लेख/रचना

  • विपत व्यवस्थापनमा सहकारीको भूमिका
    24 August, 2017

    – जयराम सिग्देल
    देशको उर्वर भूमि भनेर हामीले गर्व गर्ने तराई क्षेत्र अहिले बाढीको मारमा छ । यतिमात्र होईन तराई क्षेत्रमा बसोबास गर्ने हाम्रा दाजुभाई दिदीबहिनीहरु जीवन मरणको दोधारमा छन् । बाढी र भेलका कारण कतिले ज्यान गुमाईसकेका छन् भने कति बेपत्ता छन् । पछिल्लो तथ्यांक अनुसार ३४ हजार घर डुवानमा परेका छन् । सरकारले यो बेला एकद्धार प्रणाली मार्फत राहत वितरण गर्ने भनिरहेको छ । 
    देशको कृषि उत्पादनमा अत्यन्तै ठूलो भूमिका खेल्ने तराई क्षेत्र यसरी प्रभावित भईरहँदा हरेक पक्षले आफ्नो क्षेत्रबाट राहत संकलन गरि शिघ्र प्रभावित क्षेत्रमा पुग्नु जरुरी छ । अझ भन्ने हो भने सहकारीको माध्यमबाट यो कार्य गर्ने हो भने छिटो प्रभावितसम्म पुग्न सकिन्छ । देशभर रहेका करिब ३४ हजार सहकारीमा कारोवार गर्ने औषधी पसल, लत्ताकपडा उत्पादक, वितरक, शुद्ध पिउने पानी उत्पादक, वितरक, चाउचाउ बिस्कुट लगायत तुरुन्त खान मिल्ने खाद्य पदार्थ उत्पादक, वितरक, ढुवानी कर्ता, सहकारी संस्थामा काम गर्ने कर्मचारीहरुलाई एकसाथ परिचालन गर्ने हो भने यो विपतका बेला पीडितसम्म पुग्ने पहिलो खुड्किलो र गलितो माध्यम पनि हो र छ पनि । 
    पछिल्लो तथ्यांक हेर्दा सहकारी संघ÷संस्थामा संचालकको भूमिकामा रहनेहरुको संख्या २ लाख ३२ हजारको हाराहारीमा छ । सहकारी अभियानमा ६७ लाख ५४ हजार जनसंख्या आवद्ध छ । यो प्राकृतिक विपतको समयमा सहकारी संस्थाहरुले हाम्रा यति सदस्य छन,् हामी यसरी कारोवार गरिरहेका छौं, हाम्रो कारोवार यति पुग्यो भन्ने पाटो त एकातिर छँदैछ यो बेला त्यही कारोबारको थोरै अंश छुट्याए छिटो भन्दा छिटो राहत वितरण हुने देखिन्छ । बजारसम्म प्रत्यक्ष सम्बन्ध भएका वित्तिय कारोवार गर्ने संस्थाहरुमध्ये सहकारी पहिलो नम्बर आउँछ नै । बजारसँग प्रत्यक्ष सम्बन्ध भएको र सबैखाले व्यक्ति, संघ, कम्पनी र संस्थाहरु सम्बन्ध जोडिएको हुँदा यस्ता प्राकृतिक विपत्तिका बेला सहकारीहरुले एकिकृत भएर सहकार्य गर्नु पहिलो आवश्यकता हुन आउँछ । 
    सहकारी आन्दोलनको मुख्य नाराभित्र पनि सहकारी संस्थामा कारोवार गर्ने बचत गर्ने सदस्यहरुको आर्थिक र सामाजिक जीवनमा सुधार ल्याउनु नै रहेको हुन्छ । विपत्तिमा पर्ने सहकारी संस्थाको सदस्य हुन पनि सक्छ भने गैर सदस्य पनि हुन सक्छ, तर सामाजिक उत्तरदायित्व पहिलो नम्बर पर्ने सहकारीको सिद्धान्त अनुरुप यस्ता विपतमा काम गर्न सके सहकारी सबैको रोजाई पर्ने साझा संस्था हुनेछ । 
    बचत तथा ऋण, बहुउद्देश्यीय, कृषि, दुग्ध, उपभोक्ता, विद्युत, तरकारी तथा फलफूल, चिया, कफि, जडिबुटी, स्वास्थ्य लगायतका विषयगत संघहरु मार्फत राहत संकलन तथा वितरणमा जाने हो भने यो जटिल विषय होईन । जो सँग जे उपलब्ध छ, त्यो कुरा केन्द्रीकृत गरि सहकारी मार्फत नै एकद्धार प्रणाली बनाई लागू गर्न सके बाढी पहिरो, भुकम्प, हुरी बतास, महामारी जस्ता विपतमा पनि सहज तबरले काम गर्न सकिन्छ । यस्तो समयमा सहकारीले आफुलाई अब्बल गर्न सकेमात्र पनि सहकारीप्रति देखिएका नकारात्मक अवधारणाहरुलाई न्यूनिकरण गर्न सकिन्छ । समयले सबैलाई प्रविधिमैत्री बनाएको छ, यो सँगै ‘फाष्ट ट्र्याक’ काम गर्न सकेमात्रै अघिल्लो पंक्तिमा देखिने नत्र पछि परिने अवस्था छ । यो समयमा आफुलाई अग्रणी रुपमा प्रस्तुत गर्न पनि सहकारीले भूमिका खेल्नुपर्छ । ‘पैसा खाएर भाग्ने’ ट्याग सहकारीमा अझै पनि छ, यस्ताखाले भ्रमहरुलाई चिर्न पनि सहकारी संघ र विषयगत संघहरुले सक्रिय भूमिका खेल्नु पर्ने देखिन्छ । अब पनि संघहरुले हामीले राज्यलाई यति योगदान दियौं, लाखौं हाम्रा सदस्य छन्, अर्बौंको कारोवार छ भन्ने मात्र हो भने सामाजिक स्तरमा अगाडि बढ्न सक्दैन । बचत संकलन त गर्न सकिएला तर अत्यन्तै अप्ठ्यारो परिस्थितीमा सहारा सहकारी बन्न सक्ने गरि सहकारीहरुलाई एक ठाउँमा उभ्याउनु अहिलेको पहिलो दायित्व हो । 
    यसको मतलब सहकारीले सामाजिक काम नै गरेनन् भन्ने चाहिँ फिटिक्कै होईन । जुन तबरले काम भईरहेका छन्, सराहनिय छन् । तर समुहगत कार्यका लागि प्रभावकारी काम गर्नका लागि नयाँ योजनासहित कार्यान्वयनमा आउनुपर्छ । समयक्रमसँगै काम गर्ने तरिका र सबैलाई समेट्दै काम गर्न सके त्यसको नतिजा पनि उत्कृष्ट आउनेमा शंका छैन । सहकारीहरुले नियमित गर्दै आएको कामसँगै सहकारी शिक्षा र काम गर्ने तरिका पनि सहजता ल्याउनु जरुरी छ । विश्वप्रसिद्ध पुस्तक ‘जीत तपाईंको’ मा शिव खेराले लेखेका छन्–‘जित्नेहरु फरक काम गर्दैनन्, त्यही कामलाई फरक तरिकाले गर्छन् ।’ यही भनाईलाई आत्मसात गर्दै ३४ हजारको हाराहारीमा रहेका सहकारी संस्थाका संचालक, लेखा समिति, विभिन्न उप समितिहरु, सदस्य तथा कर्मचारीहरुलाई परिचालन गर्न सके ठूला देखिने काम पनि सहज तरिकाबाट सम्पन्न गर्न सकिन्छ, यसका लागि परिचालन गर्न सक्ने नेतृत्वको खाँचो मात्र हो । 
    यसरी ३४ हजारको उदाहरण दिँदै रहँदा सबै सहकारी एकै किसिमका नहुन पनि सक्छन्, तर आफ्नो दक्षता र संस्थाको अवस्था अनुसार सबैले योगदान दिन सक्छन् । यसरी सबैलाई एकत्रित गर्नका लागि नियमित दस्तुर संकलन गर्न पनि सकिन्छ । ताकी यस्ताखाले विपत्तिमा तुरुन्तै संकलन गर्न थाल्नुको साटो ‘रिजर्भ’ मा भएकोबाट दिन सकियोस् । यसका लागि आर्थिक, सामाजिक, नैतिक, मानसिक र भौतिक रुपमा प्रारम्भिक सहकारीहरु पनि तयार हुन पर्छ । त्यसो हुन सके यस्ताखाले समस्यामा सहकारीहरु सबैको ‘साझा’ भएर उभिन सक्छन् ।