लेख/रचना

  • एप्रिल फुल
    30 March, 2017

    अधिकारी रबिन्द्र
    केहि वर्ष अघिको बसन्त ऋतुले भर्खर पाइला टेकेको चैते शनिबार लाँकुरीको फेदमा रहेको आङाको चिया पसलमा खरिबोटका बन्जाराहरुको बाक्लै उपस्थिति थियो । गाउमै रहेका मान्छे त साबिक झँै आउने नै भए, जागिरेहरु पनि शनिबार भनेपछि चियाको सुर्की संगै बात मार्न ब्यस्त थिए । काठमाडौं बस्ने ठिटाहरु पनि अघिल्लै रात गाँउ आँउने अनि एकाबिहानै लाँकुरिको फेदीको अड्डामा हाजिर जनाँउन आउने । भाई पुस्ता भर्र्याङ्तिर हुन्थे, दाई पुस्ता एकातिर, बाउपुस्ता एकातिर अनि अंकल पुस्ता अर्कातिर । एउटा हातमा रु दश पर्ने चिया हुन्थ्यो भने अर्को हातमा गच्छे र लत अनुसार बिँडी, पाइलट, खुकुरी, शिखर वा सुर्य धुवाँइरहेको हुन्थ्यो । कसैका गोजिमा सुद्दप्लस, राजनिगन्धा, सुपर लाइक वा गोल्डेन लाइफका प्याकेटहरु खोलिन आतुर थिए । अम्मल नहुनेहरुलाई पनि गफकै अम्मल थियो । दाम्या माइली डेरिमा दुध खन्याएर क्यान चुइ चुइ पार्दै घर फर्किदै थिइ । देव काका फरासिलो मुद्रामा, “ए भाउजु एता आउ, सुरेशे (छोरा)ले पनौतीबाट खसीको शिकार पठाइदिएको छ । ऊ काठमाडौंबाट आउँदै रहेछ पनौतीमा अल्मल छ रे अनि मलाई पठाएको, ऊ आँउन अलिक ढिला हुन्छ रे, पकाउदै गर्नु भनेर ।”
    स्यल्दरभित्र गोरखापत्रमा बेरेको खसीको आधा किलो मासु लिएर दाम्या माइली जिब्रो फड्कार्दै घर पुगी । उन्को छोरोले प्रायः शनिबार घर आउँदा खसिकै मासु ल्याउथ्यो । सर्जाइ गरेर खाँउला भन्ठाँन्दै लसुन छोडाइ, प्याज काटी, सिलौटो पखालेर अदुवा कुटी, अनि स्याल्दरको पत्रिका खोल्दा त रगत छादेर मरेको ढाडी मुसा पो पल्टियो । मुखबाट दाम्या माइलीको हुलुक्क हुलुक्क पानी नै आयो । रिशले तातेर अम्रीस्सा बिटोबाट दरिलो सिम्किनो झिकेर उफ्रिदै दुई मिनेटमा लाँकुरीको बोट्मै आइपुगी । “खै त्यो देबे त्यसलाई नम्मारी” भन्दै मुसो र बिरालोको खेल झै एक्छिन भाग्ने र पछ्यौने तमाशा आगन्तुकहरुले भर्पुर हेरे । आङाकै होटेलबाट केही क्षण अगाडि फालेको मुसो प्याकेजिङ भएर कसैको चुलोमै पुगिसकेको गोप्य समाचार त त्यहाँ त्यति बेलासम्म कस्लाई पो थाहा थियो र? त्यो दिन एप्रिलको एक तारिक थियो ।  
    ८८८८८८
    एप्रिल फुलको इतिहास पल्टाँउदा सर्बप्रथम जिओफ्री चौसरको १३९२ को कृति क्यान्टर्बरी टेल्समा एउटा फ्याउरोले भाले कुखुरालाई मुर्ख बनाएको वर्णन छ । सन् १५८२ मा पोप ग्रेगरीले जुलियन क्यालेन्डरलाई विस्थापित गरेर ग्रेगरी क्यालेन्डर सन्चालनमा ल्याए । नयाँ क्यालेन्डरमा नयाँ बर्ष जनवरी एकमा सारियो र थाहा नपाउनेहरुले पुरानो क्यालेन्डरको एप्रिल एकलाई नै नयाँ बर्ष मानिरहे र तिनिहरुलाई जिस्काउदै एप्रिल फुल वा एप्रिल मुर्ख भन्न थालियो ।
    मिडियामा एप्रिल फुलको गरमागर्मी बिधिवत चर्र्किएको भने १९५७ मा बिबिसीले पानारोमा नामक ताजा खबर प्रसारण गर्ने कार्यक्रम मार्फत स्विस किसानले स्पघेट्टी (एक प्रकार को चाउचाउ) को बिरुवा उमारेको भन्ने खबरबाट हो । गहँुको पिठोबाट बन्ने स्पघेट्टी ठाडै बोटमै फल्ने भनेपछि दुनियाँ चकित भएको थियो, बिबिसी जस्तो मिडियाको समाचार फेरी सबैलाई पत्याउन करै लाग्यो र थुप्रैले बिबिसी मार्फत उक्त बिरुवा अर्डर गरेका थिए । भोलिपल्ट मात्र त्यो एप्रिल फुलको उपलक्षमा झुक्क्याइएको हो भन्ने खबर बिबिसीले प्रसार गर्यो । त्यस्तै गरी १९९८ मा एलाबामाका सांसदहरुले गणितिय सङ्केत “पाइ” को भ्यालु ३.१४ बाट ३ पारीत गरेको हल्लाले मिडिया छाएको थियो । एबम् रीतले लण्डनको वेष्टमिन्स्टर दरबारको उत्तर तर्फ रहेको बिग बेन घण्टाघरलाई अप्डेट गरी डिजिटल बनाइदै छ भनेर बिबिसील लगायत थुप्रै सञ्चार माध्यमले फेरी झुक्क्याए ।

    एप्रिल फुलमा छरछिमेकी वा साथीभाइलाई व्याबहारिक जोक गरेर वा झुक्क्याएर रमाइलो गरिन्छ र पक्डिसकेपछी एप्रिल फुल भनेर चिच्याइन्छ । यो दिन सबैले सबैलाई झुक्क्यौन पाइने र झुक्किने मान्छे रिसाउन नपाईने मान्यता रही आएको छ । विश्वमा कतै पनि यो दिन सार्वजनिक बिदा दिने चलन नभएता पनि बेलायत लगायतका धेरै देशहरु, भारतीय उपमहाद्दिप तथा अमेरिकन राज्यहरुमा पनि विश्व मुर्ख दिवसलाई स्थान दिइन्छ ।

    अरु ठाँउमा एकले अर्कालाई मुर्ख बनाउन एप्रिल एक नै कुर्नु पर्छ भने नेपालमा ३६५ दिन “एप्रिल फुल डे” छ । प्रतिष्ठित कम्पनीहरुले कर छली गरेर सरकारलाई झुक्क्याएको छ । ब्यपारीले चामलमा दर्शनढुङ्गा मिसाएर ग्राहकलाई झुक्क्याको छ । प्रिन्टिङ प्रेसले बिचका भर्नु पर्ने पानाहरु खाली राखेर झुक्क्याको छ । दलालले बिदेश लाने निहुँमा सोझासिदालाई पैसा ठगेर झुक्क्याएको छ  । जग्गा दलालले खोलो र भिर बेचेर मुर्ख बनाएको छ । ठगका गिरोहहरुले नक्कली नोट छापेर, एटीएम ह्याक गरेर झुक्क्याइरहेका छन् । नेताहरुले जनतालाई पटक पटक झुक्क्याइरहेका छन् । केही महिना अगाडि रातो नम्बरबाट आएको फोन उठाएमा मोबाइल पड्केर ज्यान जाने भनेर हौवा पनि ब्यापक भएको थियो । यसरी हामीलाई झुक्क्यौन र ठग्न कुनै अवसर नै चाहिन्छ भन्ने छैन । यदी बिधिको शासन हुन्थ्यो र सबै इम्मन्दार हुन्थे भने बर्षमा एक दिन आउने मुर्ख दिवस मनाउदा शायद निकै नै स्वाद पर्ने थियो होला ।