डायरी मनको

गणितको ‘दुनोट’ पानी पानी हुन्थ्यो

प्रेम लामा
प्रवक्ता
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक
जन्म, बाल्यकाल, औपचारिक शिक्षाः साविक ज्याम्दी गाविस वडा नम्वर ५ हालको भुम्लु गाउँपालिका वडा नम्वर ९ गैरीखोलामा २०३६ साल भदौ २२ गते बुबा कृष्णबहादुर तामाङ र आमा धनकुमारी तामाङको कोखबाट मेरो जन्म भयो । बाल्यकाल गैरीखोलामै वित्यो । माध्यमिक तहसम्मको अध्ययन बागदेवी मावि, देउराली चौरमा भयो । जुन विद्यालयमा क ख शुर गरियो त्यहि विद्यालयबाट एसएलसीसम्मको अध्ययन भयो । म परिवारको कान्छो सन्तान थिएँ । मेरो परिवार राजनीतिक परिवार रहेछ । बुबा त्यतिबेला पनि वडा अध्यक्ष हुनुुहुँदो रहेछ । एक दाई, एक दिदी पछि मेरो जन्म भएको रहेछ । मेरो जन्म भएको ५ महिनामै बुबाले परिवार नियोजन गरेर थप सन्तान आवश्यक छैन भन्ने निर्णय गर्नु भएको रहेछ । छोराहरुलाई पढाउने र छोरीहरुलाई नपढाउने चलन थियो । बुबाले हामी दुवैलाई विद्यालय पठाउनु भयो । समाजमा विद्यालय जानु पर्छ भन्ने सोचको त्यतिबेलासम्म विकास भएको थिएन । 
एसएलसी पास गर्ने तामाङको छोरा त्यो वडामा पहिलो म थिएँ । आईकम र विविएस पास गर्ने पनि पहिलो म नै भएँ । पढाई मेरो तेज थियो । कक्षा २ अध्ययन गरेपछि कक्षा ३ अध्ययन नगरी ४ मा भर्ना भएको थिएँ । विद्यालयमा असाध्यै राम्रो भएकाले मलाई कक्षा फड्काएको थियो । गणितको दुनोट, एविसिडी, भागहरु सबै मलाई आउँथ्यो । कक्षा ४ देखि मात्रै अंग्रेजी अध्ययन गर्नु पर्दथ्यो । कक्षामा सानै विद्यार्थी थिएँ । एसएलसीसम्म पनि म असाध्यै राम्रो विद्यार्थी भएँ । पहिलो पटक विद्यालयबाट दोश्रो श्रेणीमा पास भएर मैले विद्यालयको नाम राखेको थिएँ । कुनै कक्षामा पनि मैले अध्ययनका लागि पछाडी फर्कनु परेन । त्योक्रम पछिसम्म रह्यो । आईकममा दोश्रो वर्ष फाईनान्समा फेल भएको थिएँ । हाम्रो समयमा तत्काल पुरक दिने अवसर मिल्यो । त्यहि वर्ष पास भएँ । विविएस अध्ययन गर्दा मैले ९ महिना गाडी चलाएर बाँकी ३ महिना अध्ययन गरेर पास भएको थिएँ । ट्युसन पढ्ने र घरमै मेहनत गर्ने बानीले मलाई विविएसमा समेत सहज भयो । नियमित विद्यालय जाने, शिक्षकहरुले दिएको पाठ कण्ठस्थ बनाउने, गृहकार्य गर्ने मेरो बानी थियो । 
२०३२ साल देखि मेरो घरमा किराना पसल रहेछ । गाउँभरीका मान्छेहरु मेरो घरमा आउने रहेछन् । विद्यालय जाँदा पनि मैले खल्तिभरी चकलेट लिएर जाने गरेको थिएँ । कहिलेकाँहि मलाई कडाई गरे जस्तो हुन्थ्यो । खासै मतलब थिएन । तर कहिलेकाँहि पैसा नै चोरेर विद्यालय नजिकको पसलमा पुगेर विस्कुट र चिया खान्थ्यौं । म एक्लै खान्न थिएँ । त्यो बेला सबैलाई बाँडेर खाने बानी मेरो अहिलेसम्म छ । पछि विविएसमा ल्याकत सम्वन्धी कथा पाठ्यक्रममा अध्ययन गर्नु परेको थियो । बाल्यकालमा मान्छेको बानी जुन विषयमा छ त्यहि बानी जीवनभर हुने रहेछ । देउसी खेल्दा भट्टयाउने पछि नेतृत्वमा हुने रहेछ । पैसा उठाउने ब्यवस्थापक हुने रहेछ । देउसीरे भन्ने चाँहि सहभागी मात्रै हुने रहेछन् । त्यतिबेला लागेको बानी ‘ल्याकत’ जीवनभर लागु हुने रहेछ । स्कुलमा मेरो विवाद भईरहन्थ्यो । कक्षा १० सम्म पढाउँदा पनि शिक्षक पर्याप्त थिएनन् । दरवन्दी सँख्या ८ थिए । शिक्षकहरु १० जना मात्रै थिए । विषयविज्ञ शिक्षक थिएनन् । देशभरकै अवस्था त्यस्तै थियो होला । कोर्ष पुरा पढाई हुँदैन थियो । रामबाबु शाह शिक्षकले कृषि विषय पढाउनु हुन्थ्यो । उहाँले पुस्तकमा भएको बाहेक अन्य केहि पढाउनु हुन्न थियो । आफै पाठ पढेर सकाएपछि पाठ्यपुस्तक सकिएको हुन्थ्यो । अतिरिक्त कृयाकलापका लागि प्रशासनसँग हामी पटक पटक विवाद गर्दथ्यौं । शब्दलाई भावमा ब्यक्त गर्न नपाउँदा गाह्रो थियो । शिक्षकहरुले कुखुरा बनाउने, चिर्पट हान्ने, चउर घुमाउने काम गराउनु हुन्थ्यो । २०४२ सालमा बुबाले गाउँमा उपप्रधानपञ्च जिते पछि मेरो घरमै शिक्षकहरु बस्न थाल्नु भयो । उहाँहरुसँग घरमै अध्ययन गर्ने काम पनि हुन्थ्यो । 
विद्यालय गएका हामी बस चढ्न, पौडी खेल्न जाने गरेका थियो । कक्षा छाडेको कुरा शिक्षक र अभिभावक दुबैले थाहा पाउनु हुन्थ्यो । अतिरिक्त कृयाकलापमा हामी भलिबल खेल्ने गरेका थियौं । कक्षा ९ मा अध्ययन गर्दा हामीले विद्यालय स्तरीय प्रतियोगितामा भाग लिएर पुरस्कार जितेका थियौं । चिप्लेटी खेल्ने, बल खेल्ने बाहेक अरु केहि भएन । एउटाले बल ढ्याङ्ग हान्यो आकाश छुने गरी पुग्थ्यो । सबैलाई रमाईलो हुन्थ्यो । विद्यालय जाने बेला त्यति बरालिने समय भएन । २०४४ सालमा घरमा बुबाले गाडीको ब्यवसाय शुरु गर्नु भयो । बुबा र आमा बसाई सराई गरी अरनिको राजमार्गमा बस्न थाल्नु भयो । पसल पनि त्यतै सार्नु भयो । हामी माथी गाउँमै बस्ने गरेका थियौं । गाडीको ब्यवसायमा दाईले सहयोग गर्नुभयो । दाई काठमाडौ बस्न थाल्नु भएको थियो । मिनीबस थियो हाम्रो । दाईकै साथमा रहँदा रहँदै मैले गाडी चलाउन थालें । एसएलसी दिए लगत्तै २०५२ सालमा हेभि गाडीको लाईसेन्स लिन थालें । गाडी चलाउन मलाई सहज हुन थाल्यो । मैले सिकेको भन्दा पनि हेर्दा हेर्दै जानेको थिएँ । कहिलेकाँहि खोलामा गाडी धुन जाँदा चलाई हेर्ने, यता उता सार्दा सार्दै सिकेको थिएँ । पछि पेशाकै रुपमा गाडी चलाएँ । विद्यालय जीवनमा पनि धेरै पटक गाडीमा आउने जाने भयो । विद्यालय विदा भएको बेला बसमै हिड्ने गरेको थिएँ । 
गणित विषयमा मलाई असाध्यै सहजता लाग्थ्यो । तामाघाटमा ट्युसन पढ्न डेरामा बसेका थियौं । एसएलसी आउनु तीन महिना अघि असाध्यै प्याक हुन्थ्यो शिक्षकहरुको डेरा । म पनि पाँचखालमै डेरा गरेर बसेको थिएँ । पढेर बस्दा खेरी अरु विषय पढे पनि गणित पढ्नु पर्दैन थियो । अरु साथीहरुलाई म पढाउँथें । साथीहरुलाई नआएको कुरा सिकाए बापत मलाई अण्डा उसिनेर खुवाउनु हुन्थ्यो । आफुलाई कण्ठस्थ भएपछि साथीहरुसँग मिलेर पैसा उठाएर कुुखुरा काटेर खाने रमाईलो गरिन्थ्यो । चिनो, बलिदान जस्ता फिल्म पछि हेरेका थियौं । फिल्म नै हेर्नु पर्छ भनेर लत बसेन । समय र फिल्म हेर्ने स्थान पनि थिएन । चिनो फिल्म चलेका बेला ७ पटकसम्म हेरेको थिएँ । एसएलसीमा चिट कहिल्यै चोरिनँ । चिट चोर्न कठिन थियो । विद्यालयको पहिलो हुने विद्यार्थी मलाई त्यसै आँट थियो । एसएलसी महादेवस्थानमा थियो । दुर्गा प्रसाद घोरसाईने सर केन्द्राध्यक्ष हुनुहँुदो रहेछ । उहाँले कक्षामै आएर बागदेवीको फस्ट ब्वाई को हो ? सोध्नुभयो । ढाडमा आएर धाप मार्नु भयो । मलाई आँट बढ्यो र सहज अनुभव भयो । हामी विद्यालयको दोश्रो ब्याच थियौं । पहिलो ब्याचमा ४ जनामा सबै तेश्रो श्रेणीमा पास हुनु भएको थियो । हाम्रो समयमा ३२ जनामा पनि ४ जना नै पास भयौं । तीन जना तेश्रो श्रेणीमा र म २ नम्वरले ३१७ नम्बर ल्याएर दोश्रो श्रेणीमा पास भएँ । हामी पास हुँदा शिक्षा राज्यमन्त्री ल्याएर सम्मान गरिएको थियो । अगाडी गएर भाषण गर्न लगाईएको थियो । लेखेर कण्ठ पारेर भाषण गर्न मञ्चमा पुगेको भए पनि सुनाउन सकिनँ । धेरै समय मञ्चमा बस्न नसकेपछि विदा भएर आएँ । विरबहादुर मोक्तान र भैरव थापा सरले ज्याम्दीको शिक्षा क्षेत्रमा अतुलनिय योगदान गर्नु भएको छ । विरबहादुर सर आफु हेडसर हुँदा हुँदै भैरव सरलाई काठमाडौबाट ल्याएर विद्यालय सुधारका लागि हेडसरको पद हस्तान्तरण गर्नुभयो । अभियन्ताका रुपमा दुबै सरले ज्याम्दीमा पु¥याएको योगदान सबैले सधै सम्झिरहने छन् । विद्यालय स्थापनाका लागि राख्नुपर्ने धरौटी रकम घर घर पुगेर एक सय रुपैया समेत संकलन गरेर बुझाईएको थियो । त्यो कष्टले स्थापना भएको विद्यालयमा हामीले सहज रुपले अध्ययन गर्न पायौं । 
रेडियो नेपालबाट रिजल्ट भएको सुनियो । गोर्खापत्र किन्न घरबाट एक सय रुपैया लिएर न्युरोड पुगें । बल्लबल्ल लाईन बसेर किनेको पत्रिकामा दोश्रो श्रेणीमा रिजल्ट हेरेको पास भएछु । औधी खुशी भएँ । भुईमा खुट्टा नै रहेन । बनेपा आयौं । बनेपामा आउँदा अरु साथीहरु भेट भयो । उहाँहरुले पनि पत्रिका किन्नु भएको रहेछ । जो जो साथीहरु भेट भयौं सबै पास मात्रै भएका रहेछौं । झनै खुशी भयौं । घरमा आएर खुशीको कुरा सुनाउँदा सबै खुशी हुनुभयो । एसएलसी दिएर बाँकी रहेको समय मैले गाडीमै विताएको थिएँ । गाडी सिक्ने, बसमा हिड्ने र आफै चलाउने सम्म गरें । त्यसले मलाई सहज बनायो । एसएलसी उत्तिर्ण भएपछि सबै छाडेर म काठमाडौ गएँ । काठमाडौंमा गएर मिन भवन क्याम्पसमा कमर्श अध्ययन गरें । आईकममा भर्ना भएको हामी अन्तिम ब्याचका विद्यार्थी थियौं । त्यतिबेला पछि आईकम क्याम्पसहरुमा हट्यो । 
 
एसएलसी पछिः एसएलसी पछि म राजधानीमा बस्न थालें । एसएलसी पास गर्दा गर्दै दुईवटा बस थिए हाम्रो । दाईले त्यो बस हेरिरहनु भएको थियो । पछि बस विक्री गरेर ट्रक किन्नु भयो । त्यो ट्र्कबाट आम्दानी भएन । २०५३ मा दाईले गाडी विक्री गरिदिनु भएको रहेछ । डेढ वर्षसम्म हामीले गाडीको ब्यवसाय गरेनौं । आईकम अध्ययन गर्दै थियौं । २०५५ सालमा बुबाले मिनि ट्रक किनिदिनु भयो । शुरुमा मैले चलाईनँ । एक महिना पछि मैले त्यहि ट्रक चलाउन शुरु गरें । हेभि लाईसेन्स पनि लिएको थिएँ । आईकम पनि पास भएँ । पढ्न लोभ लाग्यो । २०५६ मा काभ्रे क्याम्पसमा विविएसमा भर्ना भएँ । गाडी चलाउँदै विविएस अध्ययन गर्दै गरें । ८÷९ महिना गाडी चलाएर थोरै समय ट्युसन पढेर परिक्षा दिने गरेको थिएँ । बनेपाको चण्डेश्वरीमा कोठा थियो । काठमाडौ बस्दा रमाईलो भयो । ३५ सय तिरेर माउण्टेन साईकल किनेको थिएँ । पत्रिका धेरै पढ्थें म । रुपचन्द्र विष्टको थाहा भन्ने विषयमा चासो थियो । उहाँ जहाँ आयो त्यहि भाषण सुन्न जाने गरेको थिएँ । उनका किताबहरु किनेर पढ्ने गरेको थिएँ । कोठामा खाना पकाउँदा तरकारीमा झोल राखेर खाने गरेका थियौं । रुपचन्द्र आउने थाहा पाए पछि खानै नखाई दौडन गरेका थियौं । रुपचन्द्र विष्टको भाषणले मोह जगायो । मान्छेले थाहा पाउनु पर्छ । थाहा पाउँदा मात्रै होस खुल्छ । हामी कसैका होईनौं । हामी चेतनाका मात्रै हौं । उनको प्रभाव साँच्चै थियो । अध्ययन गर्दा गर्दै म ब्यवसायमा प्रवेश गरें । 
 
जागिरः मलाई जागिर खाने भुत चढेको थियो । राम ठकुरी र म बच्चै देखिका साथी । स्कुल पढ्दाको रुम पार्टनर । जनक शिक्षा समाग्री केन्द्र लिमिटेडमा फाराम भर्न गयौं । फाराम भरेको सफल हुन सकिएन । कोशिस धेरै भयो तर नाम निकाल्न सकिएन । जागिर नपाएका कारण गाडीमै हात हालें । त्यहि ब्यवसाय शुरु भएपछि जागिरको मतलब भएन । 
 
ब्यवसायः सानै देखि सिकेको गाडी मेरो ब्यवसाय बन्यो । जागिर पनि नपाएपछि ब्यवसायीक रुपमै गाडी चलाउन थालें । गाडी चलाएर कमाएको पैसा मैले स्प्लेन्डर मोटरसाईकल किन्न खर्च गरें । ५० हजारमा सेकेण्ड ह्याण्ड मोटरसाईकल खरिद गरेको थिएँ । ४ वर्ष मज्जाले गाडी चलाएँ । ज्याम्दीबाट तामाघाटसम्म दुध बोक्ने काम गरेको थिएँ । कसैको गाडी थिएन मेरो बाहेक । तरकारीको सिजनमा तीन महिना जति हरेक रात काठमाडौ पु¥याउने गरेको थिएँ । दुई टिप राति तरकारी कालिमाटी पु¥याएर विहान ७ बजे ज्याम्दी आएर दुध लिएर जाने गरेको थिएँ । असाध्यै राम्रो कमाई थियो । फर्कँदा पनि ढुटो चामल लैजाने गरेको थिएँ । त्यहि कमाईले मैले थप २ वटा ट्रक किनेको थिएँ । पछि चारवटा जति गाडी भएपछि म ब्यवस्थापनमा लागें । गाडी चलाउन छाडिदिएँ । 
माओवादी द्वन्द्वले ब्यवसाय संकट बनायो । अरुका गाडी थिएनन् । गाउँमा माओवादी नबोकौं उनिहरुको धम्की । बोकौं सेनाको टार्गेट । असाध्यै विचमा परेपछि मैले सबै गाडी विक्री गरिदिएँ । गाडी ब्यवसाय चटक्कै छाडिदिएँ । २०६१ सालमा म गाडी मुक्त भएँ । दोलालघाटमा ३ वर्ष किराना पसल गरें । २०६२ जेष्ठ १७ गते विवाह गरें । विवाह पछि सानो सानो क्रसर शुरु गरें । क्रसर सँगै मैले टिपरको ब्यवसाय शुरु गरें । २०६४ सालमा टिपर किनें । अहिलेसम्म पछाडी फर्कनु परेको छैन । टिपर नै टिपरको कारोवार भईरहेको छ । त्रिवेणी क्रसर उद्योग पाँच जना साथीहरु मिलेर खोलेका थियौं । खासै सफल हुन सकेन । विस्तारै साथीहरुको समुह घट्दै गयो । अन्तिममा हामी दुई जना भयौं । हाम्रो सानो क्रसर ठुला क्रसरहरु स्थापना हुन थालेपछि विस्थापित हुन पुग्यो । क्रोन क्रसर आउन थालेपछि ज्यालादारी मजदुरको खर्च धेरै हुन थाल्यो । २०६५ सालमा क्रसर विक्री गरेर काठमाडौ प्रवेश गरें । त्यहाँबाट दुईवटा टिपर किनें । काठमाडौका गल्लि गल्लि घुमें । काठमाडौमा गिटी बालुवाको बजार कस्तो छ भनेर सर्भे समेत गरें । कान्तिपुर दैनिकमा एउटा लेख प्रकाशित भएको रहेछ । नेपालमा ठुला ठुला विकास गर्न गिटी बालुवा आवश्यक छ भन्ने कुरा देखाईएको थियो । त्यो मेरो प्रेरणाको श्रोत बन्यो । नेपालमा हेभि इक्विमेन्टको संख्या कम छ । त्यो योजना सम्पन्न गर्न त्यस्तो धेरै जनशक्ति, श्रम र रोजगार आवश्यक छ भन्ने देखायो । निर्माणको क्षेत्र अथाह रहेछ भने पछि मलाई त्यहि पेशा ब्यवसाय गर्न मन लाग्यो । मैले त्यहि कुराको खोजी गर्न थालें । 
२०५७ सालमा दोलालघाटमा मैले घर बनाईसकेको थिएँ । घर सँगै क्रसर पनि थियो । त्यहाँ रहेको क्रसरका कारण मलाई केहि सहज भएको थियो ,। गिटी नाप्ने, विक्री गर्ने, क्रसरको काम हेर्ने सबै कुराले प्रभाव बनायो । विविएस अध्ययन गर्दा रिसर्च गरेको थिएँ । हरेक कुराले मलाई प्रेरणा थियो । काठमाडौमा सप्लाई गर्ने मध्येको औलामा गन्न सक्ने सप्लायर्समा पर्दछु । सुन्दरीजलको खानेपानी, होटल सेराटन, सिभिल आरयनसी, चाईनिज कम्पनी लगायतका थुप्रै स्थानमा मेरो सामान सप्लाई भईरहेको छ । काठमाडौको सप्लायर्स मध्ये उत्कृष्ट र ठुृलो सप्लायर्समा पर्दछु । अहिले त्यहि काम गरिरहेको छु । सम्भवतः ब्यवसाय निरन्तर अगाडी बढिरहन्छ । राजनीति र ब्यवसाय एक अर्काका परिपुरक भएका छन् । युवा संघको अभियान पनि हो । 
 
राजनीतिः मलाई राजनीतिमा कौतुहलता जगाउने काम शिव भुर्तेलसरले गर्नु भयो । शिव भुर्तेल सर मेरो घरमा आउनु हुन्थ्यो । उहाँले असल कम्युनिष्ट कसरी बन्ने ? द्वन्द्वात्मक भौतिकबाद के हो ? यस्ता कितावहरु ल्याएर कक्षा ८ देखि नै पढ्न लगाउनु भयो । त्यो सम्वन्धी ज्ञान बढ्न थाल्यो । निरन्तर प्रकाशनका कितावहरु अध्ययन गर्न थालें । घटना र विचार भाग १,२,३, माओका विचारहरु अध्ययन गर्न थालें । जीवनीहरु, साहित्यीक, चाईनिज पत्रिका र त्यहाँका घटनाका बारेमा अध्ययन गर्ने अवसर मिल्यो । राजन भुर्तेल लगायतका कमरेडहरुले मेथिन्कोटबाट नाटक देखाउन जानु हुन्थ्यो । तमसुक लगायतका नाटकहरु देखाउँदा हामी दंग पर्दथ्यौं । 
२०५१ सालमा अनेरास्ववियुमा आवद्ध भएँ । प्रारम्भिक कमिटीको उपाध्यक्ष थिएँ । केहि बैठक बाहेक अरु भएन । आफैलाई राजनीतिमा चासो लाग्यो । द्वन्द्वको विगविगी थियो । राम ठकुरी अध्यक्ष र म सचिव भएर जनजागरण समुह गठन भयो । मनोरञ्जन र जनचेतनामुलक कार्यक्रम गर्ने भनेर गठन गरिएको समुहले चार वर्ष काम ग¥यो । हाजिरजवाफ, नाटक जस्ता कार्यक्रमहरु गर्दथ्यौं । राजनीतिक जिम्मेवारीमा २०६२ को आन्दोलन पछि सहभागी भएँ । आन्दोलनको बेला काठमाडौमा बसिरहेका थियौं । ज्याम्दीमा भएको एमालेको अधिबेशनमा सहभागि भएको थिएँ । त्यो अघि दोलालघाटमा एमालेको गाउँ कमिटी सदस्य भएको थिएँ । ज्याम्दीबाट सचिव भएँ । संगठित सदस्य समेत लिएको थिईनँ । पार्टीका कार्यक्रमहरुमा कृयाशिल थिएँ । त्यतिखेर सचिव प्रमुख पद थिए । दोलालघाटमा कृष्णमान तामाङले सदस्यको जिम्मेवारी दिनु भएको थियो । ज्याम्दीमा लगातार दुई कार्यकाल सचिव भएँ । विधान संशोधन भएपछि अध्यक्ष भएँ । अध्यक्ष भईरहँदा जिल्ला कमिटीमा आठौ अधिबेशनबाट सदस्य भएँ । क्षेत्र र भुगोलबाट म निर्वाचित भएँ । ९ औ अधिबेशनमा उम्मेदवारी दिएँ । जिल्ला कमिटी सदस्यमा विजयी भएँ । अहिले त्यो क्षेत्रको इन्चार्ज छु । स्थानीय निर्वाचनमा गाउँपालिका बन्यो । १० वटा गाविस मिलेको छ । जिम्मेवारी बाँडफाँटको समयमा भुगोलको जिल्ला सदस्यहरु मध्ये सिनियरलाई इन्चार्ज बनाउने निती अनुसार म इन्चार्ज भएँ । भुम्लुको गाउँ कमिटीको संयोजकका रुपमा काम गरिन्छ । गाउँपालिका अध्यक्षका लागि उम्मेदवारको आंकाक्षी थिएँ । गाउँबाट नाम सिफारिस भएको थियो । गुमानध्वज कुँवर अध्यक्ष भएपछि म वडाबाट सदस्यमा उठें । त्यहिबाट मलाई जिल्ला समन्वय समितिको सदस्यमा निर्वाचित भएँ । समितिको तेश्रो बैठकले मलाई प्रवक्ताको जिम्मेवारी दियो । मेरो अन्तिम लक्ष्य राजनीतिबाट समाजको सेवा गर्नु हो । राजनीतिमा मेरो निरन्तर यात्रा जारी रहनेछ । 
बुबा २०५४ सालमा गाउँ विकास समितिको अध्यक्ष हुनु भयो । बुबाले गाउँमा गरेको काममा जिल्ला विकास समितिबाट सम्मानित हुनु भयो । उपभोक्ता समितिले गरेको काम र बजेटका बारेमा एउटा पुस्तक समेत प्रकाशन भएको छ । राजनीति समाजसेवाको एउटा पाटो हो । 
 
प्रेम र विवाहः २०६२ साल जेष्ठ १७ गते मामाकै छोरीसँग मागि विवाह भयो । बुबाको इज्जतका कारण विद्यालय जीवनमा प्रेम गर्न सकिनँ । जीवनको छेउकुनामा प्रेमको आंकाक्षा नभएको होईन । अहिले जस्तो सहजता र प्रविधि थियो भने म प्रेमबाट उम्किन सक्दिन थिएँ । मलाई पनि चाहे, मैले पनि चाहें तर त्यसलाई अगाडी बढाउन सकिएन । बुबाको नाम जान्छ भन्ने डरले प्रेम गरिनँ । विवाह गरे पछि त झन् प्रेम हुने कुरा पनि भएन । आफन्त चिनेकै ब्यक्तिसँग विवाह गरे पछि सहज पनि भयो । हामीबाट दुई छोरी र एक छोराको जन्म भएको छ । 
राजनीति र ब्यवसायमा लाग्दा परिवारलाई चाहिएको जति समय दिन सकिएको छैन । तर पनि उनले बुझेकी छिन् । राजनीति कम बुझ्छिन् । खटपट सामान्य हुन्छ । कहिलेकाँहि केहि दिन नै बोलचाल हुँदैन । तर पनि आवश्यकताका आधारमा नबोली सुख पनि छैन । हामी दुबै सम्झौता गर्छाैं र सम्झौता अनुसार नै अगाडी बढ्छौं । 
 
जीवनः भोगाई, आरोह अवरोहको यात्रा । 
 
प्रेमः अत्यावश्यक । 
 
विवाहः बंशको निरन्तरता । 
 
शारिरीक सम्वन्धः अत्यावश्यक हो । 

प्रकाशित मिति: 17 May, 2018