लेख/रचना

  • स्थानीय चुनाव देश निर्माणको अवसर
    19 April, 2017

    देशमा सत्ता परिवर्तनको लागि राजनीतिक भयो । व्यवस्था फेरिए, व्यक्ति फेरिए । राजा प्रजा भए, दुर्गम जिल्लावासी राजा भन्दा माथि प्रधानमन्त्री, राष्ट्रपति भए । नेपाल देश र जनताको भाग्य, समय साक्षेप प्रगति पथमा सुधार र विकास हुन सकेन । निर्दलीय शासन पन्चायत व्यवस्थाको विरुद्ध नेपाली जनताहरुले गरेको सघर्ष २०४६ सालमा सफलता मिल्यो । राणा र राजाबाट जकडिएको देशमा जनताको हातमा शासन व्यवस्था आए पछि शासन व्यवस्थामा आमूल परिवर्तन भयो । पन्चायतबाट बहुदल जनतन्त्र, लोकतन्त्र र गणतन्त्र सम्मको परिवर्तन देखे अनि राजालाई हटाएर महिला राष्ट्रपतिको अवस्थामा आईपुग्दा पुग्दा सम्म पनि देशको आर्थिक समृद्धिको विकास हुन सकेन । परिवर्तनको नाममा व्यक्ति फेरियो सोच र संस्कार फेर्न सकिएन । बदलाको भावमा ठूलोलाई सानो बनाउन सक्यौ सानोहरु ठुलो हुने मानसिकतामा सुधार हुन सकेन । आफ्नो स्वतन्त्रता अधिकार खोज्नेहरुले अरूको मानवीय मूल्य मान्यताको पनि ख्याल राख्न जानेन । जसले जे गर्दा पनि हुने देशमा पढे लेखेका केही गरौँ भन्ने व्यक्तिहरू विदेशी भूमिमा कामको खोजीमा बाहिरिदै छन् । देशको कलकारखाना ठप्प छ । राजनीति मौलाएको देशमा गरी खाने भन्दा लुटी खानेहरु मोटाएका छन् । आफ्नो मान्छे नातावाद कृपावादले गर्दा चाकडी चाप्लुसी घुसखोरी तन्त्र चलेको छ । सोझासाझा आदर्शवादीहरु पलाएन हुन बाध्य भएका छन् । राजनीति कलह खेलमा देश दुबाउने राष्ट्र र राष्ट्रियता बचाउने राष्ट्र भावमा हामी नेपाली धेरै पछाडि परेका छौ । विश्वमा नाम कमाएको सार्वभौम सत्ताको देश जसले आजसम्म कसैको उपनिवेश हुन परेको छैन । विश्वमा शान्ति क्षेत्रको देश भनेर चिनिएको देश ! विदेशमा युद्ध भूमिमा शान्तिसेनाको दुत भएर युद्ध मोर्चामा बिचमा उभिने शान्ति प्रिय नेपाली सेना । बिश्वयुद्धमा वीर गोर्खाली भनेर चिनेको नेपाली सेना देखी आफ्नै देशमा दश बर्षे जनयुद्धको पीडा बोकेको सेना, प्रहरी र नेपाली जनताहरुको इतिहासको भूमिकालाई आज हामीले चिन्तन मनन् गर्दा दुःख लाग्छ । हामीमा के कमी थियो ? हामीले के पायौ ? के गुमायौ ? के कसको लागी लड्यौ ? किन लड्यौ ? आज बिश्वसामु हामी किन गौरव गर्न सकिरहेका छैनौ ? परिवर्तनको नाममा व्यक्ति र व्यवस्था फेरेर मात्र हुँदैन हामी सोच र संस्कार फेर्न किन सकिरहेको छैन ? सधैँ जनताहरुको नाममा देश विकासको कुरा गर्न नथाक्ने नेताहरूले संविधान सभाको चुनावबाट चुनिएका सभासद्हरुले बनाएको विश्वको चासो विषयको संविधान किन लागु हुन सकेन ? देश भित्रको तराई आन्दोलनलाई किन बाहिरी देशको हस्तक्षेपको रूपमा हेरिन्छ ? आफ्नै देश विरुद्धको राष्ट्रियता विरुद्धमा आश्चर्यजनक अभिव्यक्ति धावा बोल्दछ ? सरकार किन मौन बस्दछ ? एउटै कुरालाई पक्ष विपक्ष भएर अर्थ केलाउछ । राज्यसत्ताको बल मिच्याईले देशको नियम कानुनको उपहास भएको छ । सानोलाई ऐन ठुलोलाई चैन भएको देशमा न्याय कानुनका बर्दीधारी मुख्य व्यक्तिहरू नै घुस खोरी भष्ट्राचारमा संलग्न भएको स्वीकार गरेर कसैको आशीर्वादमा न्याय पाउन्छन् भने जेल नेल र अदालती प्रकृयाहरु सोझासाझा जनताहरूमा जो होचो उसको मुखमा घोचो भएका छन् ।
    देश परिवर्तनमा समयको ठुलो भूमिका हुन्छन् । विदेशी बिश्लेषकहरुले भनेका थिए । नेपालमा अझै १० वर्ष प्रजातन्त्र आउन हुदैनथ्यो । जनताहरूमा चेतना देश विकास राष्ट्रप्रेमको आस्था जागेको छैन । ब्यक्तिपरक सोचमा राष्ट्रघाती काम गर्न पछि पर्दैनन् । नराम्रो मान्छेहरूको भिडमा राम्रो मान्छे, राम्रो काम ओझेलमा परेको छ । देश दशकौ वर्ष लोड सेडिङको मारमा चेपिएको थियो अझै दशौ वर्षसम्म पनि समस्याको समाधान हुने छाटकाट थिएन । आश्चर्यजनक गुमराहमा कालो कर्टुतले व्यक्तिगत फाइदाको लागी देशमा अनावश्यक लोड सेडिङको सिर्जना गरेरको पुष्टि भएको छ । राजनीतिक हस्तक्षेपलाई निस्तेज पार्ने हो भने एक कुलमानले देशलाई उज्यालो दिन सक्दछ भने यो देशमा हजारौँ कुलमानहरु छन् जसले देशलाई समूद्ध र प्रगति पथमा साथ दिन सक्दछन् । ती व्यक्तिहरूलाई राज्यले अवसर र सम्मान अनि न्याय दिन सकिरहेको छैन । देश बाहिर रहेर देशलाई माया गर्ने धेरै हातहरू छन् । राजनीतिक आस्था बाहिर रहेर देश र जनताहरूमा माया गर्ने कलाकार धुर्मुस र सुन्तलीहरु छन् । छोटो समयमा ठाँउ ठाँउमा नमुनाका बस्तिहरु तयार गरेर दुखमा पिछडिएको समाज बस्तीलाई राहत पुर्याएको प्रमाण छन् । तर पनि यो देशमा किन सत्यको विजय किन हुँदैन ? हामीले यो देशमा छोटो समयमा धेरै परिवर्तनहरु देख्यौ ,गर्यौ , भोग्यौ । समय चक्र चलिरहन्छ कतैअडिएर बस्दैनन् । हामी नेपालीहरूले भोगेको बेथाले अरूलाई चेतना हुन सक्छ । हामी आफैले भोगेको कुरामा चेतना ल्याउने कहिले ? अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ? देशमा स्थानीय सरकार नभएको हुँदा कसैले जिम्मेवार भएर समाज देशमा केही गर्न सक्ने आधार भएन । हिजो पन्चायत व्यवस्था ढाल्न बहुदलको आवश्यक थियो । बहुदल भित्र गुट बन्दी भएर पार्टीगत गुट बन्दीमा मन्दिर , चिया पसल र मसान घाट आदी इत्यादिलाई आस्थाको आधारमा छुट्टा छुट्टै भागबन्दा खडा गरे । हरेक कुरामा आफ्नो आफ्नो दलगत स्वार्थको आँखाले हेरियो । सही र सत्य तथ्यको मूल्याङ्कन भएन । सत्यकुरा बोल्न पनि समय कुर्नु पर्ने, असत्यको राग गाँजेको समाजमा सत्यता मौलाउने कहिले ? हामीले ठुलो कुराको आसामा साना साना अत्यावस्यक खुसी र सुखका कुराहरू गुमाउदै गयौ अब सानोबाट ठुलो कुराको आसा गर्न सकिन्छ । स्थानीय तहमा राम्रो मान्छे खोज्नु पर्छ । राम्रो मान्छे अगाडी नबढनु भनेको नराम्रो मान्छेलाई बढवा दिनु हो । राम्रो मान्छेलाई आफ्नो भनौ, पक्ष र विपक्ष भनेर आफ्नो नगर बस्तीमा विभेद नगरौं । समाज देश कसैको पेवा होइन, तेरो र मेरो पनि हुँदैन । राम्रो मान्छेलाई लाई राम्रो भनौ नराम्रोलाई नराम्रो ! सोच र सिद्धान्त सबैको राम्रो नै हुन्छ । स्थानीय तहमा सबैले देखेको बुझेकिको व्यक्तिलाई अगाडी सारौ । पक्ष र विपक्षका दुई तिन धारका उमेरदारहरुलाई एउटै मन्चमा राखेर तर्क बितर्कका कुरा गराऔ । आफ्नो लागी हैन समाज, नगर र देशको लागी प्रतिबद्धता जाहेर गर्न लगाऔ । जसले आफ्नो उमेरदारीताको विश्वास र भरोसा जनताहरूमा दिलाउन सक्छ उसैलाई आफ्नो अमूल्य मत दिएर विजय गराऔ । जितेको नेताले भोट दिने आफ्नो र भोट नदिनेको पराय मान्नु हुँदैन । स्थानीय चुनाव अपरिहार्य देश निर्माणको आधारशीला हो । स्थानीय सरकार गाँउ, नगरलाई दोहर्याउने जिम्मेवार सारथी हो ।