शैक्षिक वार्ता

  • रेजालाई भन्दा व्यवहारिक उपलब्धिलाई प्राथमिकतामा राखेका छौं
    17 September, 2015

    श्री जनक उमावि काशीखण्ड नगरपालिका वडा नं ६ भकुण्डेका शिक्षक प्रकाश तिमिल्सिना सँगको भलाकुसारी
    परिचय,बाल्यकाल र शिक्षा - जन्म बि.सं २०३७ सालमा पिता नारायणप्रसाद तिमिल्सिना र माता उमाकुमारी तिमिल्सिनाको कोखबाट मथुरापाटी फूलबारी गाविस वडा नं. ६ बुचाकोटमा भएको हो । प्रारम्भिक शिक्षा अध्ययन गर्दाको समयमा शिक्षक केन्द्रित शिक्षण सिकाइ हुन्थ्यो । मैँले गाउँमै रहेको श्री जनकल्याण माविबाट प्रारम्भिक शिक्षा कक्षा १ देखि ३ सम्म अध्ययन गरेको हुँ । उक्त बिद्यालयमा मेरो बुबा प्रधानाध्यापक हुनुहुन्थ्यो  । हामीले चाहेजस्तो वातावरण थिएन । अहिलेको जस्तो सुविधा सम्पन्न अवस्था थिएन । शिक्षकहरुको कडा निगरानीमा अध्ययन गर्नुपथ्र्यो बसाइ व्यवस्था र शिक्षण क्रियाकलाप पूर्ण रुपमा शिक्षक केन्द्रित थियो । कक्षा ४ पछि संस्थागत बिद्यालय हुँदै एसएलसी श्री जनक उमावि बाट गरेको हुँ । एसएलसी पश्चात प्रवीणता प्रमाणपत्र तह र स्नातक तह चैतन्य क्याम्पस बनेपाबाट गरेको हुँ ।
    शिक्षण पेशामा प्रवेश - शिक्षणको शुरुवात संस्थागत बिद्यालयबाट भएको हो बनेपाको बालबाटिका बाट २०५८ सालमा शिक्षणको शुरुवात गरेको हुँ । बालबाटिकामा ३ बर्ष सेवा गरेपश्चात २०६१ देखि हालसम्म श्री जनक उमावि काशीखण्ड भकुण्डेमा कार्यरत रहेको छु ।
    श्री जनक उमाविलाई गुणस्तरीय भन्ने आधारहरु- यो बिद्यालय काशीखण्ड नगरपालिकामा अवस्थित यस भेगकै पुरानो बिद्यालय हो ।  यो श्रोत केन्द्र बिद्यालय पनि हो । बिद्यालयको भौतिक वातावरण सुन्दर, रमणीय र अध्ययनको लागि उपयुक्त रहेकोछ । बालमैत्री पूर्वाधारहरु रहेकाछन । कक्षा भित्रको गतिशिलता गुणस्तर ल्याउनमा केन्द्रित छ । बिद्यार्थी केन्द्रित बिधिलाई प्राथमिकताका साथ प्रयोगमा ल्याइएको छ । बिद्यालयका सम्पूर्ण सरोकारवालाहरुको ध्यान गुणस्तरमा रहेको छ । शिक्षकको सक्रियता बिद्यार्थीको सिकाइ उपलब्धि बढाउनमा केन्द्रित रहेकोछ । कक्षामा जानुभन्दा अघि पाठयोजना सहित शिक्षक शिक्षक बीच पूर्व तयारी गरेर कक्षामा जाने गरिएकोछ । कक्षामा सामाग्री सहितको शिक्षण सिकाइलाई प्राथमिकतामा राखिएकोछ । बिज्ञान प्रयोगशाला मार्फत बिद्यार्थीहरुले खोज अनुसन्धान गरेर सिक्ने अनुकुल वातावरण रहेको छ । साथै हाल सूचना प्रविधिको युग भएको हुनाले विद्यार्थीहरुलाई कम्प्युटर ल्याबको पनि व्यवस्था गरिएको छ । विद्यालयमा नेटको सुविधा पनि छ । जसले गर्दा विद्यार्थीहरुलाई अडियो भिज्युअलको माध्ययमबाट शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराइदै आइरहेका पनि छौं । विद्यायमा वालमैत्री पुस्तकालय पनि रहेको छ ।  बालबालिकाको सहभागितामा निर्मित स्थानीय सामाग्री लाई शैक्षिक सामाग्रीको रुपमा प्रयोग भएकोछ । बिद्यार्थीहरुले ल्याएको सकरात्मक नतिजा र बिद्यालयको समग्र पक्षलाई हेर्दा बिद्यालय गुणस्तरीय छ भनेर गर्वसाथ भन्न सकिने अवस्था छ ।
    बिद्यालयमा  भएका सकरात्मक अभ्यासहरु - बिद्यार्थीलाई प्रविधि मार्फत सिकाउन जोड दिइएको छ । बिषयगत बिभाग मार्फत जिम्मेवारी बाँडफाँड गरी उपयुक्त व्यवस्थापन गरिएको छ । बिव्यस, शिअसं र अन्य सरोकारवालाहरुको सहभागितामा बेलाबेलामा शैक्षिक योजना निर्माण गरी गुणस्तरका लागि समीक्षा गर्ने गरिएको छ । पाठ्यक्रम र शिक्षक निर्देशिका अनुसार दैनिक पाठयोजनाको आधारमा शिक्षण क्रियाकलापको संचालन भएको, बिद्यार्थीहरुको कार्यबिभाजन तालिका अनुसार जिम्मेवारी दिइने गरिएको, शैक्षिक समाग्रीको प्रयाप्त प्रयोग गरिएको, उपस्थिति तालिका अनुसार बिद्यार्थीको उपस्थितिको रेकर्ड राख्ने गरिएको, सहभागितामूलक क्रियाकलापलाई जोड दिइएको छ । परीक्षा लाई मर्यादित र व्यवस्थित गरिएको छ । हामीले कक्षा खाली हुँदा पनि सहज रुपमा कक्षा संचालन गर्न सकिने गरी कार्ययोजना निर्माण गरेका छौँ जसमा शिक्षक र बिद्यार्थी दुवै संलग्न भएर गरिने अभ्यासहरु राखिएकाछन् । बिद्यार्थीहरुको व्यवहारिक मुल्यांकनको लागि निरन्तर बिद्यार्थी मुल्यांकनको प्रयोग भएकोछ । साना कक्षाहरुमा खेल ,गीत मार्फत रमाएर सिक्न सक्ने बालसुलभ वातावरण रहेको छ ।
    बिद्यार्थीको सिर्जनशिलता वृद्धि गर्न अतिरिक्त क्रियाकलाप - पढाई सँगै बिद्यार्थीहरुको व्यक्तिगत क्षमता प्रस्फुटन गराउन बेलाबेलामा बिद्यार्थीहरुको सहभागितामा बिद्यालयमा खेलकुद, हाजिरी जवाफ, बादविवाद, वक्तृत्वकला, विविध साँस्कृतिक कार्यक्रम जस्ता फरक फरक कार्यक्रमहरु गर्ने गरेका छौ । बिद्यार्थीको अगुवाइमा हुने क्रियाकलापलाई पहिलो प्राथमिकतामा राखिएकोले बालसहभागितामा सिकाइ उपलब्धि बढाउन महत्वपूर्ण भूमिका  रहेको मान्न सकिन्छ ।
    बिद्यार्थी निरन्तरताको लागि आमा तथा अभिभावक भेला- बिद्यालयमा बालबालिकाको निरन्तरता र सिकाइ उपलब्धिलाई लाई अभिवृद्धि गर्न अभिभावक भेला तथा आमाभेला गर्ने गरिएको छ  । बिद्यालयमा बिद्यालय व्यवस्थापन समिति लगायत अभिभावकहरुले बेलाबेलामा अनुगमन गरी बिद्यार्थीको सिकाइ उपलब्धि बढाउन आवश्यक पृष्ठपोषण दिने र सहयोग गर्ने गरिएको छ । पाठ्यक्रमले तोकेको सिकाइ उपलब्धि हासिल गरे नगरेको मापन गर्नको लागि बिद्यालयमा निरन्तर बिद्यार्थी मुल्यांकन पद्धति पनि अपनाइएको छ । सुधारका क्षेत्रहरुमा सहयोगको लागि अभिभावकलाई आग्रह गर्ने गरिएको छ । अभिभावकले बिद्यार्थीलाई घरमा गर्ने सहयोगको लागि आवश्यक सहयोगको लागि आग्रह गर्ने गरिएको छ । रेजाका साथसाथै व्यवहारिक उपलब्धिलाई प्राथमिकतामा राखेकाछौँ ।
    बिद्यार्थीको क्षमता र अभिभावकको चाहना अनुसार शिक्षण बिधिमा बिविधता - बिद्यार्थीको रुचि र क्षमता अनुसार शिक्षण सिकाइ क्रियाकलापमा बिविधता दिएकाछौँ । बिद्यालयमा बिद्यार्थी र अभिभावकको चाहना र शिक्षाको वर्तमान अवस्था बिश्लेषण गरी सोही बमोजिम बिद्यालयमा शिक्षण सिकाइको वातावरण तयार गरेकाछौँ । बिद्यार्थीको क्षमता, बिद्यालयको अवस्था र अभिभावकको चाहना अनुरुप अभिभावकलाई सन्तुष्ट गराउने गरी बिद्यार्थीलाई समय सापेक्ष व्यवहारिक सिकाइमा जोड दिइएको छ ।
    जिल्ला शिक्षा कार्यालयको सहयोग र समन्वय - जिल्ला शिक्षा कार्यालयबाट राम्रो साथ र सहयोग रहेको छ । कुनै शिक्षकलाई शिक्षणको क्रममा कक्षाकोठामा कुनै समस्या आएका त्यस्ता कठिनाइहरुलाई सहज बनाउने उद्देश्यले शिक्षाकार्यालयको सहयोगमा शैक्षिक तालिम केन्द्रले शिक्षकलाई तालिमको व्यवस्था दिने गरेको छ । श्रोतव्यक्तिबाट बेलाबेलमा अनुगमन गरी आवश्यक सल्लाह सुझाव दिने गरिएको छ । बिद्यालयको योजना निर्माण तथा कार्यान्वयनमा जिशिकाको साथ र सहयोग अपेक्षा गरे अनुरुप नै रहेको छ । शिक्षा अधिकारी डा. दिपेन्द्र गुरुङले पनि बेलाबेलामा विद्यालयमै गएर उत्प्रेरित गराउनु भएकोछ । उहाँले शिक्षकले चाहेमा गर्न सक्छन भन्ने अभियान मार्फत पनि उत्प्रेरित गर्नुभएको छ । साथै विद्यालयमा शिक्षण सुधार गर्न विद्यालयलाई आवश्यक पर्ने जस्तो सुकै सहयोग गर्न आफू तयार रहेको बताएर विद्यालयमा निरन्तर सहयोग गरिरहनु भएको छ ।
    बिद्यालयका कठिनाई - बिद्यालयमा अभिभावकहरुको चासो कम भएको हो कि भन्ने लाग्छ । भौतिक पूर्वधार भएपनि बिद्यार्थी अनुकुल बालमैत्री अझ हुन नसकेको हो कि जस्तो लाग्छ । बिद्यालयमा आउँदा बिद्यार्थीले आवश्यक शैक्षिक सामाग्री बिना आउने गर्छन जसले गर्दा अध्ययन अध्यापनमा समस्या हुनगरेकोछ । केहि विद्यार्थी अनुपस्थित भइरहने हुनाले उनीहरुको उपस्थित लाई सतप्रतिशत् बनाउने कार्यमा पनि केहि समस्या देखिएको छ । शैक्षिक सामाग्री ल्याउन नसकेर अनियमित हुने बिद्यार्थीको लागि बिद्यालयले नै उपलब्ध गराएर समाधान गर्ने गरिएको छ ।
    समसामयिक शैक्षिक चुनौती - शिक्षा क्षेत्रमा चुनौतीहरु थुप्रै रहेकाछन । सामुदायिक बिद्यालयमा सरकारको लगानी थुप्रै रहेकोछ तापनि कतिपय विद्यालयमा अपेक्षित नतिजा हासिल हुन सकिरहेको पाईँदैन । शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको पनि आवश्यकता अनुसार क्रियाशिलता हुन सकिरहेको पाइदैन यसलाई चुनौतीको रुपमा लिन सकिन्छ ।
    सिकाइ उपलब्धि बढाउन शैक्षिक सामाग्रीको व्यवहारिक प्रयोग - कक्षामा सामाग्री सहितको शिक्षण सिकाइ हुने गरेको छ । अंग्रेजी, बिज्ञान र कम्प्युटरलाई लक्ष्यित गरी सोही अनुसारको शैक्षिक सामाग्रीलाई व्यवहारिक प्रयोगमा जोड दिइएको छ । बिद्यार्थी निर्मित स्थानीय सामाग्रीहरु पनि कक्षामा पहिलो प्राथमिकतामा पर्छन । जसको उदाहरण विद्यालयमा रहेको विज्ञान प्रयोगशालाबाट पनि विद्यार्थी हरुबाट निर्मित सामाग्रीहरुले पनि प्रष्ट पार्दछ ।  
    अन्त्यमा - हामीले सामुदायिक बिद्यालयमा साँच्चै गुणस्तर ल्याउने हो भने सानै कक्षा देखि सूचना प्रविधीसँग सिक्न सक्ने गरी तयारी र कार्यान्वयन गर्नु जरुरी छ । हामीले लगानी गरेको एकबर्षको बाली बिग्रियो भने हामी कति चिन्तित हुन्छौँ त्यसैले हामीले हाम्रा सन्तानलाई गरेको दशैं वर्ष लगानी र सयौं वर्षको प्रतिफललाई खेर नजाओस भनेर हामीले हरेक पक्षबाट सहकार्य गर्नु पर्छ । त्यसैले हामी सबै संवेदनशील बन्नु अपरिहार्य छ ।
        साथै विद्यार्थीहरुको शिक्षण सिकाई क्रियाकलापमा अपेक्षित उपलब्धी हासिल गराई अब आउने हरेक एसएलसी परीक्षामा सतप्रतिशत नतिजा प्राप्त गर्नका लागि जिशिका र विव्यस अध्यक्ष श्री भरत दाहाल लगायत अन्य सदस्यहरु बासुदेव काफ्ले, रामहरि खनाल, अर्जुनबहादुर कार्की तथा शिअसं का अध्यक्ष रामप्रसाद खनालले जस्तो सुकै सहयोग गरेर भए पनि उक्त लक्ष्यमा पुग्नको लागि विद्यालयमा निरन्तर अनुगमन, मूल्यांकन साथै शिक्षक, अभिभावक तथा बिद्यार्थीसँग वृहत छलफल गरी शिक्षकको आत्मविश्वास बढाउने कार्य गर्नु भएको छ । साथै उक्त लक्ष पूरा गराउन आफू प्रतिवद्ध रहेको प्रअ लक्ष्मण यादवले गर्नुभएको प्रतिवद्धताले पक्कै पनि अब यस श्री जनक उमाविको शैक्षिक गतिविधिमा आमूल परिवर्तन गर्नेछ भन्ने विश्वास गर्न सकिन्छ । साथै हाम्रो सम्पूर्ण ध्यान गुणस्तरमा छ ।