डायरी मनको

पैसाको अभावमा चामल विक्री गरें

रेशम चौलागाई
अध्यक्ष
वडा नम्वर ६, चौरीदेउराली गाउँपालिका, काभ्रेपलाञ्चोक
 
जन्म, बाल्यकाल, औपचारिक शिक्षाः साविकको कात्तिकेदउराली गाविस हालको चौरीदेउराली गाउँपालिका वडा नम्वर ६ मा २०३२ साल चैत्र ९ गते मेरो जन्म भयो । बाल्यकाल त्यहि वित्यो । सामान्य परिवार थियो । शिक्षादिक्षा पनि त्यहि रहेको प्रभा माध्यमिक विद्यालयबाट भयो । विद्यालय पठाउनु पर्छ भन्ने मेरो परिवारमा मान्यता थियो । परिवारको कान्छो सन्तान थिएँ म । एकजना दाई सहित हामी चारजना सन्तान थियौं । प्रभा मावीमा पुग्न घरबाट एक घण्टा उकालो जानु पर्दथ्यो । सामान्य परिवार भएकाले खुट्टामा जुत्ता हुँदैन थियो । सुरुवाल हुँदैन थियो कट्टु लगाएरै विद्यालय जाने गरेका थियौं । घरमा विहान ८ बजे जे खायो त्यहि खानाको भरमा साँझ घरमा फर्कनु पर्दथ्यो । विहान ८ बजे खाएको खानाको भरमा साँझ ६ बजेसम्म हामी बसिरहेका हुन्थ्यौं । विद्यालयमा खाजा खाने कुरा सम्भव थिएन । 
घर नजिकै बोक्से प्रावीको स्थापना भयो । प्रभामा गएको भए पनि पछि बोक्से प्राविमा भर्ना भएँ । कक्षा १ देखि बोक्से प्राविमा अध्ययन शुरु भएको ५ वर्ष पछि पुनः प्रभामा गएँ । घर नजिकै विद्यालय भएकाले त्यो समयमा कहिल्यै कक्षा छाडिएन । प्रभामा भने कहिलेकाँहि कक्षा नै छाडेर हिड्ने गरेका थियौं । विद्यालयको कक्षा छाडेर भाग्दा बुबाले गाली गर्नु हुन्थ्यो । पढ्न छाडेर भागेको कुराले बुबाले मलाई पटक पटक गाली समेत गर्नु भयो । कहिलेकाँहि कुट्नु हुन्थ्यो । हक्की स्वभावको थिएँ । कोहिसँग झुक्न जानेको थिईन । विद्यालय समय भन्दा बाहिर बाख्रा चराउन जाने गरेको थिएँ । बाख्रा छाडेर खेलेर बस्दा अर्काको बाली खाईसकेका हुन्थे बाख्राले । त्यो अवस्थामा घरमा आएर उनिहरुले मेरो कमजोरीका बारेमा उजुरी गरेका हुन्थे । बुबाले हप्काउनु हुन्थ्यो । फेरी गल्ति नगर्ने प्रतिवद्धता हुन्थ्यो । घाँस काट्ने, बाख्रा चराउने, खेतबारीको काम गर्ने, घरका अन्य काममा सहयोग गर्ने गरेका थियौं । पढाईमा ध्यान जाँदैन थियो । तर बुबाले गाली गरेका कारण जर्बजस्ति पढ्न जाने र गृहकार्य कहिलेकाँहि छुट्दा शिक्षकहरुको कारवाहीमा पनि परें । गृहकार्य नगरेकै कारण शिक्षकबाट पटक पटक कुटाई खाएको थिएँ । खान नपाउँदा समेत म कोहिसँग गुनासो गर्दिन थिएँ । कसैले सोध्यो भने खाईसके भनेर हासिदिन्थें । कहिल्यै लामो हात गरिन । बाल्यकालमा अन्य उटफट्याङ्ग भए पनि चोर्ने र अभिभावकलाई सताउने काम भएन । 
विद्यालयमा कक्षा ६ बाट ७ मा जाँदा फेल भएँ । फेल भएकै कारण मलाई थप सहज भयो । मैले पुनः अध्ययन गर्दा मेहनत गरें । विद्यालयका अतिरिक्त कृयाकलाप भए पनि हाम्रो पालो कहिल्यै आएन । सामान्य खेलहरु बल, क्यारमे बोर्ड, लुडो जस्ता खेलहरु खेल्न पनि हाम्रो पालो आउँदैन थियो । अन्य विषयमा ध्यान समेत हुँदैन थियो । कक्षा ९ अध्ययन गरेपछि मात्रै मैले बस देखेको थिएँ । घरबाट दोलालघाट आईपुग्न ६ घण्टा लाग्दथ्यो । कोशिपारीका कतै पनि बाटो थिएन । नुन तेल मसला लगायतका सामाग्रीहरु बोकेर लैजानु पर्दथ्यो । अघिल्लो दिन घरबाट हिडेर दोलालघाट आउने गरेका थियौं । दोलालघाटबाट भारी बोकेर चुखाबेसी, पचुवारघाट गएर बास बस्ने गरेका थियौं । नुन र मलको भारी धेरै पटक बोकेर लगेको अनुभव छ । २०४२ सालको कुरा होला । पहिलो पटक दोलालघाट आएर बुबाले बोक्ने मलको बोराबाट केहि निकालेर बोकेको थिएँ । त्यहि बेला मैले गाडी देखें । धेरै पटक मैले त्यो गाडीलाई नमस्कार गरें । गाडी कसरी गुड्छ होला ? कौतुहलता भयो । बुबालाई गाडी चढ्न गरेको अनुरोध तत्काल पुरा भएन । एक वर्ष पछि गाडी चढ्ने अवसर मिल्यो । गाडी चढेर काठमाडौ जाँदा पृथ्वी घुम्यो । भोमिट भयो । सबै घुमेपछि मलाई कहिल्यै गाडी चढ्न मन लागेन । विस्तारै बानी त लाग्यो तर पहिलो पटक भएको त्यो घटनाको हरेक पटक गाडी चढ्दा मलाई याद आईरहन्थ्यो । 
एसएलसी असाध्यै कडा थियो । प्रभा माविबाट फलाँटेमा आउनु पर्दथ्यो । त्यहाँ डेरा लिएर बसेका थियौं । एसएलसीका लागि १० दिन डेरा पनि पाईन्नँ थियो । असाध्यै कठिन समय थियो । अभाव नै अभाव थियो । आजकालका केटाकेटीहरुलाई गरिएको ब्यवहार, सम्पन्नता, सुगमताको कुरा गरी साध्य छैन । यति हुँदा पनि बालबालिकाहरुको चित्त बुझेको छैन । एसएलसी आँगनमै, +२ र क्याम्पस समेत गाउँमै उपलब्ध छ । खाजा के खाने भनेर सोधिएको छ । खाजाका नाममा हामीले अम्बा तथा मौषम अनुसारको फलफुल चोरेर खाने गरेका थियौं । अहिलेका बच्चालाई टाई छ, हामीले चप्पल समेत कक्षा ७ सम्म लगाउन पाएनौं । बुबाले भारी बोकेर गरेको मेहनतमा हाम्रो सहयोग हुन्थ्यो । मसिंरमा एसएलसी दिएर असारमा रिजल्ट हुन्थ्यो । पेन्सिल किन्न बुबासँग पैसा हुँदैन थियो । अरुले विस्कुट खाँदा हामीसँग केहि हुँदैन थियो । बर्षमा एक पटक बुबाले दिएको २ रुपैया दिएर विस्कुट किनेर खाँदा अर्कै रमाईलो थियो । असाध्यै कडा थियो एसएलसी । घोकेरै पास गर्नु पर्दथ्यो । चिट चोर्ने सम्भावना थिएन । एसएलसी पास भईन्छ भन्ने ढुक्क थियो मलाई । अध्ययन राम्रै गरेकाले परिणाम पनि त्यस्तै आयो । असारको समयमा म काम गरिरहेको थिएँ । रेडियो सुनियो तर गोरखापत्र आउने सम्भावना थिएन । मैले तीन दिन पछि थाहा पाएँ । फेल हुने महसुस भएका साथीहरुले रिजल्ट हेर्ने जानु हुन्न थियो । अभिभावकलाई धेरै कौतुहलता हुन्थ्यो । त्यो समय १ सय २० जना भन्दा धेरैले एसएलसी दिएका थिए । ५० जना जति पास भए । प्रथम श्रेणी ल्याउनु त ठुलो कुरा थियो । म चाँहि तेश्रो श्रेणीमा पास भएँ । एसएलसी उर्तिण भए लगत्तै बनेपामा बसेर राजनीति र अध्ययन दुबै गर्न थालें । 
 
एसएलसी पछिः एसएलसी पास नहुँदै विद्यार्थी राजनीतिमा भएकाले एसएलसी दिए लगत्तै बनेपामा बस्न थालें । त्यहि बाट मैले १ नम्वर क्षेत्रका २९ वटा मावीमा संगठन निर्माणमा लागें । जिल्लाका अधिकांश विद्यालयमा मेरो उपस्थिती रह्यो । बनेपामा डेरा लिएर बसेपछि मलाई संकट निम्तियो । अहिलेका माननिय मन्त्री गोकुल बास्कोटाको डेरामा धेरै समय बसें म । प्रचण्ड बञ्जाराको घरमा बसें । उहाँले मलाई धेरै सहयोग गर्नु भयो । हरिशरण दाहाल देविटारबाट डेरा लिएर बस्नु भएको थियो । उहाँले पनि सहयोग गर्नु भयो । सुरेश हुमागाई साथीहरु बिच अलिक सम्पन्न हुनुहुन्थ्यो । उहाँको बुबा जागिरे भएकाले मलाई सहयोग गर्नु भएको थियो । सबै साथीहरुको माया थियो मलाई । म अलिक कमजोर थिएँ आर्थिक रुपमा तर मेरो सक्रियता धेरै थियो । अहिलेकी सांसद एवं अखिलको केन्द्रिय अध्यक्ष नविना लामालाई पहिलो पटक संगठित गरेर अखिल बनाएको थिएँ । उनमा एकखालको उत्साह थियो । उनको पक्षमा साथीहरुको लहर पनि थियो । उनलाई संगठनमा राख्दा हाम्रो संगठनलाई राम्रो हुन्छ भन्ने लागेकाले उनलाई कमिटीमा राखिएको थियो । प्रभावशाली महिला थिईन् उनी कक्षामा । महिलाहरु कम थिए तर पनि भएका प्रभावकारी र प्रभावशाली थिए । 
२०५२ सालमा माओवादीका जनयुद्ध शुरु भयो । म विदेश गएँ । दुबईमा चार वर्ष बसेर फर्किए । २०५८ सालमा विदेश गएर २०६२ सालमा फर्किएँ । असाध्यै कठिन अवस्था भयो । गाउँमा बस्ने बातावरण भएन । शहरमा बसौं कसरी बसौं ? बन्दुक बोकेर जानुको विकल्प थिएन । शहरमा बसेर हातमुख जोर्ने अवस्था थिएन । दर्दनाक अवस्था मेरो जीवनमा आईलाग्यो । कोठाभाडा कसरी तिर्ने, अध्ययन कसरी गर्ने, खाने के ? कसैलाई केहि भनिनँ मैले । परिवार छट्पट्टियो । पाँच दिनको दिनमा दुबईमा भवन निर्माणमा गएँ । मलाई त्यसो भनिएको थिएन । दलालले मलाई विल्डिङ्ग कन्ट्रक्सनमा पठाएको रहेछ । ७० हजार ऋण गरेर गएको छु । मरुभूमीमा ७० डिग्री तातोमा कसरी काम गरौं ? धेरै रोएँ । बसौं कसरी ? जाउँ कसरी ? कहाँ जाउँ । मर्नु भन्दा बहुलाउनु निको भने झै काम गर्न थालें । सिमेन्टका बोरा बोक्न थालें । बाक्लो खालको कपडा लगाउनु पर्दथ्यो । पसिना चुहिएर झरेको चिसोले शितलता प्रदान गर्दथ्यो । बालुवाको तातोले झनै सकस बनाउँथ्यो । तलब जम्मा १५ हजार नेपाली रुपैया थियो । १२ घण्टा खट्दा पनि पैसा कम दिएपछि विद्रोह गरें । १२ नेपालीलाई लगेर थुनियो । मलाई नेपाल फर्काउन लागियो । मेरा लागि अरु साथीहरुले पनि संर्घष गरे । साथीहरुले गरेको आन्दोलनले मेरो पुनवहाली भयो । एक वर्ष पुरा भएपछि म फर्कन थालें । तर उनिहरुले मानेनन् । नेपालबाट विदेश गएको रकम उठाएर फर्कनु पर्छ भन्ने लाग्यो । गाउँको सबै जमिन विक्री गर्दा २ लाख रुपैया आउँदैन । नेपाल आएर कसरी बस्ने ? के गर्ने ? मासिक १० हजारका दरले बचत गर्न सफल भएँ । निरन्तर तीन वर्ष त्यहि कन्ट्रक्सनमा काम गरें । बाच्नकै लागि म विदेशिएको थिएँ । नेपालमै केहि गर्न सक्थें तर मलाई बाच्नु थियो । 
आज गाउँ उजाड छ । बस्ति खाली छ । एउटा विद्यालयमा तीन जना विद्यार्थी छन् पाँच जना शिक्षक छन् । गाउँ पुरै शुन्य भयो । गाउँमा बाँदर धपाउन साथी छैनन । घरमा बाँदर पसेर घर भित्रको मकै खाईसके । बाँदर धपाउन जाँदा भाग्दैन । गाउँभरी चिच्याई । कोहि आउँदैन । बलियो ब्यक्ति मरेको अवस्थामा बोकेर घाटमा पु¥याउने मान्छे छैन । गाउँको असाध्यै दर्दनाक अवस्था देखेर रुन मन लाग्छ । युवाहरु गाउँ बस्न सकेनन । युद्धकै कारण विस्थापित मान्छेहरु शहरमा कुनै न कुनै ढंगबाट सेटल भए । सुख हुन थाल्यो अब मान्छे गाउँ फर्कन मान्दैन । सम्भावना नै सम्भावना छ । खेति लाग्ने जमिनहरु बाँझो छन् । खेति गर्ने मान्छे छैनन । केहि दिन अघि जागिर माग्ने केहि ब्यक्तिहरुलाई गाउँमा लगें । महिनाको १० हजार तलब दिएर काममा लगेको ब्यक्तिहरु गाउँमा बसेनन् । बाख्रापालनका लागि लगेका ब्यक्तिहरु टिक्न सक्दैनन । सुन्दर बस्ति छ । हामी निर्वाचित भएको एक वर्ष भयो । थुप्रै योजना बनाएका छौं । कृषि क्षेत्रलाई फराकिलो दायरमा ल्याउन सकियो भने परिवर्तन सम्भव छ । खानेपानीको समस्या छ । सिंचाईको समस्या छ । दुई वर्ष भित्र वडा नम्वर ६ को सबै खानेपानी समस्या समाधान हुन्छ । चौरीखोलाबाट पाथिभरामा पु¥याएर लिफ्टको माध्यमबाट खानेपानीको ब्यवस्थापन गरिनेछ । हामीले जमिने खनेर पानी निकालेर तत्कालको समस्या समाधान गरेका छौं । माछा पोखरी बनाउने योजना छ । बाँझो जमिनलाई खेतियोग्य बनाउने योजना छ । आयआर्जनका कार्यक्रमहरु अघि सारिएका छन् । सिंचाई भएको स्थानमा मान्छे छैनन, मान्छे भएको स्थानमा सिंचाई छैन । चौरीखोला र सुनकोशीबाट ड्याम बाँधेर सिंचाईको ब्यवस्था गरिने योजना छ । विदेशको अवस्था हेरेर असाध्यै मन फाटेको छ । भावना भएका युवाहरुको जमिन छैन । अब जमिन बाँझो राख्नेलाई कर लगाईन्छ । युवाहरुलाई स्वरोजगार बनाईन्छ । 
विदेशबाट फर्किएपछि म निरन्तर राजनीतिमा लागें । केहि समय पत्रकािरता पनि गरें । त्यहाबाट पनि जीवन संचालन हुन सकेन । मेरो श्रीमतीले बानेश्वरमा पसल गरिरहेकी छिन् । मासिक ५० हजार रुपैया भाडा तिरेर राखिएको पसलले गरेको आम्दानीले मेरो जीवन बाँचेको छ । विदेशबाट ल्यएको पैसा त्यहि पसलमा लगानी गरियो । दुई सन्तान छन् । उनिहरुको लालनपालन समेत त्यहिबाट भएको छ । पार्टीले विश्वास गरेर टिकट दियो, जनताले विश्वास गरे । म निर्वाचित भएँ । शिक्षालाई निरन्तरता दिन सकिन । शिक्षा र राजनीति सँगै लैजानु पर्ने रहेछ । पढ्न नसकेकोमा खेद छ । त्यतिबेला अध्ययनलाई प्राथमिकता दिनु पर्दथ्यो । 
 
राजनीतिः कक्षा ९ मा अध्ययन गर्दा म अखिलको प्रारम्भिक कमिटी अध्यक्ष भएँ । क्षेत्रिय कमिटी सदस्य हुँदै कक्षा १० मा अध्ययन गर्दा गर्दै जिल्ला सदस्य भएँ । कोशिपारीमा विद्यार्थी राजनीति कृयाशिल थियो । कोशिपारीका ९ वटा माध्यमिक विद्यालयमा मैले संगठन निर्माण गरेको थिएँ । मलाई ति विद्यालयहरुको जिम्मेवारी थियो । विद्यालय विदाको समयमा तथा एसएसली दिएर बसेको समयमा समेत संगठन निर्माण गरें । गाउँमा असाध्यै ठुलो दमन थियो । लामो समय कात्तिकेदउरालीमा दुई समुह विच टकराव थियो । गिरीहरुले लामो समय शासन गरे । म बाल्यकाल देखि नै उनिहरुको थिचोमिचो, उनिहरुको शासनबाट असुन्तुष्ट थिएँ । विद्यालय वरिपरी तिनै शासकहरुको बसोबास थियो । 
मेरो स्वभाव क्रान्तिकारी खालको थियो । कसैको शोषण र दबाब मेरा लागि सह्य थिएन । उनिहरुको शोषण विरुद्ध म संगठित भएको थिएँ । शोषण गर्ने शासन विरुद्ध बोल्न पुग्दा म अखिल भएछु । बहुदल प्राप्त भएपछि बाहुन र गिरीहरुको फरक फरक समुह बन्यो । कांग्रेस र कम्युनिष्ट राजनीति थिएन । उनिहरु कांग्रेसमा लागे, हामी कम्युनिष्टमा लाग्यौं । उनिहरु विरुद्ध संर्घष गर्ने अभियानमा हामीले विद्यार्थी संगठनमा आवद्ध भएर थप संर्घष ग¥यौं । विद्यालयमा धेरै कार्यक्रम भए । अनेरास्ववियु पाँचौ र छैटौ थिए । विद्यालयमा एउटा कार्यक्रम आयोजना गरिएको थियो । अखिलको अध्यक्ष थिएँ म । कार्यक्रम चलिरहँदा हाम्रा पक्षका १० जना विद्यार्थीहरु घाईते भए । नेविसंघको नेतृत्व त्यहि समुहले गरेको थियो । रामेछापका हिरालाल दोङ्गले धेरै पिटाई खानु भयो । त्यसपछि ठुलो आन्दोलन भयो । रामेछाप, माँदनकुँडारी लगायतका स्थानमा कम्युनिष्टहरुको बर्चश्व बढेपछि कात्तिकेदेउरालीमा प्रहरी चौकी स्थापना भयो । हामीलाई मुद्दा लगाईयो । तीन दिन थुनिन पुगें । धुलिखेलमा थुनिएर गाउँ फर्कँदा हामीलाई धेरै स्वागत गरियो । 
बुबाले मलाई गाली गर्नु हुन्थ्यो अध्ययन छाडेर राजनीति ? गाउँबाट ६ घण्टा हिडेर बैठकमा आउँदा बनेपाकै साथीहरु अनेरास्ववियुका साथीहरु उपस्थित हुँदैन थिए । पैसाको महत्व धेरै थियो । दोलालघाटबाट बनेपा आउँदा ५ रुपैया गाडी भाडा थियो । मलाई १२ रुपैया चाहिन्थ्यो । घरबाट चामल ल्याएर विक्री गर्ने गरेको थिएँ । कहिलेकाँहि शिक्षकहरुले मलाई पैसा दिएर समेत पठाउनु हुन्थ्यो । बोक्से प्राविका शिक्षकहरुले आफ्नो तलब कटाएर खर्च उपलब्ध गराउनु हुन्थ्यो । १० रुपैया गाडी भाडा र २ रुपैयाको चिउरा तरकारी भए पनि मलाई खर्च पुग्थ्यो । डिल्लीप्रसाद चौलागाई गुरुले मलाई धेरै सहयोग गर्नु भयो । दोलालघाटबाट बनेपा आउँदा धेरै पटक पैसा भएन । एक पटक खल्तिमा कलम थियो । कण्डक्टरले पैसा माग्दा दिन नसकेर कलम दिन्छु भनें । उनले मान्दै मानेनन् । पैसा छैन भनेर कलम निकालेर दिएपछि उसले मलाई गाडी रोकेको ठाउँमा भाडा होईन खाजा खुवाएरै बनेपा ल्याईदिए । कसैसँग २ रुपैया माग्दिन थिएँ । एसएलसी दिएपछि पनि मैले कसैसँग पैसा मागिन । तीन दिनसम्म भोकै बसें । तर साथीहरुलाई समेत भोकै छु भनिन । 
प्रारम्भिक कमिटी अध्यक्ष, जिल्ला सदस्य, अखिलको उपाध्यक्ष भएँ । पछि जिल्ला अध्यक्ष भएँ । पार्टीको इलाका कमिटी सदस्य भएँ । इलाकाको इन्चार्ज समेत भएँ । आदरणिय शिवबहादुर देउजा सचिव हुनुुहन्थ्यो । नाग्रेगगर्चेको इन्चार्ज समेत भएँ । स्कुल विभागको जिल्ला सदस्य भएँ । पार्टीको कार्यालय सचिवका रुपमा काम गरें । निरन्तर पार्टीका काम र पार्टीले दिएको जिम्मेवारीमा छु । जनता र कार्यकर्ताको विश्वासमा पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने अभियानमा छु । चौरीदेउराली गाउँपालिकामा एकल शतिसाल भएँ नेकपा एमालेको । कुनै वडामा एमालेले विजय हासिल गर्न सकेन । नेकपा एमालेले कात्तिकेदेउरालीमा बाहेक अन्यत्र विजय हासिल गरेन । विकासप्रेमी, शिक्षित ब्यक्तिहरुको सहभागिता वडामा छ । कोशिपारी क्षेत्रकै केन्द्रका रुपमा रहेको कात्तिकेदेउरालीलाई अझै सम्वृद्ध बनाउने छु । पाँच वर्षमा त्यो क्षेत्रको परिवर्तनका लागि अहोरात्र खटिनेछु । जनताको मनमा मल्हम लगाउने प्रयास गर्नेछु । हाम्रो क्याप्टेन दिनानाथ गौतम हुनुुहन्छ सह क्याप्टेनका रुपमा निरन्तर काम गर्नेछु । 
 
जागिरः जागिर प्रति घृणा थियो । तत्कालिन माननिय गोविन्दनाथ उप्रेति श्रम राज्यमन्त्री हुँदा स्वकिय सचिव थिएँ । मलाई उहाँ कुर्सीमा बसिरहँदा मलाई त्यस ठाउँमा पुग्ने प्रयत्न हुन्थ्यो । त्यसका लागि राजनीति निरन्तरता आवश्यकता थियो । निरन्तर राजनीति गरें तर जागिर खाने सोच बनाईन । 
 
प्रेम र विवाहः मेरो मागि विवाह नै भयो । त्यतिबेला प्रेम गर्ने चलन थिएन । तर पनि म अखिलको अध्यक्ष भईरहँदा कक्षा ९ मा अध्ययन गर्ने गाउँकै एक जनासँग आँखा गढ्यो । सिधै उनको घरमा गएर परिवारसँग मागें । परिवारले सहमति दियो । मैले विवाह गरें । विद्यालयमा राजनीति धेरै भएकाले प्रेमका बारेमा चर्चा गर्ने र चलाउने सम्भव थिएन । बोल्न पनि लाज लाग्थ्यो । जसलाई मन पराएँ त्यहिसँग विवाह गरें । प्रभामा पढ्थिन् उनि । ७ वर्षको उमेर कम छ मेरो भन्दा । विवाहको झण्डै २० वर्ष भएको छ । २०५४ साल बैशाख २९ गते मेरो विवाह भयो । 
यो विचमा कहिलेकाँहि सामान्य खटपट बाहेक अन्य केहि भएन । उनकै साथ र सहयोगमा मैले मेरो राजनीतिक यात्रालाई अगाडी बढाउन सहज भयो । संकट पर्दा समेत उनले हरेस खाईनन् । अहिले तपाईको कार्यक्रममा आउँदा पनि उनैसँग एक हजार खर्च मागेर आएँ । उनी सक्षम छिन् । पहिलो सन्तान १० कक्षामा पुग्यो । अर्काे सन्तान नर्सरीमा अध्ययन गर्छ । १३ वर्षको फरक छ दुई सन्तानको । घरमा समयमा पुग्न नसक्दा कहिलेकाँहि विवाद हुन्छ सामान्य हो । 
 
जीवनः सुन्दर फुल । 
 
प्रेमः सुन्दर बस्तु । 
 
विवाहः बन्धन । 
 
शारिरिक सम्वन्धः आनन्द । 

प्रकाशित मिति: 24 May, 2018