लेख/रचना

  • जिन्दगीको प्रश्नपत्र
    29 June, 2017

    अधिकारी रबिन्द्र, बनेपा
    चिल्ला कारको झ्यालबाट हेर्दै हिंडेको एउटा ब्यापारीले बटुका लिएर माग्दै गरेको माग्नेलाई देख्यो भने उस्ले भन्ठान्ला धिक्कार छ यो माग्ने बिचराको जिन्दगी । यो एउटा उदाहरण मात्र हो । धनीले गरीबलाई शिक्षितले अशिक्षितलाई सक्षमले असक्षमलाई बारम्बार यो दृष्टिले हेरिरहेका घटनाहरु हामीसँग प्रशष्तै हुन्छन् । मागेर हिंड्ने माग्नेलाई असफल भन्नु सरासर गलत हुन जान्छ । सफलता वा असफलताको सामाजिक परिभाषा ब्यक्तीको जिन्दगीमा सधैं मेल खान्छ भन्ने जरुरी छैन । हिजो एक कचौरा चामल मुस्किलले पुर्यौने माग्नेले आज पाँच कचौरा सजिलै माग्न सक्छ भने माग्नेको लागि त्यो सफलता हो, उस्को त्यो दिन सफल हो । त्यो माग्नेलाई एउटा उद्योगपतिसँग तुलना गरेर असफल भन्न मिल्दै मिल्दैन । यो त आग्राको कुरा गाग्रामा लगेर जोड्या जस्तो भैहाल्यो । किनकि उनीहरुको जिन्दगीको उद्देश्य नै फरक छ । एक कचौरा चामल मागेर गुजारा चलाउने माग्नेहरुको पेरिस्कोपबाट हेर्दा त्यो माग्ने सफल हो, उद्योगपतिहरुको पेरिस्कोपबाट हेर्दा चिल्ला कारमा चढेर हिंड्ने धेरै उद्योगपति असफल छन् । सफलता र असफलताको परिभाषा तसर्थ पैसाले निर्धारण गर्ने हैन । यो त कामले निर्धारण गर्ने हो कि ऊ कुन काममा कति अब्बल छ ।
    साथीले पाँच तला घर बनायो भनेर घर कै तला थप्न उद्दत मान्छेहरु धेरै देखिन्छन् । कसैले टक्सान चडेर हिड्या देखेपछी ओहो त्यस्को पो जिन्दगी भनेर मन कल्पाउने पनि हुन्छन् । मान्छे असन्तुष्ट हुनु स्वभाविक हो, किनकि असन्तुष्टिले प्रगतिपथमा लाग्न उत्प्रेरित गरिरहेको हुन्छ । तर अरुको देखेर आफ्नो त्यस्तो भएन भनेर गुनासो गर्नु सकारात्मक् सोच हैन । कर्म गर्नेले प्राप्ती गर्छ, तर डाह र इष्र्या गर्नेले गुनासो गर्न कहिल्यै छोड्दैन । आफ्नो जिन्दगी आफ्नै हो, यो आफ्नै तवरले अरुको भन्दा युनिक छ । आफ्नो जिन्दगी अरुको सँग तुलना गर्नै मिल्दैन ।

    हरेक जिन्दगीका प्रश्न पत्रहरु अलग छन् । तसर्थ उत्तर पनि अलग अलग हुने भैहाल्यो । आफ्नो जिन्दगीको प्रश्न पत्र खुट्ट्याउन सक्नेहरु चाडै चाडै उत्तर खोज्न लाग्छन् र शत प्रतिशतसम्म अङ्क ल्याउन सफल पनि हुन्छन् । बिडम्बना धेरैलाई आफ्नो जिन्दगीको प्रश्न पत्र नै थाहा हुन्न, अनि उत्तर कसरी लेखियोस् ? एउटाले कुनै ठाँउमा रेस्टुरा खोलेर खुब कमायो भने केही समयमै साम्मुन्ने वा छेउको सटरमा अर्को उस्तै नामको रेस्टुरा खोलिन्छ । तर त्यो त्यती चल्दैन । कोही अर्को रेस्टुरामा धेरै प्याक भएर वा सिट नपुगेर त्यहाँ आउँलान त कोही अर्को रेस्टुराको नामसँग झुक्किएर । यस्तो पनि हुन सक्छ कि त्यहाँ एक पटक छिरेका ग्राहक बाध्यात्मक स्थिति नपरेसम्म त्यहाँ छिर्दैनन् । भन्नाले पहिलो रेस्टुराले त्यतिकै तेत्रो ख्याती कमाएको हुँदैन । उस्ले मेहनत गरेर, परिकार स्वास्थ्यकर र स्वादिष्ट बनाएर, प्रत्येक ग्राहकको मन जितेर प्रतिस्ठा कमाएको हुन्छ । पछि आउने छिमेकीले त्यो देख्दैन, यहाँ रेस्टुरा खोल्दियो भने उसै चल्छ भन्ठान्छ । अरुले पकाएको फल खान खोजेर खान त सकिएला तर त्यो पच्दैन । केही काम गरेर आर्काले ख्याती वा पैसा कमायो भनेर देखासिखीमा लागेर तेस्ले आशातीत परिणाम् अवश्य दिदैन । आफ्नो जिन्दगीको प्रश्न पत्र आँफै बुझ्ने हो । कसैले आफ्नै जिन्दगीको प्रश्न पत्रको उत्तर दिँदै गरेको बेलामा हुबहु सार्दा सार्ने मान्छे फेल हुने निश्चित छ । हो जब प्रश्नै अलग छ भने चिट चोरेर वा अर्काको सारेर कोही कसरी पास् हुन सक्छ र? किनकी फरक भाव बोकेका दुई प्रश्नको एउटै उत्तर हुँदैन ।  
    जस्तै कि मानी लिउ सङ्गितमा खुब चाख र क्षमता भएको मान्छेलाई गोठाला बनाइदियो भने भेडा चराउन जाँदा ऊ गीतार लिएर पाखामा गीत गाएर बस्ला तर भेडा राम्रो हेर्दैन । भेडा हराउला नहराउला भन्दा पनि गीतारको ट्युनसँग उस्को मन लहसिएको हुन्छ । यो चाँही आफ्नो जिन्दगीको ओरिजिनल प्रश्न पत्रलाई मेटाएर आँफै नयाँ प्रश्न बनाइ उत्तर लेख्न थाल्नु जस्तै हो । तर उत्तर कर्ताले यो बुझ्नु पर्ने हो कि यो जाँच पहिल्यै रद्द भैसकेको छ । आँफै सोध्ने आँफै उत्तर दिने अधिकार बोकेर हामी आएका हुँदैनौ । कसै कसैले मौकाको बाढी छेकेर त्यसो गर्लान तर त्यस्लाई टिकाउ राख्न सामान्य भन्दा धेरै बढी प्रयास गरिरहनु पर्छ । भन्नाले माथिको उदाहरणमा गोठाला दाई गोठाला नबनिकन सङ्गितमा लागेको भए चाडै ख्यातिप्राप्त सङ्गितकार बन्न सक्थे । अब ऊ गोठाला भएर फेरी प्रसिद्द सङ्गीतकार हुन कि ठुलै मौका आउनु पर्दछ कि उस्ले धेरै धेरै मेहेनत गर्नु पर्दछ ।
    हरेक मान्छेमा एउटा न एउटा खुबी हुन्छ । किनकी उस्मा त्यो बिषय प्रति बढी लगाव हुन्छ र धार लगाउदै गयो भने त्यो निखर हुँदै जान्छ । हो, उस्को लागि त्यही हो उत्तर । उत्तर लेख्नु भनेको त्यही खुबी वा क्षमताले देखाएको बाटोतिर अघि बढ्नु हो ।