेको थियो । युवाहरु माओवादीमा जानुपर्ने बाध्यकारी नियम लगाएको थियो । त्यसबाट बच्न पनि हामी राति राति घरमा आईपुग्ने र उज्ज्यालो हुँदा दौडिहाल्ने गरेका थियौं । चाडवाड भन्दा परिवारका सदस्यहरुलाई भेटेर खुशी हुने एउटै उद्देश्य थियो । म एसएलसी पास भएको खुशीयाली सँगै बुबाआमामा आशा बढेको थियो । त्यो आशा पुरा गर्न पनि मैले मेहनत गर्नैपर्ने थियो । 
पहिलो वर्षको परीक्षा सकेर दोश्रो वर्ष अध्ययन गर्ने क्रममा क्याम्पसमा अध्ययन गर्ने साथीसँग चिनजान भयो । उनले सधैं नोट लाने गरेकाले राम्रै ब्यवहार गरिरहेकी थिईन् । हुँदा हुँदा उनले मेरै नोटको बीचमा प्रेम पत्र लेखेर पठाएकी रहिछन् । खासै महत्व दिईनँ । किनकी आफु अर्कै जातको थिएँ । कक्षामा खाजा छोएको निहुँमा साथीले कुटाई खाएको मैले विर्सिएको थिईनँ । मान्छेको मन नै लिने कुरामा कसरी निर्णय गरिहालौ ? दुई पटक उनले पत्र पठाएपछि मैले बाध्य भएर उनलाई मनको कुरा लेखेर पठाएँ । आफु सानो जातको उल्लेख गरेर पठाउँदा विश्वास नै गरिनन् । मैले मन देखि नै मन पराएकाले जातको कुरा होइन हुँदा पनि हुँदैन भनिन् । उनकै अनुमतिमा हाम्रो माया शुरु भयो । मलाई विश्वास थिएन कि उनीसँको माया स्थायी हुन्छ । उनी ओखलढुंगाकी थिइन् । श्रेष्ठ थरकी युवतीले मन पराएपछि मेरो मन उद्देलित भईरहेको थियो । केहि दिनमै हामी डेटिङ्ग पनि गयौं । दाईलाई मैले यो सबै कुरा भनिरहेको थिएँ । उसले प्रेम गरिस् भने मसँगकै सम्वन्ध टुटाउने धम्कि दिएको थियो । मन अगाडी बढिसके पछि कसले रोक्ने ? उनीसँगको सम्वन्धले जरा गाड्दै गयो । अन्ततः उनी म बाहेक अरुसँग जीवन विताउन नसक्ने हुन थालिन् । दोश्रो वर्षको परीक्षा दिएर हामीले विवाह गर्ने निर्णय ग¥यौं । उनी सामान्य परिवारको सदस्य भए पनि आर्थिक समस्या थिएन । दाजुहरुको काठमाडौमा पसल थियो । कहिलेकाँहि पसल बस्दा बस्दै उनले केहि हजार रुपैया लुकाउन भ्याउथिन् । मलाई खर्च नभएको बेला समेत उनैले दिने गरेकी थिईन् । 
जब हामी भाग्ने निर्णयमा पुग्यौं । घरबाट दाईले अनुमति दिनुभयो । काठमाडौबाट भागेर केहि समय पोखरा जाने । पोखरामा केहि समय पछि आफै केहि काम गरेर जीवन विताउने भन्ने लक्ष्यका साथ बसपार्कबाट गाडी चडेर कलंकी पुग्दै थियौं । कलंकी पुग्दा नपुग्दै हामी चढेको बस रोकियो । चालकलाई हामीले सोध्यौं किन ? दुई प्रहरी चढे । सरासर हामीलाई नाम सोधे । हामीले हो भन्यौं । छुट्टा छुट्टै प्रहरीको भ्यानमा राखियो । मलाई पछाडी उनलाई अगाडी । हामी हाम्रो निर्णयमा जान लागेको भन्दै थियौं अब के हो देख्छस् भन्दै लात्तै लात्ताले हाने । माओवादी भनेर गोली हानिदेउ भन्दै प्रहरीले बन्दुकको कुन्दाले घोच्यो । अगाडी राखेर उनलाई पनि शरीरका विभिन्न भागमा चिमोट्न थाल्यो । उनी पनि चिच्याईन् । त्यो माओवादी हो । त्यसले तिमीलाई युद्धमा लग्न लागेको रहेछ भन्दै भड्काउन खोजेछन् । उनले उ जे भए पनि मेरो मनले मन पराएको मान्छे हो भनेर भेट्न दिन आग्रह गरिछन् । प्रहरीले मान्दै मानेन । मलाई शुरुमा माओवादी आतंककारीका नाममा कारवाही शुरु गरिएको रहेछ । माओवादी भन्दिएपछि त्यसको प्रमाण केहि चाँहिदैन थियो उतिबेला । तर शरीर बन्धक र अपहरणमा मुद्दा चलाउन खोजिएको रहेछ । केटीका दाजुहरुले मेरो बारेमा बुझेर प्रहरीलाई झुटो विवरण दिएका रहेछन् । हामी दुवै उमेर पुगेका थियौं । आफुखशी विवाह गर्दा समेत कसैले रोक्न सक्दैन थियो । उनको परिवारले मलाई दलित भएकै कारण छोरी लैजान नपाउने भनेका रहेछन् । प्रहरीलाई समेत उनिहरुले ढाँटेर बहिनीलाई अपहरण गरेको उजुरी दिएका रहेछन् । दलित भन्ने थाहा पाएर मलाई झुटो आरोप लगाईएको थियो । उनले समेत पछि प्रहरीलाई त्यहि बयान दिईन् । प्रहरीले मेरो कुरा बुझ्यो तर उनले बुझिनन् । उनकै पैसामा हामी पोखरा जाँदै थियौं । २४ दिन मलाई प्रहरीले थुन्यो । हनुमानढोकामा राखेर यातना दियो । बल्ल बल्ल माओवादी नभएको, अपहरणकारी नभएको तर हाजिर गर्न आउनु पर्ने गरी तारेखमा रिहा भएँ । प्रहरीले मेरो निगरानी भने राखिरह्यो । 
त्यो खबरले मेरो परिवार विक्षिप्त बन्यो । राम्रो अध्ययनका लागि राजधानी गएको छोराको खबर सुनेर बुबा आमा केहि समय बेहोस पनि हुनु भएछ । आईए राम्रोसँग कटाएँ । उनीसँग बदला लिने भन्दा पनि राम्रो गर्ने, जीवनमा कसैलाई प्रेम नगर्ने, विवाह नगर्ने भुत सवार भयो । त्यहि भुत सवारकै कारण विए अध्ययन गरें । दिउँसो नीजि विद्यालयमा अध्यापन गर्न लागें । त्यसको पैसाले मलाई खर्च पुगिरहेको थियो । डिग्री समेत मेजर गणित विषयमै गरें । उनी कुन दुनियाँमा हराईन् थाहा भएन । लोकसेवाको तयारी गरें । सुब्बामा नाम निस्कियो । शुरुमा हुलाकमा काम गरें । पछि मलाई कृषि कार्यालय हुँदै रुकुममा पठाईयो । हाल काभ्रेमा कार्यरत छु । प्रेम शब्द देखि घृणा लागेको छ । केहि महिना अघि उनले मेरो नम्वरमा फोन गरिन् । शुरुमा मैले उनलाई चिन्नै सकिनँ । उनको जीवन तहस नहस भएको रहेछ । मेरो जीवन सम्वृद्ध हुँदै गएको थियो । उनको दया पनि लाग्यो र घृणा पनि । केहि शब्द थिएन उनीसँग । उनी बाध्यतामा थिईन् । उनले आफ्नै जातसँग विवाह गरिन् उनको परिवार खुशी भयो तर उनी खुशी हुन सकिनन् । त्यसकै परिणाम थियो त्यो । २ बच्चाकी आमा समेत भएकी उनी अहिले माईतीमा बस्छिन् । श्रीमानले अर्काे श्रीमती विवाह गरिसकेको छ । जातले जीवनमा पु¥याएको ठुलो आघात थियो त्यो । उनी सम्झाउने कोशिस गर्छिन् । म विर्सने । म जीवनबाट हार खाएर आत्महत्याको मुखमा पुगिसकेको थिएँ । अँध्यारो जीवनको उज्यालोको पाटो हो । त्यसलाई छिचोल्न सक्नुस् तपाई सफल हुनुहुन्छ । 
 
उमाखर घिमीरे
हालः धुलिखेल, काभ्रे

प्रकाशित मिति: 17 May, 2018