लेख/रचना

  • डा. उपेन्द्र देवकोटा ज्यु ,लाई खुला पत्र !
    09 May, 2018

    श्रद्धेय वरिष्ठ न्युरोसर्जन डाक्टर उपेन्द्र देवकोटा ज्यु ,
    तपाईँको स्वास्थ्य सुधार, दीर्घ जीवनको कामना !
     
    आज म तपाईँको हिजोको विगतका कुरा र आज तपाईँको स्वास्थमा अकल्पनिय तितो यथार्थ दुखको क्षणमा तपाईँको बारेमा मेरो मनमा उब्जिएको मनको कुरा तरङ्गलाई लिएर एउटा खुला पत्र लेख्दैछु । तपाईँको हिजोका मुस्कान रुपी तस्बिर देख्दा कति खुसी लाग्छ । सत्य र यथार्थवादी बिचार बोकेका चिकित्सक भएर देशको सेवा गर्नु पर्दछ । जनतामा जागरुकता ल्याउनु पर्दछ भन्ने सोच भएको डाक्टर साहेब स्वास्थ्य मन्त्री हुँदा आफ्नो समयको बर्वादी भएको संसद्को राजनीतिक समयमा बरु हस्पिटलको अप्रेसन थिएटरमा भई दिएको भए कति बिरामीहरूले स्वास्थ्य लाभ पाई सक्थ्यो भनेर आफ्नो अमूल्य समय स्वास्थ्य क्षेत्रमा समर्पण गर्ने डाक्टर साहेबमा मेरो नमस्कार छ । 
    आराम छु ! आराम चाहन्छु ! ! तपाईँको स्वास्थ्य सुधार र दीर्घ आयुको लागी उनै पशुपति नाथ सँग कामना गर्दछु । म सुन्दै छु तपाईँलाई निको नहुने दुष्मनी रोगले ढाल्दैछ । बेलायतमा उपचार संम्भब नभए पछि अबका दिनहरू आफ्नो परिवार र शुभ चिन्तकहरुका साथ नेपालमा नै मर्छु भनेर फर्कनु भयो रे ! स्वास्थ्य क्षेत्रका सजक सर्जक भएर पनि स्वास्थ्यले साथ दिएन । तपाईँको वेदनामा आम नेपालीहरूलाई पिडा बोध भएको छ । आखिर म तपाईँको नातेदार पनि होइन । तपाईँ सँग भलाकुसारी पनि भएको छैन । तपाईँको स्वास्थ्य उपचार सेवा पाएको व्यक्ति पनि म होइन । मैले तपाईँको योगदान, स्वास्थ्य सेवाको समर्पण सुनेको छु पढेको छु । तपाईँ नेपालको स्वास्थ्य क्षेत्रको धरोहर हो । तर विडम्बना स्वास्थ्य आफ्नो बहसमा हुँदैन । आफ्नो शरीरले आफैलाई माया गर्दैन । तपाईँको स्वास्थ्य अवस्थाले आम नेपालीहरूमा दुख तुल्याएको छ । चिकित्सक स्वास्थ्य विज्ञान असफल भएर पनि आत्मविश्वासले जित्न सक्यो भने लामो जीवन बाँचेको धेरै उदाहरणहरू छन् । नेपालीहरुको अथाह माया ममताले तपाईँ अझै बाँच्नु पर्छ । तपाईँलाई मैले यो कुरा भनी रहनु पर्दैन । तपाईँ अरूको जीवन बचाएर नयाँ जीवन दिने मान्छे ! जिन्दगी के हो ? मानिसको चोला के हो ? हरेक मानिसले आफूलाई नपर्दा सम्म सोच्दैनन् । जिन्दगीको अन्तिम घडीको समय कुर्नु पर्दाको पिडा कस्तो होला ? आज ओषधी विज्ञानले पूर्णबिराम लगाएर तपाईँ जति दिन बाँच्छु नेपालमा रहेर आफ्नै जिन्दगी भोग्छु भनेर फर्कनु भयो । तपाईँ र तपाईँको परिवारलाई खुसी र सुखी बनाउन सकिन्छ भने भगवान् समर्पण र नेपालीहरूको शुभकामना र शुभ आशीर्वाद नै हो । यदि तपाईँ विश्वास गर्नु हुन्छ भने नेपाली प्राकृतिक आयुर्वे्दिक स्वास्थ्य उपचार हुन सक्छ । 
     
    औषधी विज्ञानले मूत्युलाई जित्न सकेमा मानव जीवन कस्तो होला ? पाप र पुण्यको ख्याल नगरी पैसाले बाँच्न सकिने भएमा यो संसारको रीत कस्तो हुने थियो ? जन्मँदै मान्छेले भाग्य र कर्म बोकेर आएका हुन्छन् भन्दछन् । मिति पुगे पछि कसैको केही लाग्दैन भन्छन् । मर्न कसैलाई रहर हुँदैन । मान्छे नमरेको शहर हुँदैन । यो गीतलाई पनि हामीले आत्म साथ गर्नु पर्दछ । हामी सधैँको लागी भनेर जन्मेका हैनौ । खाली हात आएर एक दिन खाली हात जानै पर्दछ । एक दिन ढिलो र चाडै मात्र हो । कति मानिसहरू आफ्नो रोगको पहिचान गर्न नसकेर मरेका छन् । रकमको अभावमा औषधी उपचार गर्न नसकेर लाखौँ मानिसहरू त्यसै मरिरहेका छन् । तपाईँ अरूको जीवन बचाउने मान्छे ! आफ्नो स्वास्थमा भने अनावश्यक विदेशमा स्वास्थ्य उपचार गरी रहनु भन्दा आफ्नै देश फर्कनु भयो । अब कति बाँच्न सकिन्छ भनेर स्वास्थ्य परीक्षण चिकिस्सा प्रणाली बाट मात्र थाहा पाउन्छौ । तपाईँ स्वास्थ्य क्षेत्रमा नेपालको वरिष्ठ डाक्टर भएर पनि आफ्नो रोगमा धेरै ढिला भई सकेको अब केही गर्न नसकिने अवस्थामा आई सक्नु भयो । अबको बाँकी दिन भनेको आफ्नो जीवनको ब्याजको दिन हो ! बोनसको दिन हो । त्यसैले त्यो दिनहरू पक्कै तपाईँको आफ्नो दिन हुने छैन । अब डराएर पनि साध्य छैन । निराश हुनु पर्ने अवस्था छैन । खुसीले बाँच्ने प्रयत्न गरौँ ! कुनै दिन आश्चर्यको चमत्कारको खुसीयालीको दिन भएर आउने छ भनेर कामना गरौँ ! आफू स्वास्थ्य क्षेत्रमा फर्कन नसके पनि आफ्नो भोगाई जीवन जिन्दगीको बारेका आत्मकथा लेख्नु पर्छ । अरूलाई जीवन दिनेले आफ्नो जिन्दगीको साहसताको कथा लेख्नु पर्छ । खरो बोली धृढ विश्वासमा अरूलाई जिउन प्रेरणा दिने , बचाउन सक्ने मान्छे ! तपाईँले देश र जनताको लागी आफ्नो अमूल्य जीवन भोगाइको आत्मकथा किताब लेख्नु पर्दछ । आत्म बिश्वासी व्यक्ति निडर भएर भगवान् सँग पनि लड्न सक्नु पर्छ । मान्छे कति बाँच्यो त्यो ठुलो कुरा होइन ! उसले बाँचेर अरूका लागी के गर्न सक्यो त्यो ठुलो कुरा हो । यो दुनियाँले उसलाई सम्झने भनेको उसको योगदान हो । त्यसैले एक युग मरे पनि इतिहासमा उ कयौँ युग बाँचिरहेको हुन्छ ।
     
     
    मुत्यु देखि टाढा भाग्नु कायर हुँदैनन् रे !
    रोग सँग लड्नु तिमी थाक्नु हुँदैनन् रे !
    जोस जाँगर आत्म विश्वास सबै तिम्रा लागी !
    दैव पनि निहुरिनु पर्छ, तिमी अझै बाँच्नु पर्छ !
     
    जयदेश श्रेष्ठ
    बनेपा न.पा. १૪
    साँगा