विचार

नरेन्द्र मोदीको नेपाल भ्रमण र मुख्यमन्त्री लालबाबु राउतको क्रन्दन

यादव थापा
सन् २०१४ मा गणतन्त्र भारतको प्रधानमन्त्री बनेका नरेन्द्र मोदीलाई दक्षिण एसियाका एक चतुर राजनैतिक खेलाडीका रुपमा लिन सकिन्छ । प्रधानमन्त्री भएपछि उनले नेपालको तेस्रोपटक २०७५ वैशाख २८ र २९ गते दुई दिने मैत्रीपूर्ण भ्रमण पूरा गरेका छन् । यस अघि उनी २०७१ मंसिर १० र ११ मा काठमाडौंमा भएको अठारौं सार्क शिखर सम्मेलनमा भाग लिन पहिलो पटक र दोस्रोपटक २०७२ मा नेपालको भ्रमण गरिसकेका छन् । भाषणकलामा पोख्त र माहिर नरेन्द्र मोदीले अघिल्ला दुईवटा भ्रमणमा नेपाली जनताको मन जित्न र वाहवाह पाउन जति सफल भएका थिए त्यति यसपटकको भ्रमणमा पाउन सकेनन् । कारण प्रष्ट छ २०७२ सालको महाभूकम्पको आलो घाउमा मोदीले ६ महिनासम्म लगाएको नूनचुकरुपी नाकाबन्दी र त्यसले नेपालको सामाजिक जनजीवन आर्थिक क्षेत्रमा पु¥याएको असर । 
तर जे होस् नरेन्द्र मोदीले यसपटकको दुईदिने भ्रमणमा तराईदेखि हिमालसम्मको यात्रा गर्न भ्याएको देखियो । भारतको पटनाबाट भारतीय विशेष विमानमा विहान १०ः३० बजेतिर जनकपुर उभिएका मोदीले जानकी मन्दिरमा पूजाआजा सकेर जनकपुरको बाहूविघा जमिनमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुँदै नेपाल भारतको सम्बन्ध त्रेतायुगमा अयोध्याका रामसँग जनकपुत्री सिताको विवाह भएदेखि नै रोटीबेटीको प्राचीन र ऐतिहासिक सम्बन्ध कायम भएको बताएका थिए । विशाल एवं भव्य तयारीका साथ आयोजित नागरिक अभिनन्दन समारोहबाट प्रभावित भएका मोदीले जनकपुर क्षेत्रको वृहत्तर विकासको लागि एक अर्ब सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । तर घोषित रकम प्राप्त हुने नहुने कुरा भने त्यति भरपर्दाे छैन, किनकी भारतले यसअघि भूकम्प पीडितलाई दिने भनेको सहयोग रकम पनि दिन सकेको छैन ।
जनकपुरको नागरिक अभिनन्दन समारोहमा दुई नं. प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बोलेको अभिव्यक्ति अति आपत्तिजनक, अमर्यादित, अशोभनीय र ग्रैहजिम्मेवारी देखियो । जसको विरोध सबै सामाजिक सञ्जाल हुँदै सडकदेखि सदनसम्म भइसकेको छ । संघीय नेपालको जारी नयाँ संविधानमा मधेशका मुद्दा समावेश नगरिएको भनि भारतलाई नाकाबन्दी गर्न उक्साई सीमा नाकामा भारतीय व्यापारीले खुवाएको खाना खाएर नेपालतर्फ ढुंगा हान्ने भारतपरस्त मधेशवादीहरुले यसपटक पनि आफ्नो सक्कली अनुहार र स्वामीभक्ति राम्रोसँग नै देखाए । नागरिक अभिनन्द समारोहमा २ नं. प्रदेशका मुख्यमन्त्रीले बोल्ने क्रममा “राज्यले तराई र तराईबासीलाई उपेक्षा र हेलाँ गरेको कारण तराईको विकास नभएको” भन्नु कत्ति सामयिक र सान्दर्भिक थियो । देशमा भर्खरै केन्द्रिय र प्रादेशिक सरकारको गठन भई यसले गति लिई नसकेको अवस्थामा आफ्नो देशको आन्तरिक कमजोरी छिमेकीलाई सुनाउनु र देखाउनु कत्तिपनि बुद्धिमानी होइन, यो त केबल आत्मरतिमा रमाउनु र आफ्नो आङ कन्याएर छारो उडाउनु र आन्तरिक मामलामा हस्तक्षेप गर्न छिमेकीलाई गुहार्ने मुर्खता मात्र हो । 
छिमेकीको यस्तै आन्तरिक कमजोरीबाट फाईदा उठाएर होला भारतीय सांसद कीर्ति आजादले जनकपुरलाई भारतमा मिलाउनुपर्छ भनि होपाहा खेदपूर्ण र गैह्र जिम्मेवार भनाई राख्नसके, जुन भनाईको सर्वत्र विरोध र आलोचना भइरहेको छ । भारतको यहि दादागिरीपन र छिमेकीहरुप्रति हेपाहा प्रवृत्तिको कारण नै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) ले आफ्नो उद्देश्य अनुसारको गति र प्रगति हासिल गर्न सकेको छैन । हुन पनि दक्षिण एसियामा भुटान बाहेक अरु देशहरुसँग भारतको राम्रो सुमधुर सम्बन्ध कायम हुन सकेको छैन ।
दुई दिनको औपचारिक राजकीय भ्रमणको तालिका बनाएर नेपाल आएका नरेन्द्र मोदीले आफ्ना सबै कार्यक्रमहरुमा सरिक हुन भ्याएको देखियो । सैनिक मञ्चमा नेपाली सेनाले आयोजना गरेको ‘गार्ड अफ अनर’ सबैभन्दा ठूलो अरुण तेस्रो जलविद्युत आयोजनाको होटल द्धारिकाजमा केपी ओलीसँगै संयुक्त रुपमा स्वीच अन गरी सिलान्यास, पशुपति नाथको पूजा, दर्शन, मुस्ताङको भ्रमण, पूजाआजा र पूजारीसँग तीन मिनेट ढोलक बजाएर रमाउन पनि भ्याए । राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले काठमाडौंलाई “हिमालय काखको अनमोल रत्न” को संज्ञा दिँदै काठमाडौं उपत्यकाको कला सँस्कृति, रहनसहनको लामो व्याख्या र प्रशंसा गरेका थिए । 
आफ्नो भ्रमणलाई राजनैतिक भन्दा धार्मिक यात्राको रुपमा चित्रण गरि महत्व दिन खोजेका मोदीले नेपालका सबै प्रमुख राजनैतिक दलका नेताहरुसँग भेटघाट गर्न समेत भ्याए । मोदीले राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा लगायत मधेशवादी दलका नेताहरुसँग छुट्टाछुट्टै र सामूहिक भेटघाट गरेका थिए । यसबाट उनको भ्रमण विशुद्ध धार्मिक यात्रा मात्र नभएको प्रष्ट हुन्छ । भ्रमणकै पहिलो दिन उनले जनकपुरमा अयोध्या–जनकपुर बससेवाको पनि उद्घाटन पनि गरे । प्रायः सबै ठाउँमा आयोजित सभा र स्वागत कार्यक्रममा आफ्नो कुशल वाक्पदुताको कारण तालिको वर्षा गराउन सफल मोदीले तीनवर्ष अघि आफूले लगाएको नाकाबन्दीको कारण नेपाली जनताले भोग्नुपरेको दुःख र समस्याबारे चाहिँ कहिँ पनि एक शब्द उच्चारण गर्न चाहेनन् । तर यदि उनले नेपाली जनता समक्ष उक्त नाकाबन्दी बारे सहानुभूति स्वरुप दुई शब्द बोलेका भए उनको महानता र लोकप्रियता अझै उचाईमा पुग्न सक्थ्यो । तर यस मामलामा उनी चुकेको देखियो । जनकपुरको अभिनन्दन समारोहमा ढिला पुगेकोमा उनले आफूलाई क्षमाप्रार्थी छु भनेका थिए । 
Posted:

  • तपाईको स्वास्थ्य हाम्रो सरोकार
  • लेख/रचना
  • साताको राशिफल
  • चेष्टा क्विज
  • सुन-चाँदी
  • लोडसेडिङ तालिका
  • Weather Report

    Quick Contact

    Chardobato, Kavre, Nepal
    Tel: +977 011 662494
    Email : cheshtaweekly@yahoo.com
    info@cheshthaweekly.com.np

    -->