अन्तरवार्ता

तेजगंगा हाम्रो सम्पत्ति भन्न थालेका छन्

डा. अम्बुभवानी कार्की
संस्थापक क्याम्पस प्रमुख
तेजगंगा बहुमुखी क्याम्पस
पनौती, काभ्रे

–    हालसम्म क्याम्पसले गरेका उपलब्धिहरु के के छन् ?
क्याम्पसले भर्खरै मात्र १६ वसन्त पार गरेको छ । हामी टिनएर्जको मध्य समयमा पुगेका छौं । हिजोको तेजगंगा र आजको तेजगंगामा धेरै फरक छ । हिजोका कठिन अवस्था पार गर्दै यहाँसम्म आइपुगेका छौं । अहिलेसम्म काभ्रे जिल्लावासीहरुले तेजगंगालाई माया गरेका छन् । पहिलो नं.को छनौटमा पनि तेजगंगा परेको जस्तो मलाई लाग्छ । हामीले विगतका कठिनाईहरुलाई विर्सेर नयाँ आयामहरु थप्दै छौं । यो सवालमा अबका चुनौतीहरु बाँकी नै छन् । यसपालि पुषको १९ गते उच्च शिक्षा परियोजनामा परेको छ । यससम्बन्धी विभिन्न नियम उपनियममा लागिपरेका छौं । क्याम्पस सभा पनि बसिसकेको छ । त्यति हुँदा हुँदै पनि हाम्रो क्याम्पसमा सहयोगका हात बढाउनेहरुको अलि कमी नै भएको छ । क्याम्पसको आफ्नै जग्गा छ तरपनि हालसम्म भवन निर्माण गर्न सकिरहेका छैनौं । विद्यार्थीहरु एउटै विल्डिङमा सकसका साथ पठनपाठन गरिरहेका छन् ।
–    क्याम्पसले १६ वर्ष पार गरिसक्दा क्याम्पसका उद्देश्यहरु के कति पूरा भए ?
क्याम्पसको जुन उद्देश्य थियो त्यो पूरा भने भएको छैन । क्याम्पसको एउटा उद्देश्य एक घर एक स्नातक भन्ने थियो त्यो भने पूरा भएको छ । अहिले लगभग एक घर दुई स्नातक समेत भैसकेको छ । प्रत्येक घरका छोरी बुहारीहरु शिक्षित देखिन थालेका छन् । समाजमा परिवर्तनहरु आइरहेका छन् । समाजले अहिले तेजगंगा हाम्रो सम्पत्ति भन्न थालेका छन् । अरु बाँकी उद्देश्यहरु पनि क्रमशः पूरा हुने क्रममा छन् । साथै शिक्षालाई परिवर्तन गर्नको लागि विभिन्न योजनाहरु पनि ल्याईरहेका छौं ।  

–    तेजगंगाको मूख्य उद्देश्य र लक्ष्य के रहेको छ ?
तेजगंगालाई अगाडि बढाउने क्रममा ५ वर्षभित्रमा द्यक्ध् र क्ष्ऋत् ल्याउने सोच गरिरहेका छौं । क्याम्पसको भौतिक विकास, आर्थिक विकास गर्नको लागि ५ वटा समितिको गठन गरेका छौं । शिक्षा तथा अनुसन्धान समिति, निर्माण समिति, सामाजिक समिति, सूचना संचार समिति र आर्थिक समिति गठन गरेका छौं । त्यस्तै कृषि क्षेत्रमा पनि क्याम्पसले के कस्तो नेतृत्व तथा सुझाव दिनसक्छ भन्ने कुरातिर पनि लाग्ने लक्ष्य रहेको छ ।
– स्थापनादेखि आजसम्म आइपुग्दा क्याम्पसको केही महत्वपूर्ण क्षण छ ?
६ महिनामा तेजगंगालाई ताल्चा लगाइदिन्छु भन्नेहरुको अगाडि कसरी टिक्नेहोला जस्तो पनि भयो । तर पनि शिक्षामा गरेको लगानी कहिलेपनि खेर जाँदैन भन्ने आत्मविश्वासका अगाडि बढें । आज आएर यसले सफलता हासिल गरेको छ । अझै पनि कहिलेकाहीँ अत्यन्तै पीडा महसुस हुन्छ । हामीसँग खुलेका क्याम्पसहरु कहाँ कहाँ पुगे । जहाँसम्म लाग्छ महिला राष्ट्रपति, महिला सभासद्, महिला न्यायाधिश हुँदैमा महिलाहरुको अधिकार र महिलाहरुको अस्तित्व स्वीकार गर्छन् भन्ने होइन । यसमा हेर्ने दृष्टिकोण फरक हुँदो रहेछ । राजनैतिक पार्टीहरुको कुरा गर्दा पनि कसैले क्याम्पसलाई सहयोग गरौं भन्ने भावना आएको छैन । कहिलेकाहीँ भवनहरु बनाउन नसक्दा, शिक्षकहरुलाई सेवा सुविधा दिन नसक्दाका क्षणहरुमा अलि दुःख लाग्छ ।
– तेजगंगाका नयाँ योजना केही छन् ?
योजनाहरु नयाँ छन् । हाम्रो क्याम्पस काभ्रे जिल्लामा गतसाल उच्च शिक्षा परियोजनामा राष्ट्रिय स्तरमा परेको छ । हाम्रो क्याम्पसले क्क्च् पनि बुझाईसकेका छौं । लगभग त्यो पनि स्वीकृति भैसकेको अवस्था छ ।
–    उच्च शिक्षा परियोजनामा पर्दा के कस्तो फाइदाहरु हुन्छ ?
यो परियोजनामा पर्दा विभिन्न खालका नीति नियम सबै लागू हूँदै गएर अन्तर्राष्ट्रिय स्तरमा पुग्ने हो । यसमा कोषहरु पढाईहरु पनि अन्तर्राष्ट्रिय स्तरमा पुग्छ । यसपालि साउन देखि यो लागू भएको छ । यो लागू भएपछि वल्र्ड बैंकले हेर्छ । हामीले पढाएका विद्यार्थीहरुको रिपोर्ट पनि बुझाउनुपर्ने हुन्छ । यो एउटा क्याम्पसको लागि उपलब्धि पनि हुन्छ । यसले हामी शिक्षक शिक्षिकाहरुलाई पनि तह लगाउने काम गर्छ ।
–    तेजगंगामा के कस्ता विषयहरु पढ्न पाइन्छ ?
तेजगंगामा आर्टस्, एजुकेशन, कमर्श गरी तीनवटै विधामा अध्ययन गर्न पाउँछन् । +२ मा कम्प्युटर साइन्स, होटल मेनेजमेन्ट, एजुकेशन र ह्युमेनिटिज रहेका छन् । हामीकहाँ नजिकैका विद्यालयहरुबाट जसले +२ पास गरेका छन् उनीहरु विबिएस पढ्नको लागि हामीकहाँ नै आएको पाइन्छ ।
– विद्यार्थीहरुको लागि केही नयाँ कार्यक्रमहरु छन् ?
हामीले बिबिएसमा रेगुलर पढ्ने, पास हुने विद्यार्थीहरुलाई तीन महिनाको लागि छात्रवृत्ति घोषणा गरेका छौं । विद्यार्थीहरुलाई महिनाको एक चोटी नैतिक शिक्षाको कक्षा लिने गरेका छौं । पछिल्लो समयमा विद्यार्थीहरु क्याम्पस नै आउन चाहिरहेका छैनन् । पढाईप्रतिको आकर्षण घट्दै गएको पाइन्छ । यसलाई हटाउनको लागि क्याम्पसले विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याउने क्रममा छ ।
–    विद्यार्थीहरुलाई अहिलेको शिक्षाप्रणालीले आकर्षण गर्न नसेकेको पो हो कि ?
पछिल्लो समयमा विद्यार्थीहरुलाई रोजगारीमूलक शिक्षा चाहिरहेको छ । देशमा पनि थुप्रै परिवर्तनहरु आएका छन् । शिक्षा क्षेत्रमा पनि परिवर्तनहरु आउन सक्छन् । तरपनि शिक्षा क्षेत्रमा राष्ट्रको जुन ध्यान जानुपर्ने हो त्यो अझैसम्म पनि गएको पाइँदैन । तसर्थ शिक्षा रोजगारीमूलक हुनुपर्छ । शिक्षा प्राप्त गरिसकेपछि विद्यार्थीले केही गर्छु भन्ने हुनुपर्छ । यो सम्बन्धित निकायले पनि महसुस गर्नुपर्छ । नेपालमा हाइड्रो तथा टुरिजम सम्बन्धी शिक्षाको अझैपनि खाँचो छ । त्यसैले शिक्षासम्बन्धी बौद्धिक वर्गहरुलाई राखेर शिक्षा योजनाहरु ल्याउनुपर्छ ।
–    बिबिएसको ३ वर्षे कोर्ष बढाएर ४ वर्षे पु¥याउँदा केही फरक पार्दैन ?
यो अन्तर्राष्ट्रिय स्तरमा ४ वर्षे चाहिने हो तर यसले नेपालमा धेरै असर पारेको छ । ४ वर्षमा पुग्दा विद्यार्थीको संख्या नै कम हुँदै जान्छ । पुरुषहरु बाहिर रोजगारीको सिलसिलामा बाहिर जाने र महिलाहरु विवाह गरेर जाने हुँदा यो ४ वर्षसम्म पुग्दा उल्लेख्य मात्रामा विद्यार्थीहरु नहुने पाइन्छ ।
–    शिक्षामा गुणस्तर कसरी मापन गर्ने ?
उच्च शिक्षा परियोजनाले शिक्षामा गुणस्तर ल्याउनका लागि विभिन्न कोसिसहरु गर्दैछन् । विश्वविद्यालय अनुदानले थेसिस लेख्ने विद्यार्थीहरुलाई सहयोग गर्ने गरेका छन् । विश्वविद्यालय अनुदानमा प्रोपेजल हाल्दा आर्थिक सहयोग प्राप्त गर्न सक्छन् ।
–    अभिभावक तथा विद्यार्थीहरुलाई भन्नै पर्ने केही सन्देश छन् ?
हामीले पाँचवटा विभिन्न समिति गठन गरेका छौं । हामीले विद्यार्थीहरुलाई कसरी रोजगारीमूलक बनाउन भन्ने उद्देश्यमा लागेका छौं । त्यस्तै समाजमा रहेर शिक्षा क्षेत्रमा के गर्न सक्छौं ? भन्ने विषयमा पनि लागि परेका छौं । समाज परिवर्तनमा समाजले के कस्तो भूमिका निर्वाह गर्न सक्छ ? भन्ने बारेमा लागिपरिेका छौं । पढ्नु मात्रै शिक्षा होइन व्यवहारिक शिक्षा दिनु पनि हाम्रो उद्देश्य र लक्ष्यमा समावेश छ ।
अन्त्यमा......
अन्त्यमा +२ पास गर्नुहुने सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई दिन चाहन्छु । यहाँहरुले क्याम्पस छान्दाखेरी बाहिरी व्यक्तिहरुको कुरा नसुनी आफू स्वयं सम्बन्धित विद्यालयमा गई बुझ्नु राम्रो हुन्छ । विद्यार्थीहरुले कहाँ पढ्दा आफ्नो भविष्य राम्रो हुन्छ त्यहि पढ्नु पर्छ । व्यापारीक हिसाबले नसोचौं । पैसा धेरै तिर्दैमा पढाई राम्रो हुन्छ भन्ने छैन । पनौतीमा बसेर पनि काठमाडौंको जस्तो शिक्षा हाम्रै तेजगंगामा पनि पाइन्छ । शिक्षा क्षेत्रमा म यही क्याम्पसमा आउनुस् भन्दिनँ तर पनि विद्यार्थीहरुले सोचेर हेरेर मात्र आफ्नो अध्ययनलाई अगाडि बढाउनुहुन अनुरोध गर्दछु ।  


प्रकाशित मिति: 10 November, 2016