अन्तरवार्ता

शिक्षाको नयाँ सिस्टमहरु भित्रिएको छ विद्यासागरमा

हिरा शर्मा नेपाल
प्रिन्सिपल
विद्यासागर बोर्डिङ स्कूल

–    राज्यले जुनसुकै शिक्षा नीति आएता पनि निजी विद्यालयलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको हो ?
हामीले त्यसरी सोच्नुहुँदैन । हामीले नेपालको एउटा जिम्मेवार नागरिक भएर पनि सोच्नुपर्छ र हामीले आफ्नो कर्तव्यतर्फ पनि ध्यान दिनुपर्छ । व्यवस्था परिवर्तन सँगसँगै शिक्षाको विकास पनि व्यापक रुपमा भएको छ । शिक्षाको नयाँ सिस्टमहरु भित्रिएको छ । त्यसमा सरकारले सहयोग नगरेकै हो भनेर ठ्याक्कै भन्न मिल्दैन । कतिपय विषयका मुद्दाहरुमा सरकारसँग निजी क्षेत्रको संस्थासँग अलिकति भिन्न मत हुनसक्छ । तर देश विकासको क्रममा सरकारले खेल्ने महत्व सरकारले पनि बुझेको छ र निजी क्षेत्रले पनि बुझेको छ । केही मुद्दाहरुमा अलिकति फरक मत रहन सक्छ । तर नहेरेकै भनेर भन्न मिल्दैन ।
–    शिक्षालाई निजी क्षेत्रले व्यापारको रुपमा लियो भन्ने सरकारको बुझाई छ नि ?
नीतिकै कुरा गर्ने हो भने नीतिले त्यसरी भनेको त छैन । हामी २०५४ सालपछि निजी क्षेत्रका शिक्षालयहरु कम्पनीमा गए । सरकारले नै कम्पनीमा जानु भने । कम्पनीमा गएपछि कतिपय संचालकहरुले हामीलाई व्यापार गर्न छुट दिएको हो कि भन्ने बुझ्नुभयो । तर हामी सामाजिक रुपमा पनि जिम्मेवार भएको कारणले सरकारले हामीलाई व्यवसाय गरे भन्दा पनि एउटै बास्केटमा राखेर हेर्दाखेरी त्यस्तो देखिन सकिन्छ । दुईचारजनाले व्यवसाय गरे होलान् बाँकीले सेवामूलक व्यवसाय नै गरेका छन् ।
–    नयाँ शिक्षा नीतिले निजी विद्यालयलाई कसरी हेरेका छन् ?
अहिले हामी शिक्षा नियमावलीको पर्खाइमा छौं । नियमावली आइनसकेको हुनाले हामीले यसै भन्ने अवस्थामा छैनौं । ऐनमा भएको सबैकुराले सबैलाई समेट्दैन । नियमावली आइसकेको भए हामीले भनेका केही कुराहरु सरकारको तर्फबाट हामीलाई सहयोगस्वरुप प्राप्त हुने थियो भन्नेमा हामी आशावादी थियौं । तर केही कारणहरुले नियमावली पास हुन सकिरहेको छैन । जहाँसम्म लाग्छ संघीय संरचनामा नियमावलीलाई फेरी परिमार्जन गरेर ल्याउने भन्ने हल्ला आएको छ । त्यो हल्लाअनुसार आउँदा पनि सायद निजी शिक्षालय, निजी संस्थाहरुलाई केही फाइदा नै हुन्छ जस्तो लाग्छ ।
–    नयाँ संविधानले वा स्थानीय तहलाई नै त्यो क्षेत्रको शैक्षिक संरचनालाई आफू अनुकूलको नीति बनाउने भन्ने अधिकार दिएको छ, यस विषयमा के भन्नुहुन्छ ?
संविधानमा पावरको बाँडफाँड हुँदाखेरी तीन तहको पावर बाँडफाँड हुने क्रममा शिक्षा सबैभन्दा तल्लो तहमा आइपुग्नु असाध्यै राम्रो पक्ष पनि हो । यदि स्थानीय तहमा भिजन भएका साथीहरु ठिक ठाउँमा पुग्नुभयो भने शिक्षाको विकास अझै बढ्न सक्छ । विभिन्न नगरपालिकाहरु, गाउँ पालिकाहरु शिक्षाको केन्द्र पनि बन्न सक्छ । किनभने त्यो नेतामाथि भर पर्ने कुरा भयो । प्याब्सनको आफ्नो धारणा पनि आइराखेको छ । हाम्रो केन्द्रीय महासचिव राजेन्द्र बानियाँजी नयाँ संरचनामा शिक्षा भन्ने विषयलाई लिएर देशव्यापी रुपमा अगाडि बढिरहनुभएको छ । उहाँले हाम्रो लागि भनेर प्याब्सनको एउटा दस्ताबेज नै बनाउनुभएको छ । त्यो विभिन्न ठाउँमा छलफल भैरहेको छ । र यसलाई हामीले अन्तिम रुप दिने तयारीमा पनि छौं ।
–    नयाँ शैक्षिक सत्र सुरु हुँदैछ, यसवर्षको भर्नासम्बन्धी योजनाहरु के कस्तो रहेको छ ?
हाम्रो निजी संस्थाहरुको मूल संस्था प्याब्सन छ, एनप्याब्सन र हिसान छ । आ–आफ्नो संस्थाहरु भर्ना कार्यक्रममा लागि परेको छ । यसअन्तर्गत प्याब्सन पनि लागि परेको छ । व्यक्तिगत रुपमा हेर्दाखेरी प्रत्येक स्कूलहरु आफ्नो क्षेत्रमा लाग्नुपर्छ भन्ने धारणा हो । नयाँ शैक्षिक सत्र सुरु हुन लागेको छ । तरपनि भर्नाको कार्यक्रमहरु सुरु भैसकेको छ । विद्यासागर स्कूलको प्रिन्सिपलको नाताले के भन्छु भने हामी कुनैपनि प्रकारको खिचातानीमा छैनौं । हामीले हाम्रो स्कुलको सूचना प्रवाह गरिसकेका छौं । हामी व्यवस्थित रुपमा भर्ना कार्यक्रम गर्छाैं । र, कुनैपनि खिचातानीभन्दा बाहिर रहन्छौं ।  
–    प्याब्सनले आफ्ना सदस्य विद्यालयहरुमा सबैमा एकै प्रकारको कार्यक्रम लागू गर्न मिल्दैन ?

हरेक स्कूलहरुको आ–आफ्नै विशेषताहरु रहेका छन् । यसो भनिरहँदा नियम विरुद्ध गएका विशेषताहरुलाई हामीले निरुत्साहित नै गर्नुपर्छ । सायद प्याब्सनमा पनि नयाँ नेतृत्व चयन भैसकेपछि हाम्रो आफ्नो नीति नियमहरु, आचार संहिताको विषयमा छलफल ग¥यौं । पहिला भन्दा धेरै घट्दै आएका छन् । तरपनि नयाँ भर्नाको चरणमा नयाँ नयाँ तत्वहरु प्रवेश हुन्छ । त्यो तत्वहरुको आ–आफ्ना इच्छा र स्वभाव हुने हुनाले पुरानै ढंगमा फर्केको हो कि भन्ने हुन्छ । सबैभन्दा बुझ्नुपर्ने कुरा के हो भने घरमा जाने होइन कि विद्यालयका अभिभावकहरु स्कूलमा आउने हो । उहाँहरुले स्कूलको व्यवस्था हेर्ने हो । उहाँहरुलाई जुन स्कूलको व्यवस्था राम्रो लाग्छ त्यहि भर्ना गर्ने हो । त्यहाँ खिचातानी हुनु जरुरी नै छैन । प्याब्सनले पनि त्यसमा काम गरिरहेको छ ।
–   विद्यासागर स्कूलले २५ वर्ष पार गरेको छ, यो वर्षको योजना के रहेको छ ?  
हामीसँग काम गर्ने एउटा टिम छ । जुन टिममा बसेर अब नयाँ के ल्याउने भन्नेमा छलफल हुन्छ । त्यसले विद्यार्थीलाई के फाईदा हुन्छ र अभिभावकको जिम्मेवारीलाई कतिको सहज गर्छ भन्ने हाम्रो उद्देश्य रहेको हुन्छ । हामीले २५ वर्ष अगाडि सुरु गर्दाखेरी हामीले जे पढेर आएका थियौ त्यसरी नै सुरु गरेका थियौं । अहिले हामी अहिलेको मोर्डन सिस्टमले के माग्छ भन्ने कुरामा हामी प्रष्ट छौं । समय सापेक्ष रुपमा पढाईलाई पनि केही सहजता ल्याउनुपर्छ । नयाँ टेक्नोलोजी, नयाँ सिस्टम अनुसार हामी अगाडि बढिरहेका छौं । विद्यासागर स्कूलले २०७४ का लागि धेरै नयाँ सिस्टमहरु ल्याईसकेको छ । यो वर्षदेखि स्मार्ट कक्षा नियमित हुन्छ । प्रत्येक विद्यार्थीले हप्तामा ३ दिन गएर स्मार्टबोर्डमा पढ्न पाउने सिस्टम बनाउँछौं । शिक्षकहरुलाई पनि त्यहि विषयको तालिम दिँदैछौं । अभिभावकहरुलाई मोर्डन शिक्षाको सुरुवातको सूचना पनि हामी प्रवाह गर्छाैं ।
–  स्मार्टबोर्डको प्रयोगबाट के फरक पाउनुभयो ?
शिक्षकको रुपमा नयाँ टेक्नोलोजीमा म आफैंलाई पनि अपग्रेड गर्दै जानुपर्छ भन्ने अनुभूति भयो । विद्यार्थीको तर्फबाट भने स्मार्टबोर्डबाट इन्टरएक्टिभमार्फत पढ्न पाउने हुन्छ । विद्यार्थीले पनि नयाँ टेक्नोलोजीमा रमाएर सिकेको पाइयो । हामीले पनि यो कुरालाई अनुभव गर्दैछौं ।
– पछिल्लो समय प्रविधिले गर्दा बालबालिकाहरुको ध्यान पाठ्यक्रमभन्दा बाहिर गएको हो ?
भोलिको दिनमा विद्यार्थीलाई इन्टरएक्टिभ रुपमा प्रविधि अनुसार अगाडि बढाउन गरिएको सुरुवात नै स्मार्टबोर्ड, स्मार्ट क्लासको प्रयोग हो ।
– प्रविधिले बालबालिकालाई कसरी व्यवहारिक बनाउन सक्छ ?
यो छुट्टै पाटो हो । जुन नैतिकताको पाठ छ, व्यवहारिकताको पाठ छ, त्यो त हामीले रोडमोडलको रुपमा विद्यार्थीहरुलाई हामीले सिकाउनु पनि पर्छ । त्यसको निम्ति पनि छुट्टै कक्षाहरु हुनुपर्छ । सरकारले पनि नैतिक शिक्षालाई पाठ्यक्रमको रुपमा राखेको छ । तर त्यतिले मात्र पनि विद्यार्थीलाई पुग्दैन । हामीले व्यवहारिक रुपमा पनि सिकाउनु पर्छ । त्यसको लागि विभिन्न कार्यक्रम पनि संचालन गर्ने हो ।
–  पछिल्लो समय सरकारले ल्याएको नीति अनुसार विद्यार्थीहरुमा पढ्ने बानी घट्दै गएको हो ?
ग्रेडिङ सिस्टममा फेल भइँदैन भन्ने जुन सिस्टम आयो । यस वर्षको एसइइ परीक्षामा काभ्रे जिल्लाबाट ५ सय जना जति विद्यार्थीहरुले पुनः परीक्षा दिनुपर्ने भयो । भनेपछि पुनः परीक्षा दिनु भनेको हाम्रो अर्थमा फेल नै हो । त्यसले गर्दा फेल भइँदैन भन्ने जुन धारणा छ त्यो गलत हो । शिक्षित व्यक्तिले ग्रेडिङ सिस्टमलाई अलि फरक ढंगले व्याख्या गरिदिँदा विद्यार्थीले बुझ्छन् ।
– निजी स्कूलमा शिक्षण शुल्क बढी, पाठ्यपुस्तकको बोझ बढी, अभिभावकहरुलाई भार बढी जस्ता गुनासाहरु कत्तिको आइरहन्छन् ?
यो गुनासोहरु भइरहने कुरा नै हुन् । यसलाई हामीले सहजताका साथ लिनुपर्छ र सहजता पनि दिनुपर्छ । शिक्षण शुल्कको विषयमा यसपालि काभ्रे जिल्लामा पहिलोचोटी शिक्षा कार्यालयले वैज्ञानिक तरिकाले काम गरेर हामीलाई शुल्कका सीमाहरु दिनुभएको छ । शिक्षाले क, ख, ग र घ वर्ग भनेर छुट्याइदिएको छ । ग वर्गको विद्यार्थीले तिर्नुपर्ने शुल्क यदि हामीले स्कूल १०० प्रतिशत सिस्टममा चलाउने हो भने ग वर्गकै शुल्क हामी लिन सक्दैनौं । त्यहि अनुसार हामीले शिक्षक शिक्षिकालाई पनि दिन सक्दैनौं । किताबको मुल्यमा हामीलाई ढुक्क छ । किनभने सरकारले नै तोकिदिएको मूल्यमा किताबहरु बजारमा आइसकेका छन् । जहाँसम्म व्याग भारी हुने सवाल छ त्यहाँ स्कूलहरु सचेत हुन जरुरी छ । स्कूलको व्याग भन्दा पनि कक्षाको क्रियाकलापलाई ध्यान दिनुपर्नेहुन्छ । पुस्तक एउटा साथी मात्र हो ।
–    विद्यार्थीहरु जंक फुडप्रति बढी आकर्षित भएको देखिन्छ ? यसलाई रोक्न के गर्नुपर्ला ?
अहिले त्यस्तो छैन । अभिभावकहरु पनि धेरै सचेत भइसकेका छन् । उल्टो हामीलाई अभिभावकहरु आएर सचेत गराउनुहुन्छ । हाम्रो स्कूलमा काउन्सिलरको पनि सिस्टम भएको हुनाले हामीले काउन्सिलिङ कक्षामार्फत सचेत गराईराखेका छौं । स्कूलले पनि क्यान्टिनलाई अपग्रेड गर्दै लगेको छ ।
–    अन्त्यमा,
नयाँ शैक्षिक सत्र सुरु भएको छ । स्कूल भिजिट गरेर मात्र विद्यार्थी भर्ना गरिदिनुहुन सम्पूर्ण अभिभावकहरुलाई अनुरोध गर्दछु । कम सहुलियतको भरमा भर्ना नगरिदिनुहोला । 


प्रकाशित मिति: 13 April, 2017