लेख/रचना

  • जुन १४ अर्थात विश्व रक्तदाता दिवस
    15 June, 2017

    - जयदेश श्रेष्ठ
    विश्वभर विभिन्न संघसंस्थाको पहलमा हरेक दिन स्वस्थ ब्यक्तिहरुबाट आफ्नो शरीरको अमूल्य रगत रक्तदान गरिएको हुन्छ । सामाजिक दायित्व मानवीय धर्मको ज्वलन्त उदाहरण “रक्त दान नै जीवन दान हो” आजको दिन हामी ती हरेक रक्तदाताहरुलाई आदरका साथ सम्मान गर्न सकौं । संसारभरमा मानिस सबैभन्दा चेतनशील प्राणी हो । मानिसले संसारभर आफ्नो अधिपतित्व चलाएका छन् । विकासमा भएको प्रगतिको सँगै मानव स्वास्थ उपचारमा धेरै सफलता हासिल गरिसकेका छन् । हरेक रोगहरुको औषधी उपचार देखी मानवको अङ्ग प्रत्यङ्गहरु प्रत्यारोहण देखी कृतिम अङ्गहरु समेत मानव शरीरमा सफलतापूर्वक प्रतिस्थापन गरी सकेका छन् । विज्ञानको चमत्कारले हामी नयाँ जीवन पाउन सक्छौ । तर यो धर्तीमा सधैँ बाँच्ने अमरत्व भने कोही छैनन् । वैज्ञानिक औषधी उपचारमा प्रमुख भूमिका निर्वाह गर्ने मानव रगत भने आज सम्म कृतिम उत्पादन गर्न सकेका छैनन् । मानिसको दुर्घटनाबाट होस्, अन्य उपचार, अपरेसनमा आदिमा सबैभन्दा पहिले ठिक पार्नु पर्ने रगत नै हो । रगत बिना कुनै पनि व्यक्ति बचाउन सकिँदैन । त्यसैले हरेक स्वस्थ ब्यक्तिहरुबाट आफ्नो अनुकूलमा ३–३ महिनाको फरकमा रक्तदान गर्न सक्नु हुनेछ । त्यो रगतलाई संचित गरी रगत समूह मिल्ने व्यक्तिहरूलाई दिएर मृत्युको मुखबाट बचाएर नयाँ जीवन दिन सकिन्छ । हरेक स्वस्थ मानिसमा आफूलाई चाहिने रगत भन्दा बढी भएको रगत शरीरबाट त्यसै त्यसै नष्ट भएर जाने गर्दछ । आफ्नो शरीरमा भएको रगत रक्तदान गर्दा आफ्नो शरीर झनै लाभ दायक हुने हुँदा जन समुदायमा रक्तदान बारे व्यापक प्रचार प्रसार हुन आवश्यक भएको छ ।
    मानिसको शरीरमा पुरुषमा १ किलो तौल बराबर ७६ मि. ली. र महिलामा १ किलो बराबर ६६ मि. ली. रगत हुने गर्दछ । प्रति दिन हामीले काम गर्दा दिनचर्यामा १ किलो बराबर ५० मि.ली. मात्र सदुपयोग भएको हुन्छ बाँकी रगत शरीरमा आवश्यकता भन्दा बढी नै हो । हामीले हाम्रो शरीरबाट एक पटकमा ३५० देखी ४५० मि.ली. सम्म रक्तदान गर्दा शरीरमा कुनै हानी गर्दैन । यो रगत हाम्रो शरीरले२४ घण्टा भित्र आपूर्ति गर्दछ भने ९० दिन पछि हामीले अर्को पटक रक्तदान गर्न स्वस्थ रगत तयार भई सकेको हुन्छ । यसरी मानव कल्याणकारी रक्तदान गर्न विभिन्न संघसंस्थाको अगुवाईमा उत्प्रेरित जागरुक भएका रक्तदाताहरुमा सम्मान गर्नु पर्दछ । सबै मानिसहरूले चाहेर मात्र पनि रगत दान गर्न सक्दैनन् । किनकी रक्तदान गर्नु अगाडी स्वास्थकर्मीले स्वास्थ परीक्षण गर्ने गर्दछ । १८ वर्ष पुरा भएको ४५ किलो भन्दा बढी तौल भएको ६० वर्ष ननाघेको स्वस्थ व्यक्तिले मात्र रक्तदान गर्न सक्ने छन् । रगतबाट सर्ने रोग भएका व्यक्ति, लामो समय नियमित औषधी सेवन गर्ने व्यक्ति प्रेसर धेरै बढी वा चाहिने भन्दा कम रगतको प्रेसर हुने व्यक्तिहरूले पनि रक्तदान गर्न मिल्दैन । रक्तदाताहरुले दिएको रगतलाई सङ्कलन गरेर रगतमा प्रमुख डरलाग्दो रोग संक्रमन छ कि छैन भनेर जाँचेर मात्र प्रयोगमा ल्याउने हुँदा रक्तदाताहरुको गम्भीर रोग भए नभएको समेत परीक्षण हुने गर्दछ । रक्तदाताहरुले आफूले रक्तदान गरेको कार्डबाट आफू र आफ्नो मान्छेलाई रगतको आवश्यक परेको बेलामा रगत सुलभ तरिकाबाट पाउन सकिन्छ । त्यसैले आफ्नो शरीर बलियो हुँदा आफ्नो र अरूको लागी रगत दान र संचित गर्ने गरौँ । धर्मको नाममा अनेकौँ कार्यहरू हामी गर्ने गर्दछौ यसको साथै मानव बचाउने कार्यमा आफ्नो सहभागिता रक्तदान गर्ने अवसर कुनै पनि मानवले गुमाउनु हुदैन । यो वर्षको विश्व रक्तदान दिवसले हरेक मान्छेहरुमा तपाईँले रक्तदान गर्नु भयो भन्ने प्रश्नलाई हामी सबैले एक पटक सोचेर म पनि रक्तदान गर्न तयार छु भन्ने भावनाले उत्प्रेरित गराउनु नै यो वर्षको विश्व रक्तदान दिवसको उद्देश्य हो । हाम्रो समाज, देशमा कोही पनि व्यक्ति रगतको अभावमा मूत्यु हुन नपरोस् । म बाँचेर अरूलाई पनि बचाउन सक्छौ भन्ने उद्देश्य लिएर विश्वभर मनाउने जुन १४ को दिनलाई हामी पनि सरिक भई विश्व रक्तदाता दिवस भव्यताका साथ सफल पारौ । मानव भएर मानवतालाई चिनौ, आफ्नो रगतले अरू कोही बाँचेको छ भने आफ्नो जीवनलाई गरौव गरौँ ।