लेख/रचना

  • यूवा पुस्ताहरुको ढुकढुकी बन्नुपर्छ सहकारी
    12 April, 2018

    नेपालमा सहकारी अभियान महत्वपूर्ण पाटोको रुपमा फस्टाउँदै गइरहेको छ । राष्ट्रिय यूवा नीति २०७२ अनुसार नेपालमा १६ बर्ष देखि ४० बर्ष उमेर समुहका ब्यक्तिहरुलाई यूवा मानिएको छ । गुणात्मक र संख्यात्मक  दृष्टिकोणबाट यूवाहरुलाई देशको मेरुदण्ड मानिएको अवस्थामा हाम्रा गाउँ बस्तिमा ४० बर्ष भन्दा कम उमेर पुगेका यूवाहरु पाउन मुस्किल छ । नेपालमा कूल जनसंख्याको ४०.३ प्रतिशत यूवाहरुको जनसंख्या रहेकोमा महिला ५४.५ र पुरुष ४५.५ प्रतिशत रहेका छन् भने कूल यूवाहरुमा १४ प्रतिशत रोजगारी र शिक्षा आर्जन गर्नका लागि देशकै ठूलो हिस्सा (युवाहरु) आफ्नो दिनचर्या गर्न वा परिवार पाल्नकै लागि बिदेश पलायन हुुनुपर्ने बाध्यता पनि छ । अध्ययन गर्दा गर्दै देशमा रोजगारी अवसर नपाउने सम्भावना बढ्दै गएको आभाष भएपछि बीचैमा पढाइ छोड्दै बिदेसिनु पर्ने बाध्यताको महसुश गर्न थालेका छन् । उत्पादनशिल जग्गा जमिनहरु बाँझै छन् यो अवस्था गम्भिर पनि हो यो भयावह स्थिती रोक्नका लागि कसले पहल गर्ने भन्ने चिन्ता सबैतिर छ । देशको संवैधानिक व्यवस्था अनुसार राज्य, नीजि क्षेत्र तथा सहकारीले यस खालका समस्याहरुलाई निराकरण गदै अगाडी बढ्दै जानुको विकल्प पनि नहोला । 
    आधुनिक यूगमा उच्च प्रविधिहरु सँगै सहकारीमा यूवाहरुको उपस्थिती बढ्दै जानुको विकल्प पनि छैन । देशमा रहेका ऊर्जावान यूवाहरुको अझ बढी सहभागिता सहकारी क्षेत्रमा भएको खण्डमा सहकारी क्षेत्रले छिट्टै प्रगती गर्ने कुरामा दुइमत पनि छैन । देशमा दिनप्रतिदिन बजारको गति तीब्र भइरहेको परिप्रेक्ष्यमा यसलाई सन्तुलनमा ल्याउन वा प्रतिष्पर्धात्मक रुपमा अगाडी बढाउन यूवाहरुको नै संलग्नतामा सक्रिय सहभागिता बढाउन जरुरी भएको छ । सहकारी संघ÷संस्थाहरुले पनि आजको यो सहकारीको प्रतिष्पर्धात्मक यूगमा पुरानै ढंगले संस्था सञ्चालनमा मात्र ध्यान नदिई बिभिन्न खालका सूचना तथा प्रविधिसँगै आफ्ना कार्य क्षेत्र भित्र रहेका यूवाहरुलाई रोजगारी, आयआर्जन सहित सबल अनि समृद्ध सहकारीको विकास सँगै देश निर्माण गर्ने अभियानमा जुटाउन पछि पर्नु हुदैन । बिगत लामो समय देखि सहकारीमा आफ्ना अनुभव संगालीरहेका सहकारीकर्मीहरुको योगदानलाई उच्च मूल्यांकन गर्दै नयाँ परिस्थिती अनुकुल हुनेगरी सहकारी संस्था सञ्चालन गर्न सकेमा सहकारी उच्च रुपमा अगाडी बढ्नेछ । 
    देश नयाँ संरचनामा प्रवेश गरेको छ । यहाँ हरेक यूवाहरुमा केहि आशा अनि भरोसाका टुसा पलाएका छन् । यूवाका यस्ता आशा तथा भरोसालाई ठेस पुग्ने खालका कार्य कहि र कतैबाट समेत गर्न हुदैन । अझ नयाँ संरचना अनुसार स्थानीय तहहरुमा सहकारीका दर्ता, अनुगमन, नियमन, तथा खारेजीका कानून समेत निर्माण हुदै गरेको वा जिम्मेवारी समेत रहेको हुनाले स्थानीय तहले सहकारीको प्रवद्र्धनमा यूवाको भूमिकाको सुनिश्चितता गर्दै बिभिन्न खालका कार्यक्रमहरु अगाडी बढाउनु जरुरी हुन्छ । बर्षौ देखि चल्दै आएका सहकारीहरुलाई सुद्धिकरण गर्दै नयाँ पहल र उच्च सम्मानका साथ कदर गर्दै सहकारीमा यूवा बर्गलाई समावेश गर्न सकेको खण्डमा सहकारीले नतिजा चाडै ल्याउनेछ भन्ने बिस्वास गर्न सकिन्छ । त्यसैले स्थानीय निकायमा रहेका यूवाहरुलाई सहकारी सम्वन्धि अभिमूखिकरण कार्यक्रमहरु सञ्चालनमा ल्याई यसको विकास र सम्बद्र्धनका लागि स्थानीय स्तरका योजनामा नै समावेश गरी क्षमता विकास सम्वन्धि कार्यक्रमहरु समेत अगाडी बढाउँदै लग्नु उचित हुन्छ । हुनत देशमा भएका यूवाहरु मध्ये ५० प्रतिशत यूवाहरु सहकारी संस्थामा आवद्ध छन् भन्ने तथ्यांकले देखाउँछ तर यूवाहरुले स्वतन्त्र रुपले काम गर्न पाउने अवसर सिर्जना गर्नु राज्यको जिम्मेवारी पनि हो यस्तो अवस्था सिर्जना भएमा राज्यको एक खम्बाको रुपमा स्विकार गरिएको सहकारीको माध्यमबाट गाउँ गाउँमा आर्थिक समृद्धिको अभियानलाई साकार पार्न सकिन्छ । 
    हामीले सहकारी क्षेत्रका दायराहरुलाई पनि फराकिलो ढंगले अगाडी बढाउन सबै सरोकारवालाहरुसँग छलफल र संवाद गर्न आवश्यक भइसकेको छ । यसका लागि शारिरीक तथा मानसिक रुपले तयार भएका यूवाहरुलाई नै यस क्षेत्रको पूर्ण जिम्मेवारी दिनु उचित हुन्छ । सिर्जनशिल कार्य गर्न यूवा पंक्ति बढी सचेत पनि हुन्छ र पारदर्शिता कायम गर्दै नीतिगत सुधार गर्न, ऐन कानून, निति नियमहरुको व्यवस्थापन गर्ने कार्य यूवाको काँधमा दिन कन्जुस्याँई गर्नुहुन्न । सहकारीको अभियान देशभरी नै दिन प्रतिदिन बढ्दै गइरहेको अवस्थामा यसले स्थानीयस्तरमा बिभिन्न क्षेत्रले गर्दै आइरहेको कार्यहरुसँग सहकारीले प्रतिष्पर्धा समेत गर्नुपर्दछ जसका लागि पनि यूवा परिचालन र कार्यान्वयको तह सम्म लग्न सजिलो हुन्छ र परिणाम हात पार्न समेत सकिन्छ । 
    हाल सञ्चालनमा रहेका बिभिन्न प्रकृतिका सहकारी संस्थाहरुका आफ्नै कार्य क्षेत्र तथा बिषेशता रहेका छन् । ग्रामीण समुदायमा रहेका सहकारी संस्थाहरुले आर्थिक कारोवार सँगसँगै प्रत्यक्ष किसानहरुसँग सरोकार राख्ने कृषि, मल, वीउ विजन लगायत उत्पादनका क्षेत्रमा कार्य गरिरहेका पनि छन् । सहकारीको क्षेत्र पनि फराकिलो बन्दै आफ्ना शेयर सदस्य तथा स्थानीय समुदायमा सहकारीकर्मीहरु माझ आफ्नो स्थितीलाई सार्थक बनाई रहेको सन्दर्भमा कृषिमा आधुनिकीकरण, ज्ञान तथा क्षमता सहित बजार र बजारिकिकरण लगायतका बिषयमा प्रभावकारीता ल्याउनका लागि गाउँ छर छिमेकमा रहेका यूवाहरुलाई आकर्षित गर्नुको विकल्प समेत छैन । हुनत बढ्दो सहकारी संस्थाहरुको सञ्चालन र प्रतिष्पर्धाका कारण धेरै जसो सहकारी संस्थाहरुमा यूवाहरुको सहभागिता देखिन्छ तर जे जति अवस्थामा यसको प्रभावकारीता देखिनुपर्ने हो त्यो भने न्यून देखिएको हो कि भन्ने लाग्नु स्वभाविक नै हो ।  
    राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा स्थापना भइ सञ्चालनमा आइरहेका सहकारीहरुका बारेमा र त्यहाँ भएका गतिविधिहरुका बारेमा आज भोलि क्षणभरमा नै समाचारहरु सम्प्रेषण भइरहेका पाईन्छन् । यस्ता खालका बिषयहरु हाम्रा सहकारीहरुका लागि मार्गदर्शन समेत हुन्छन् । बढ्दो सहकारी संघ÷संस्था दर्ता तथा सञ्चालन र त्यसको अवस्थाका बारेमा र उक्त स्थानमा भएका सकारात्मक बिषयको अनुशरण गर्नका लागि र भोलिका लागि कस्तो कसरी सहकारीका बिषयहरुलाई सैद्धान्तिक रुपमा र व्यवहारिक रुपमा अगाडी बढाउने र गुणात्मक रुपमा सहकारीलाइ कसरी व्यवस्थित गर्ने भन्ने बिषयलाई सार्थक बनाउने भन्ने ज्ञान यूवाहरुमा नै भएको पाईन्छ यी बिषयहरुलाई केन्द्रित गर्नका लागि यूवाहरुको सक्रिय सहभागिता, जोश जाँगर तथा हिम्मतलाई स्थापित गर्न सहकारी संघ÷संस्थाहरुले यूवाहरुलाई सहकारीमा समेट्नु पर्दछ र यूवाहरुले पनि आफ्नो कार्य क्षेत्रमा रहेको सहकारी संस्थाहरुलाई व्यवस्थित र स्थापित गर्नका लागि सहकारीलाई मुटुको ढुकढुकी मानेर अगाडी बढ्नु पर्दछ ।