लेख/रचना

  • सूर्यको गीत सुसेली
    02 March, 2017

    तुयुकाजी ताम्राकार
    मानिसहरु कुनै न कुनै काममा लागेर समय बिताइरहेका हुन्छन् । लाग्दालाग्दै दक्षता पनि प्राप्त हुँदै जान्छ र उ सफलताको सिँढी चढ्दै पनि गएको हुन्छ । आफ्नो काममा पाउने सफलताले कसलाई आनन्द नलाग्ला र ? हुन त मानिसहरु आर्थिक उन्नतिलाई नै आफ्नो सफलताको मापदण्ड मान्नेहरुको संख्या कमी छैन । हुन पनि सुख, समृद्धि, शान्ति, प्रगति, शानशौकत, सम्मान इत्यादिमा धनको ठूलो भूमिका रहेको हुन्छ तर कतिपय यस्ता कामहरु छन् जसबाट आर्थिक लाभ वा उन्नति होइन आफूसित भएको धन सम्पत्ति समेत सिध्याउनु पर्ने हुन्छ । त्यसबाट थोरै मानसिक शान्ति प्राप्त हुन सक्छ वा अपजसको भारी बोक्नुपर्ने पनि हुनसक्छ । त्यस्तो काम भनेको समाजसेवा, अन्यायको विरुद्ध लेख्ने लेखक, साहित्यको क्षेत्रमा लाग्नेहरु आदि हुन् । तरपनि मानिसहरु आ–आफ्नो रुची अनुसारको कर्ममा लागिरहेका हुन्छन् ।
        त्यसरी रुचीपूर्वक लागिरहेका एक व्यक्ति हुन् सुर्यप्रसाद लाकोजू । उनी सानै उमेरदेखि साहित्यको क्षेत्रमा कृयाशिल छन् । पनौतीजस्तो गाउँवेष्ठित  नगरमा बसेर पनि तेह्रवटा पुस्तकहरु प्रकाशन गरिसकेका छन् । छक्क लाग्दो कुरा के भने पनौतीमै बसेर तेह्रवटा पुस्तकहरु प्रकाशन गर्नु भनेको चानचुने कुरा होइन । साहित्यप्रति अत्यन्त कम रुची राख्ने मान्छेहरु भएकोले यो किताब पढ भनेर सित्तै दिँदा समेत पढ्न मन नगर्नेहरुले पुस्तक किनेर पढ्ने त कुरै भएन । अझ  उल्टो यसले किताब लेखेर शान देखाउने भन्ने वा यसले लेखेको किताबमा के नै हुन्छ र ? भन्ने मानसिकता भएकाहरुले झन् किनेर सहयोग गर्ने त कुरै आएन । घर परिवारको समर्थन नहुँदो हो त किताब लेखेर प्रकाशन गर्नु भनेको महाभारत जित्नु सरह नै हुन्छ । त्यसैले पनौती मै पनि कतिपय साहित्यकारहरु एउटा किताब प्रकाशन पछि हराएका छन् ।
        भर्खरै चालिस वर्ष कटेका सूर्यप्रसा लाकोजूले बाह्रौं पछि तेह्रौं पुस्तकको रुपमा सुसेली नामक गीत संग्रह हो । विविध विधा अर्थात कविता, मुक्तक, हाइकु, प्रबन्धात्मक, नियात्रा,  इतिहास, सँस्कृति आदि क्षेत्रमा कलम चलाएर देश विदेशमै परिचय बनाउन सफल भएका छन् । यसरी उनले आफ्नो मात्र होइन पनौतीकै नाम साहित्य मार्फत उचाइमा पु¥याइरहेका छन् । हालै प्रकाशित सुसेली गीत संग्रह पुस्तकबारे मलाई परेको प्रभावबारे केही उल्लेख  गर्न चाहन्छु ।
        धेरैजस्तो लाकोजूको कविमन मायाको सागरमा सार्क माछाले झै डुबुल्की मार्दै आनन्द लिन पुग्छन्, कुनै बेला चील बनेर हावामा माथिमाथि चक्कर लगाउँदै कावा खान पुगेको हुन्छ । उनको चंचल मन कहिले गीत गाउन उभिन्छ त कहिले नाँच्न, कहिले रुन, कहिले हाँस्न कहिले सल्लाह सुझाव त कहिले शुभकामना कहिले सुसन्देश दिने सुसेली गीती संग्रह पढ्दा नै आनन्द लाग्छ । रिसराग कसैसित नगरौं, घृणा, वैमनस्यता, इष्र्या आदिले आफैलाई पनि नोक्सान पु¥याउँछ । सबैसित मिलेर बसौं भन्दै लेख्नुहुन्छ ः
    रिसरागको ज्वालाले आफैलाई जलाउँछ
    मानिस मानिस बिच शत्रुता फैलाउँछ
        मनको नाता ठूलोबाट
    त्यस्तै प्रकारले मानिसको राम्रो र स बल पक्ष बोकेर हिँड्नेलाई आर्शिवाद मात्र प्राप्त हुने होइन षडयन्त्र गर्नेहरुमा आत्मबल हुँदैन त्यो त असल र राम्रो मान्छेसित मात्र पाइन्छ । त्यस्ता असल मान्छेहरुलाई सबैले शुभकामना र आशिर्वाद प्रदान गर्छन्–
    “सधैं सोच्छौं राम्रो कुरा कस्तो असल भावना
    लाख वर्ष बाँच तिमी यहि त मनको कामना ।”
            लाखवर्ष बाँच तिमीबाट
    देशप्रेम र देशभक्तिपन दह्रोसित रहेको कुरा जब उनले देश सोच्दछ प्रकट हुन थाल्दछ–
        “मेरो देशको माटो मलाई स्वर्ग लाग्दछ
    माटो जब सोच्दछु मनमा श्रद्धा जाग्दछ”
                मेरो देशबाट
    आफूलाई राष्ट्रसेवक, समाजसेवी वा नेता भनाउँदाहरुले सामान्य वैठक वस्ता वा भ्रमणमा जाँदा वा कुनै साधारण कार्यमा लाग्दा पनि भत्ता वा अन्य कुनै नामको लाभ लिने गर्दछ । यस वर्षको भ्रष्टाचारमा बढोत्तरी हुने राष्ट्रको लिष्टमा नेपाल झन अगाडि बढेको तथ्यांक निक्लेको छ । यस्ता कुराहरुले दिक्क बनेका लाकोजू लेख्छन्–
    “देशबाट लिने होइन अब केही दिने चाहना छ,
    मेरो देश स्वर्र्गै रहोस् यहि मेरो कामना छ ।”
                चाहनाबाट
    हरेक आर्थिक वर्षमा सरकारले वार्षिक बजेट पेश गर्दछ । बजेटमा विकास निर्माणको लागि अरबौं रुपैयाँ छुट्याउँछन् । महंगी नियन्त्रण गर्ने, गरिबी उन्मुलन गर्ने, रोजगारीका अवसरहरु श्रृजना गर्ने र राष्ट्रलाई उत्थान गर्ने घोषणा प्रत्येक साल गरिन्छ तर व्यवहारमा बजेट भाषण सकेको दिनबाटै मूल्यबृद्धि हुने र गरिबीले उल्टो झन् भोकभोकै सुत्नुपर्ने र गरिबीको मार बढ्ने गरेको भोगेकै हो । त्यहि पक्षलाई उजागर गर्दै कवि लेख्छन्–
    “हुन्छ बजेट भाषण पछि सबको पुर्पुरोमा हात
    गरिब भोकभोकै हुन्छ पाउँदैनन् खान भात”
                यस्तै छ यहाँबाट
    दिनहुँ सन्तानहरु जन्मेको जन्म्यै छ । मानिसहरुको संख्या बढेर के गर्नु सपूत एउटै भएन । मन्त्री पनि भए, प्रधानमन्त्री, राष्ट्रपति पनि भए तर सबका सब स्वार्थी नै निक्ले । देश र जनता उठाउने सुपात्र निक्लेन । त्यसैले नातावाद, कृपावादमा नफस्ने, देश र जनतालाई ध्यान दिने, दूरदर्शी, निस्वार्थी र इमानदार आफ्नो देश निर्माणमा निरन्तर लाग्ने अर्जुन जस्तो निशाना र साध्न सक्ने नेतृत्व जन्मियोस् भन्ने चाहना व्यक्त गर्दै लेख्छन्–
    “स्वार्थको भुमरीमा नफस्ने अर्जुन जन्माइदेउ
    सिङ्गो नेपाल सजाउने सृष्टिकर्ता जन्माइदेउ
            सृष्टिकर्ता जन्माइदेउबाट
    योग्य जनशक्तिले पनि रोजगारी नपाउने, श्रमिकहरुले पनि रोजगारी नपाउने वा पाउनको लागि नेताहरुको चाकरी गर्नुपर्ने, योग्यले नपाउने, पाइहालेमा तलब सुविधा पर्याप्त नहुने आदि कारणले बरु परिवारसित विछोडिनु परे पनि जति दुःखकष्ट व्यहोर्नुपरे पनि विदेशै जाने आकर्षण बढिरहेकै छ । त्यस्तो अवस्थामा अपाm्नो अर्धाङ्गिनीसँग विछोडिनु पर्दा पीडा सहेर सान्त्वना दिन्छन्–
    “फर्कने छु प्रिय नरोइ तिमीले विदा देउ
    बसन्त फेरी आउने छ प्रिय दुःख लाग्छ छेउ ।”
                बाध्यता बाट
    विदेशमा काम गर्न गएकाहरुकै कारणले परिवारमा सुख समृद्धि ल्याउनेछ, खुशी ल्याउनेछ भन्ने आशा र विश्वासमा परिवारजन रहेका हुन्छन् । यता उनको जीवन संगीनी बेचैनी फर्कने आशामा रहेकी हुन्छिन् । हुन त मध्यमवर्ग र धनीमानी वर्गका मान्छेहरुमा हाम्रा छोराछोरीहरु अमेरिका, ब्रिटेन, अष्ट्रेलिया, जापान वा युरोपमा छन् भन्दा आफ्नो इज्जत र शान बढेको ठान्नेहरुको संख्या पनि नभएको होइन । जे भएपनि विदेशिने केटाको श्रीमतीको पीडा यसरी व्यक्त हुन्छ–
    “टाढा टाढा दृष्य पुग्छ तिम्रै आशमा
    मेरो जीवन मेरो खुशी तिम्रै साथमा
    तिम्रै लागि बाँच्न सिके नबिर्सि आउनु
    सयपत्री बनी फुलेर आउनु जुन बनि छाउनु ।”
                जुन बनि छाउनु बाट
    हाम्रै समाजमा रहेका असमानता अत्याचार, भ्रष्टाचार, अन्याय देख्दा दिक्क लाग्दो अवस्था छ । ठूला र क्रान्तिकारी भाषण गर्नेहरुलाई विश्वास गर्दा गर्दा जनता थाकिसके । जो पनि धनी र सामन्त शोषकहरुकै पक्षपाती गरिब मरेको म¥यै । यस्तो देख्दा लाकोजू पनि आक्रोशित छन् र त लेख्छन्–
    “अन्यायमा पर्छ निर्धाे बोलिदिने कोही हुन्न
    गरिबको रगत चुस्नेलाई गोली दिने हुन्न ।”
    असमानता बाट
    रमाइला, रसिला, उपदेशक, प्रस्तुत गीत संग्रहले तब सार्थकता पाउँछ जब स्वर र संगीतमा तरंगित हुने मौका पाउँदछ । एउटै सफल गीतले देशै झुम्न बेर लाउँदैन । सफलता पाओस्, शुभकामना छ ।