लेख/रचना

  • असफल यात्रा
    16 March, 2017

    शारदाप्रसाद शर्मा
        आज आउला भोलि आउला भन्दाभन्दै ठ्याम्मै पाँचवर्ष बित्यो, ऊ आएन । अठार वर्षको उमेरमा विवाह भएकी शान्ताको उमेर हिजोबाट ठ्याक्कै पच्चीस वर्ष पूरा भयो । मन नलागिनलागी छब्बीसौँ जन्मोत्सवको अवसरमा दुईचार साथी बोलाएर संगै खानपिन गरेर मन बहलाउन खोजी उसले । तर त्यस क्रममा भएको जोडाजोडीको उपस्थिति र ठट्टामस्करीले भने झन् औडाहा भयो उसलाई । लोग्नेसँगको पाँचवर्ष लामु अनिकटता र दिउसोको घटनाले  साँझपख ऊ वेचैन भई । दिउसोको भोजमा सागरले बोलेको कुरा ‘भोक लागेको बेलामा नखाए कहिले खाने ? त्यसमा पनि उमेर छँदा पो खाइन्छ, बूढो भएपछि कहाँ रुच्छ र !’ उसले सम्झी । यसो भन्दै उसले थपिथपी खाएको थियो । एकातिर ठट्टाजस्तो, अर्कोतिर व्यङ्गयबाँण झैँ तिखो र तितो सत्य । शान्तालाई निक्कै बिझ्यो यो कुरो । खाना खाने क्रममा सँगै बस्दा अनायासै सागरको हातले आफ्नो शरीरमा घर्षण र स्पर्श हुँदा शान्तालाई भित्रैदेखि एकप्रकारको मीठो कुत्कुती लागेको थियो ।
    सागरको त्यो भनाइ र निकटतामा भएको सुखानुभूतिको विश्लेषण गर्दै शान्ताले विचार गरी । उसमा मनोद्वेगहरू यसरी मडारिन थाले – सागर भलादमी र विश्वासिलो साथी हो । ऊ आधुनिक जमाना अनुसारको सोच विचार भएको स्वतन्त्रतावादी केटो हो । ऊसँगको निकटताले कुनै खतरा हुँदैन, किनकि ऊ एउटा जिम्मेवार, बुझकी  भलादमी र विश्वासिलो मान्छे हो । यस्तैयस्तै सोच्दासोच्दै उसले निर्णय गरी –आ , , जेसुकै होस् । के फरक पर्छ र ? आखिर ऊ पनि त एक्लै छ, डेरामा बसेको हो । केही फरक पर्दैन, मान्छे पो हो त, जान्छु । ऊ गई । बाटोभरि उसले विवाह भएदेखि लोग्ने साथ रहँदासम्मको अन्तरङ्ग क्रियाकलाप र दिउसोको कुराकानी, ठट्टामस्करी, छेडपेच र निकटानुभूतिहरू सम्झिँदै रही । रातको लगभग आठ बजिसकेको थियो । जति मन बाँधे पनि उसलाई डर लागिरहेको थियो –कतै वरवादै हुने त होइन । अँध्यारोसँगको स्वाभाविक डर भने उसलाई पटक्कै थिएन ।  डर थियो –केबल कसैले देखेर प्याच्च केही भनिपो हाल्छकि ! बच्चा भइ नै पो हाल्ने हो कि ! आ हुँदैन । साधन केही भए भइगो, नभए बाहिरै पारौँला वा तुरुन्तै सफा गरौँला । त्यो पनि नभए औषधी पाइहालिन्छ नि ! उः गई, कस्सिएर गई, असाध्यै उत्साहित भएर गई ।
    सागरबाट त्यस्तो खतरा केही हुँदैन, शान्ताको आत्मविश्वास थियो यो । अरुले जेसुकै भनुन् । देख्ने कसैले होइन क्यारे । तीर्खाले मर्नैआँट्दा पनि पानी खान हुँदैन भन्छन् र खाँदा पाप नै लाग्छ भने पनि लागोस् , उसले दह्रो आँट लिई र दायाँवायाँ कतै नहेरी फटाफट हिँडी ।  हिउँदको रात, अँध्यारो चकमन्न थियो ।
        ठीक सभा आठबजे ऊ सागरको कोठामा पुगी । बिजुली नबलेकोले अँध्यारो थियो । कोठाको ढोका बन्द रहेछ, उसले निकैबेर ढक्ढक् गरी, ढोका खुलेन । धेरैबेर उसले प्रतीक्षा गरी खुल्दैखुलेन । लामो समय ढकढक गरेको सुनेर माथिबाट घरबेटी बा हातमा सानु बत्ती लिएर ओल्र्हिए र सोधे – को ? कसलाई खोजेको ? 
        म हुँ घरबेटी बा, सागर बाबुको कोठा यही होइन र ? खोइ किन ? खोल्दैखोल्नुहुन्न त ! शान्ताले घरबेटी बातर्फ हेर्दै सोधी । जबाफमा घरबेटीले भने – उनी त ‘दिउस भोजमा जानु छ , उतैबाट घरजान्छु विराटनगर भन्थे, गए होलान् । किन, ताल्चा लगाएको छैन कि क्याहो ?’ 
    ढोकामा ताल्चै लगाएको रहेछ, शान्ताले बल्ल पो देखी । यो सब देखेर जोश जाँगर सबै चौपट भएकी विचरी शान्ता अँध्यारोमा अँध्यारो मुख लगाउँदै खुइ’..य’ सुस्केरा हाली र दोश्रो जबाफै नगरी हिँडी फटाफट् असफल यात्राको पीडाले पिल्सिँदै पिल्सिँदै र आफ्नै पुर्पुरोलाई धिक्कार्दै ।

    पातलेखेत –३, काभ्रे