लेख/रचना

  • सहकारीमा महिला सहभागिता र यसको अर्थ
    25 April, 2018

    नेपालभर ३४,२६७ प्रारम्भिक सहकारी रहेका छन् । सहकारीका  विकासका लागि संस्थाको परिकल्पना, ध्येय तथा उद्देश्यहरु किटान गरिएको हुनुपर्दछ । संस्थामा आन्तरिक रुपमा तयार गरिएको रणनीतिक योजनाहरु व्यवसायिक रुपमा लागु गर्ने तर्फ सबैले ध्यान दिनुपर्दछ । नेतृत्वमा रहेका सम्पूर्ण सहकारीकर्मीहरुले नयाँ नयाँ बिषय खोजी गर्दै प्रभावकारी रुपमा सेवा विस्तार गरी समन्वयको भूमिका सँगै सहकारीको विकासमा लाग्नुपर्ने जरुरी छ । 
    सहभागिता 
    देशको आधा हिस्सा ओगटेका महिलाहरुको सहभागिता सहकारी क्षेत्रमा सन्तोषजनक रुपमा देखिएको छ । सहकारी संस्थाहरुमा महिलाहरुको भौतिक उपस्थिती मात्र भएर पुग्दैन आन्तरिक रुपमा क्षमता सहितको उपस्थिती पनि उत्तिकै महत्व रहेको हुनु पर्दछ । ३३ प्रतिशत महिलाहरुलाई संख्यात्मक रुपमा उपस्थिती गराएर सहभागितामा उपलब्धिको रुपमा स्विकार गर्ने प्रचलनलाई अन्त्य गर्नुपर्दछ । भौतिक रुपमा महिलाहरुको सहकारीमा सहभागिता, निर्णय गर्ने तहमा सहभागिता, कार्यान्वयन गर्ने तहमा सहभागिता, मूल्यांकन सहित अनुगमन, नियमन, नीति नियम निर्माणमा महिलाहरुको सहभागिता कस्तो छ ? कुन तहमा कस्तो खालका सहभागिता महिलाहरुले पाएका छन् ? जस्ता बिषयमा सिंगो सहकारीको अभियानलाई नियाल्दै विश्लेषण गर्ने हो भने यो अलि गम्भिर रुपमा बिचार गर्नुपर्ने पक्ष भित्र देखिन्छ । 
    तथ्यांकमा महिला सहभागिता
    देशमा रहेका सहकारी संस्थाहरु मध्ये अहिलेसम्मको अवस्थामा ४०४१ वटा सहकारीहरु महिलाहरु आफैले सञ्चालन तथा नेतृत्व गर्दै आइरहेको अवस्था छ । सहकारीहरुमा कूल सदस्य संख्या ७२,०७,४८५ रहेकोमा जसको ४९.७७ प्रतिशत वा ३५,८७,२६० महिला सदस्यहरु रहेको अवस्था देखिन्छ । ३४,२६७ वटा सहकारी संस्थाहरुमा कुल सञ्चालक २,३७,६०७ मध्ये ८९,४३३ महिला सञ्चालकहरु रहेको अवस्था छ । उल्लेखित सहकारीहरुमा कर्मचारीहरुका स्थानमा समेत ६७,७९९ मध्ये ३६ हजार वा ५३.२६ प्रतिशत महिला कर्मचारीहरु रहेको तथ्यांकमा देखिएको छ । देशमा कूल महिलाहरु मध्ये ५४ प्रतिशत महिलाहरु श्रममा आधारित कार्यहरुमा संलग्न रहेको तथ्यांंकले देखाएको छ भने निजामति सेवामा समेत ज्यादै न्यून वा १७ प्रतिशत मात्र देखिएको छ । 
    माथिको उल्लेखित तथ्यांकको आधारमा महिलाहरुको सहकारी संस्थामा सहभागिता सन्तोषजनक रुपमा देखिए पनि यसको भित्रि अवस्थाका बारेमा प्रत्येक जिल्लामा रहेका सरोकारवाला निकायहरुले विश्लेषण गर्नुपर्ने देखिन्छ । किनभने समग्र सहकारी आन्दोलनमा महिलाहरुको भौतिक रुपमा उपस्थिती देखिए पनि त्यहाँ भित्र रहेका अन्य सहभागिताका पक्ष तुलनात्मक रुपमा कमजोर वा बलियो के अवस्था छ भन्ने केलाउनु अपरिहार्य हुन्छ । हुनत यसरी तथ्यांकमा देखिएको सन्तोषजनक सहभागिताले बिभिन्न नतिजाहरुको विश्लेषण गर्न सकिन्छ जस्तै औपचारिक रुपमा आर्थिक क्षेत्रमा महिलाहरुको पहुँच बृद्धि भएको, महिलाहरुको पहिचान दिलाउन सफल बनाएको, महिलाहरुलाई उद्यमशिलता तर्फ अगाडी बढाउन सहयोगी बनाएको तथा क्षमता विकासमा सहयोग गर्दै आत्मविस्वासी बनाउने जस्ता कुराहरु सफल रुपमा लिन सकिन्छ । यस्ता बिषय अनुमानका भरमा भएका वा गरिएका खण्डमा वास्तवमा नै यसलाई नियाल्दै सहि र यथार्थपरक रुपमा विश्लेषण गर्नका लागि राष्ट्रिय रुपबाट नै जिल्लामा रहेका जिल्ला सहकारी संघलाई जिम्मेवारी सहित योजना मै अगाडी बढाउन सकिन्छ । 
    जहाँ आर्थिक अवस्थामा महिलाहरुको स्वामित्व रहन्छ वा सक्षम हुन्छन त्यहाँ घरेलु हिंसा कम र सामाजिक हैसियत समेत मजबुद हुदै घरेलु हिंसा कम हुन जान्छ । त्यसैले पनि सहकारीमा सम्मानजनक रुपमा महिलाहरुको उपस्थिती अपरिहार्य हुन्छ । घर, व्यवहार, तिरो तारो, इष्टमित्र, कूल कुटुम्ब, नातागोता, तिथी, चाडपर्व, आदिमा महिलाहरुले घरमै बसेर सबै खालका कार्यहरुमा सहजिकरण गर्नुपर्ने दायित्व काँधमा आइपर्ने कारण पनि आर्थिक सहभागितामा उनीहरुको जिम्मेवारीहरु बढी नै हुन्छन् । बिभिन्न कार्यहरु गर्दै मितब्ययी ढंगले खर्चको व्यवस्थापन गर्न महिलाहरु सिपालु समेत हुनेहुँदा पनि यसको चाँजोपाँजो मिलाउनुपर्ने दायित्व रहेका कारण पनि आर्थिक जिम्मेवारीमा महिलालाई सहकारी प्रति उत्तरदायि बनाउनुपर्दछ । त्यसैले संख्यात्मक रुपमा जे जति सहकारीमा महिलाहरुको सहभागिता देखिएपनि यसको गुणस्तरीयतामा बृद्धि गर्दै अझ बढी सशक्त ढंगले आवद्ध गराउनु सबै पक्षको दायित्व हुन आउँछ । हाम्रा आसपासमा देखिएका जे जति सहकारी वा महिलाद्धारा सञ्चालित सहकारीहरु छन् यी सबैले आन्तरिक रुपले विश्लेषण गर्ने हो भने पनि ऋण वा बचतको कारोवार गर्ने बिषयमा पुरुष भन्दा बढी महिलाहरुले सहकारीमा समय सिमा तथा अवधिहरुलाई ख्याल गर्दै संस्थाको साख जोगाउन आर्थिक कारोवार समयमै गर्ने गरेको पाइएको छ । यसैले पनि महिला सहकारीहरु वा सदस्यहरु सहकारीका खम्बा नै हुन भन्न सकिन्छ ।
    सहकारीहरु सामाजिक संस्था नै हुन यसलाई राम्रो तरिकाले सञ्चालन गर्नका लागि केहि गर्नु पर्दैन मात्र म शेयर सदस्यहरुको हितमा काम गर्दछु भन्ने मन देखि नै प्रण गरे पुग्दछ । यसो गरेमा सहकारी संस्थाहरु सहकारीका मूल मर्म अनुसार निश्चित रुपमा चल्दछन् । 
    सहकारीमा महिला सहभागिता चूनौतीहरु
    वास्तवमै सहकारी संस्थाहरु सञ्चालन गर्नका लागि त्यती सजिलो भने पक्कै छैन अझ बिषेश गरी ग्रामीण समुदायमा रहेका महिलाहरुलाई त झन असहज हुने गरेको पाइन्छ । स्थानीय स्तरमा रहेका सामाजिक विभेदहरुका कारण पनि यसलाई सञ्चालन गर्नका लागि निकै कसरत गर्नुपर्ने अवस्था छ । समाजमा रहेको महिला र पुरुष बीचको भेदभाव, चुला चम्काका जिम्मेवारी, मनमा लागेका बिषय खुल्ला रुपमा राख्न असहजता आदि जस्ता बिषयले गर्दा पनि क्षमता भइकन पनि खुम्चिनु पर्ने बाध्यता रहेको छ । महिलाहरुलाई स्रोत र साधन माथिको पहुँचमा खुम्च्याएका कारण र आर्थिक पक्षमा पुरुषहरुको पहुँचको अवस्था भएका कारण पनि चाहेर पनि सहकारीका कार्यहरु सजिलै गर्न कठिनाई आउने कारण बन्न सक्छ । समाजमा महिला प्रतिको हेराई तथा सबै महिलाहरु एक आपसमा संगठीत हुन नसक्नु पनि अर्को चुनौतीको रुपमा देखिएको छ । सबै महिलाहरु सहकारी प्रतिको बुझाईलाई एकरुपता हुन नसक्दा र हामी केहि गर्न सक्छौं भन्ने आत्मविस्वासका कारण र सहकारी सम्वन्धि बिभिन्न खालका शिक्षाहरु नपाएका कारण क्षमतामा हस आएको छ । खेतीपाती, चुलोचम्का,घर परिवार,राखनधरन बालबच्चाको रेखदेख आदिका कारण पनि भने जती सहकारीहरु समुदायस्तरमा फस्टाउन सकेका छैनन् । 
     रणनिितहरु
    सहकारीमा साँच्चै अर्थपूर्ण रुपमा सहभागिता बृद्धि गर्ने हो भने सहकारी संस्थामा आवद्ध रहेका महिलाहरु सञ्चालकका रुपमा वा शेयर सदस्यका रुपमा भएपनि उनीहरुलाई क्षमता विकासमा अर्थपूर्ण रुपमा सहभागिता उपर्यूक्त वातावरण बनाउनु जरुरी छ । हाल जे जति अवस्थामा सहकारीका जिल्ला तहमा नेतृत्वमा महिला संख्या रहेको छ जसमा समेत सुधार ल्याउनका लागि नीतिगत रुपमा व्यवस्था गर्दै अगाडी बढनुको विकल्प पनि छैन । सञ्चालक समितिमा सदस्यको रुपमा भइरहेका महिलाको अवस्थालाई पदाधिकारीहरुमा सुनिश्चितता गर्ने जस्ता बिषय पनि छन् यसका लागि स्वयम महिलाहरु समेत पदाधिकारीमा सहभागि भइ सहकारी सञ्चालनमा आउने हिम्मत समेत गर्नुपर्दछ । क्षमता अभिबृद्धिसँगै सबै खालका सहकारी संस्थाहरुमा महिलाका उप समिति बनाइ बिभिन्न क्षेत्रमा महिलाका बिषयमा सशक्त रुपमा क्रियशिलता समेत हुने वातावरण समेत बनाउनु पर्दछ । स्थानीय तहमा समेत सहकारीको महत्व समेतलाई अंगिकार गर्दै यसका बिषयमा योजनाहरु मार्फत कार्यान्वयन तथा सहभागिताको सुनिश्चितता गर्ने आधार तयार गर्नुपर्दछ । महिला नेतृत्वका लागि सहकारी प्रभाकारी शिक्षा, तालिम, अन्र्तक्रिया तथा सो कार्यका लागि सहकारी तथा स्थानीय तह र नेपाल सरकारबाट समेत बजेट समेतको व्यवस्था गर्दै जाने हो भने सहकारीमा महिला सहभागिता बृद्धि हुनगई क्षमता विकास समेत हुनेछ ।